दोलखा- दोलखाका ४ मतदानस्थलका १० मतदान केन्द्रमा बिहीबार भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। सुरक्षा चुनौती रहेका प्रदेशसभा १ (१) को बैत्यश्वर गाउँपालिका–६, ३ र २ नम्बर वडाका ८ मतदान केन्द्र र तामाकोसी गाउँपालिका-२ जफेका २ वटा केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
मतदानस्थलमा ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत दिल्लीरत्न श्रेष्ठले जानकारी दिए। ८ हजार ५ सय १४ मतदाता रहेको यी मतदानस्थलमा ४ हजार २ सय ५७ मत खसेको छ।
मंसिर ४ गतेको निर्वाचनका क्रममा यी मतदान केन्द्रमा धाँधली भएको भन्दै दलहरूबीच विवाद भएपछि पुन: मतदान सम्पन्न भएको हो। त्यसबेला ९० प्रतिशतभन्दा बढी मत खसेको थियो।
मतपेटिका सदरमुकाम ल्याइसकेपछि सर्वदलीय बैठक बसेर बिहीबारबाटै मतगणना सुरु गर्ने कार्यालयले जानकारी दिएको छ।