शनिबार, असार २१, २०८२

एक्काइसौं शताब्दीलाई सुकुम्बासी भ्रुणको गाली

विनोदविक्रम केसीको कविता 'एक्काइसौं शताब्दीलाई सुकुम्बासी भ्रुणको गाली'
 |  शनिबार, मंसिर १७, २०७९
nespernesper

विनोदविक्रम केसी

विनोदविक्रम केसी

शनिबार, मंसिर १७, २०७९

vianetvianet

अब मलाई जन्मिन हतार भइसक्यो 

जन्मनासाथ सात पाइला हिँडेका थिए रे सिद्धार्थ गौतम 

त्यसरी मस्त हिँड्नलाई मसँग जमिनै कहाँ छ र ? 

त्यसैले 

जन्मिनेबित्तिकै 

म एक्काइसौं शताब्दीलाई सात गाली दिनेछु 

र, हेर्नेछु— मेरा आदिशब्दहरूमा 

कसले चलाउँदो रहेछ डोजर ? 


आक्रोशको प्रस्तरकलामा नजन्मिँदै सिद्धहस्त भइसकें 

यो दुनियाँलाई ढुंगा हान्न लालायित छु  

मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो !

बस्तीमा झिल्के चस्मा ढल्काएर प्रलय पसेको दिन 

मेरी आमा 

पानीको जार काटेर बनाइएका तीनटा गमलामा

फूलका बेर्ना सारिरहेकी थिइन् 

मेरी आमालाई फूल असाध्यै मन पर्छ 

यदाकदा उनी आफ्नै सपनाको माटोमा 

फूल रोपिरहेकी हुन्छिन् 


ताण्डवरत डोजर जब हाम्रो झुपडीसम्मुख पुग्यो 

मेरी आमा आफ्ना फूलहरू जोगाउन 

प्रकट भइन् अकस्मात् खुकुरी नचाउँदै 

र, सौन्दर्यको मौखिक इतिहासले 

यसरी एउटा वीरांगना प्राप्त गर्‍यो 


तर, पराजित त हुनु नै थियो  

डोजरको दाँतीमा अल्झिएका आफ्ना फूलका बेर्ना हेर्दै 

खसालेकी थिइन् उनले तेजाबी आँसु 


धिक्कार छ, एक्काइसौं शताब्दी !

तँलाई दुःखका फूलहरू मन पर्दैनन् 


सोच्छु कहिलेकाहीँ 

यहीँ, आमाकै गर्भमा बिताइदिऊँ सारा जिन्दगी 

यहाँ म झुपडी–बस्तीको एउटा तुच्छ प्रतीक हुँदिन 

यहाँ मलाई एलिटहरूले ‘फकिङ हेडेक’ भन्दैनन्

यहाँ मलाई सहरको सुन्दरतामा धावा बोलेको आरोप लाग्दैन 

र, कुरूपताका पुजारीहरूले कठघरामा उभ्याउँदैनन् मलाई

यहाँ म अवाञ्छित, अमान्छे, अनागरिक हुन्नँ   


सोच्छु कहिलेकाहीँ 

यहीँ, आमाकै गर्भमा बिताइदिऊँ सारा जिन्दगी 


तर, म कसरी यो निष्ठुर संसारमा 

आमालाई एक्लै छोड्न सक्छु

साराका सारा गालीहरू 

साराका सारा चोटहरू 

एक्लै झेल्न छोडिदिएर 

म आमालाई कसरी घात गर्न सक्छु ? 


मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो !


हे नदी ! 

तिमी नै भनिदेऊ 

किन मेरी आमालाई तिमी साख्खे दिदीजस्ती लाग्छ ?

वेदना पोख्न सजिलो हुन्छ भनेर 

उनले तिम्रो सहारा, तिम्रै किनारा रोजेकी थिइन् 

हो कि होइन ? 

सत्य–सत्य बताइदेऊ !

उनका सुस्केराहरू मिसिएपछि तिम्रा सुसाइहरूले 

थप गुन्जन पाएका हुन् कि होइनन् ? 

सत्य–सत्य बताइदेऊ !

के मेरी आमा कब्जा गर्ने खालकी हुन् ? 

के दिदीको छातीमा टाउको लुकाएर रूनुलाई 

बहिनीले छाती कब्जा गरेको मानिन्छ ?


मेरी आमालाई जमिनको भोक छैन 

(मैले जति कसले चिनेको होला उनलाई) 

यो पृथ्वी अलिकति मेरो पनि हो भन्नेसिवाय 

अरू केही छैन हकदाबी उनको 

 

जिउँदाहरूको बास उखेलेर 

मृतकका नाममा ताजमहल बनाउने क्रूर बेहोरा भएको 

ए खुनी एक्काइसौं शताब्दी ! 

यो जमिनको भोकले खानेछ एक दिन तँलाई 


अझै छ महिना बाँकी छ... 

(उफ् ! छ शताब्दीजस्तो यो प्रतीक्षा) 


मेरी आमाको पृथ्वीमाथिको दाबीमा 

अलिकति तागत थप्न 

हतार भइसक्यो मलाई 


एक्काइसौं शताब्दीले 

मेरो बस्तीलाई दिएका हरेक गालीको 

जबाफ फर्काउन हतार भइसक्यो 


मलाई आमाको कमरेड हुन हतार भइसक्यो 

मलाई जन्मिन साँच्चै, साँच्चै हतार भइसक्यो।

प्रकाशित: Dec 03, 2022| 07:33 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।