काठमाडौं– गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। प्रतिनिधिसभातर्फ हालसम्म १६१ स्थानको मत परिणाम सार्वजनिक भएको छ। स्याङ्जामा मतगणना जारी छ भने दैलेखमा आज निर्वाचन भइरहेको छ।
हालसम्मको मत परिणामअनुसार प्रतिनिधिसभामा जम्मा ९ महिला उम्मेदवार निर्वाचित भएका छन्। मत परिणामअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जित्नेभन्दा हार बेहोर्ने महिला बढी छन्।
प्रतिनिधिसभामा विजयी हुने महिला नेतृमा हालसम्म काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम, ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की, बारा ३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह, धनुषा ३ बाट एमालेकी जुलीकुमारी महतो, दाङ २ बाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा, कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, कास्की २ बाट एमालेकी विद्या भट्टराई, सुनसरी ३ बाट एमालेकी भगवती चौधरी, तेह्रथुम १ बाट नेपाली कांग्रेसकी सिता गुरुङ निर्वाचित भएका छन्।
यी हुन् प्रतिनिधिसभामा पराजित महिला नेतृ
सुजाता कोइराला
मोरङ निर्वाचन २ बाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ सुजाता कोइराला यस पटक निर्वाचित हुन सकिनन्। कोइरालाले ३१ हजार ९४० मत प्राप्त गरिन्। उनी एमालेका ऋषिकेश पोखरेलसँग १ हजार २०८ मतले पराजित भइन्। अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित कोइरालाले यस पटक प्रत्यक्षतर्फ टिकट पाएकी थिइन्।
शान्ता चौधरी
दाङ १ मा एमालेकी शान्ता चौधरी नेकपा एसका मेटमणि चौधरीसँग पराजित भइन्। शान्ता चौधरी मेटमणिसँग ५ हजार ८३ मतले पछि परेकी हुन्। चौधरीले २१ हजार ४९३ मत प्राप्त गरिन्। २०५६ देखि कमैया र कमलरी मुक्ति आन्दोलनमा होमिएकी चौधरी २०७४ मा एमालेको समानुपातिकतर्फबाट उम्मेदवार थिइन्। यस पटक प्रत्यक्ष लडेकी उनी निर्वाचनमा पराजित भइन्।
गोमा तामाङ
सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ पनि कम मतान्तरले पराजित भइन्। उनलाई जनता समाजवादी पार्टीका अशोक राइले पराजित गरे। जम्मा ४५३ मतान्तरले राईसँग पराजित तामाङले १६ हजार ६०६ मत ल्याइन्। गोमा समलिंगी महिला हुन्।
चित्रलेखा यादव
सिरहा २ मा जनता समाजवादी पार्टीका राजकिशोर यादवसँग चुनावी मैदानमा रहेकी चित्रलेखा यादव पनि यस पटक प्रतिनिधिसभा निर्वाचनमा पराजित हुन पुगिन्। कांग्रेसकी चित्रलेखा १ हजार १५० मतान्तरले पराजित भइन्। यादवले २३ हजार २८ मत प्राप्त गरिन्। २०७४ मा कांग्रेसबाट समानुपातिक सांसद रहेकी यादवले यस पटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन्।
कोमल वली
पहिलो पटक प्रतिनिधिसभाको प्रत्यक्षमा एमालेबाट उम्मेदवार रहेकी कोमल वली निर्वाचित हुन सकिनन्। दाङ ३ बाट उम्मेदवारी दिएकी ओली कांग्रेस उम्मेदवार दीपक गिरीभन्दा ७ हजार ८१९ मतले पराजित भइन्। गिरीले ३६ हजार ८४२ मत पाए भने वलीले २९ हजार ३२ मत ल्याइन्। गायिका ओली रेडियो नेपालबाट राजीनामा दिएर एमाले राजनीतिमा प्रवेश गरेकी हुन्।
रामकुमारी झाँक्री
गुल्मी २ बाट उम्मेदवारी दिएकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्री पनि यस पटक निर्वाचित हुन सकिनन्। उनी एमालेका गोकर्ण विष्टसँग २ हजार ३५ मतान्तरले पराजित भइन्। झाँक्रीले २६ हजार ४४१ मत प्राप्त गरिन् भने विष्ट २८ हजार ४७६ मत ल्याई निर्वाचित भए। संघीय संसद् निर्वाचन २०७४ मा समानुपातिक सांसद रहेकी झाँक्रीले पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी थिइन्।
पम्फा भुसाल
ललितपुर ३ मा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाल तेस्रो प्रतिस्पर्धीको रूपमा रहिन्। सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भइन्। एमालेका अमृत खड्का दोस्रो नम्बरमा रहे भने भुसाल तेस्रो नम्बरमा रहिन्। रास्वपाकी कार्कीले ३१ हजार १३६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका खड्काले १२ हजार ९६३ मत पाए भने ऊर्जामन्त्रीसमेत रहेकी माओवादी केन्द्रकी उपमहासचिव भुसालले ८ हजार ७६९ मत पाइन्। भुसाल संविधानसभा सदस्य निर्वाचन २०६४ मा ललितपुर ३ बाट निर्वाचित भएकी थिइन्। २०७४ मा ललितपुर ३ बाट प्रत्यक्षतर्फ विजयी भएकी थिइन्।
निरुदेवी पाल
कञ्चनपुर ३ मा एमालेबाट उम्मेदवारी दिएकी निरुदेवी पाल कांग्रेसका रमेश लेखकसँग ठूलो मतान्तरसहित पराजित भइन्। पाल १२ हजार ९० मतान्तरले पराजित भएकी हुन्। उनले १८ हजार ४८५ मत प्राप्त गर्दा लेखकले ३० हजार ५ सय २३ मत ल्याए। २०७४ मा एमालेबाट समानुपातिक सांसद रहेकी पाल यस पटकको प्रत्यक्ष निर्वाचनमा पराजित भइन्।
महालक्ष्मी उपाध्याय डिना
मकवानपुर १ मा राप्रपाका दीपकबहादुर सिंहसँग प्रतिस्पर्धी रहेकी महालक्ष्मी उपाध्याय निर्वाचित हुन सकिनन्। उनलाई राप्रपाका सिंहले २ हजार ३९३ मतान्तरले पराजित गरे। उपाध्यायले २५ हजार ४२३ मत ल्याउँदा राप्रपाका सिंहले २७ हजार ८१६ मत पाए। संविधानसभा सदस्यका रूपमा २०६४ मा समानुपातिक सांसद रहेकी उपाध्याय यसअघि २०४८ र २०५१ मा पराजित भएकी थिइन्।
ओनसरी घर्ती
माओवादी केन्द्रकी ओनसरी घर्तीे यस पटकको निर्वाचनमा काठमाडौं २ बाट पराजित भइन्। घर्तीलाई रास्वपाकी सोविता गौतमले पराजित गरेकी हुन्। घर्ती सो क्षेत्रमा चौथो स्थानमा रहिन्। घर्तीले जम्मा ९ हजार ४५९ मत मात्रै प्राप्त गरिन्। सो क्षेत्रमा निर्वाचित गौतमभन्दा घर्ती ५ हजार ७७९ मतान्तरले पराजित भइन्। घर्ती २०७४ को प्रतिनिधिसभा सदस्यमा समानुपातिक सांसद हुन्।
बिना मगर
कञ्चनपुर १ बाट उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी बिना मगर पराजित भइन्। उनलाई एमालेका तारा लामा तामाङले पराजित गरे। मगर ५ हजार ५४३ मतान्तरले पराजित भएकी हुन्। एमालेका तामाङले २२ हजार ५३५ मतसहित निर्वाचित हुँदा मगरले १७ हजार ५७ मत पाइन्। मगर २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन्।
गौरीकुमारी ओली
डोटी १ मा एमालेकी गौरीकुमारी ओली, नेकपा एसका प्रेमबहादुर आलेसँग चुनावी प्रतिस्पर्धामा थिइन्। तर उनी ४ हजार २०६ मतान्तरले पराजित भइन्। ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने आले २७ हजार २१० मत प्राप्त गरी निर्वाचित भए।
गोमा गौतम कुँवर
जुम्ला १ बाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम (कुँवर) पराजित भइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका ज्ञानबहादुर शाहीले उनलाई पराजित गरे। शाहीले २२ हजार ८१९ मत पाए भने पराजित कुँवरले ११ हजार ९ सय ५९ मत ल्याइन्। गौतम शाहीसँग १० हजार ८६० मतान्तरले पराजित भएकी हुन्।
दाङबाट निर्वाचनको मैदानमा होमिएकी एमाले नेतृ कोमल वली आफूले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र नै पार्टीका लागि कमजोर क्षेत्र भएकाले हार बेहोरेको बताउँछिन्। गठबन्धन चुनौती बनेको उनको अनुभव छ। वली भन्छिन्, ‘मैले उम्मेदवारी दिएको निर्वाचन क्षेत्रमा एमाले पहिलेदेखि नै कमजोर थियो। चुनावमा जाँदा सत्ता गठबन्धन चुनौती बन्यो।’
मतदाता शिक्षा अभावमा बदर मतका कारण पनि आफनो मत काटिएको वली बताउँछिन्। महिला उम्मेदवार भएकै कारण असहयोग भएको उनको अनुभव छ। उनले भनिन्, ‘यो प्राविधिक हार हो। मलाई जनता, समाज र ३ नम्बर क्षेत्रले दिएको यो मत ठूलो हो।’
त्यस्तै, कांग्रेस उम्मेदवार चित्रलेखा यादव गठबन्धनभित्रका साथीहरूबाटै मत नआएको गुनासो गर्छिन्। आफूले आकलन गरेभन्दा कम मत आएको उनी बताउँछिन्। आफ्नो जित निश्चित भए पनि पार्टीभित्रबाटै धोका भएको उनको आरोप छ।
एमालेकी गौरीकुमारी ओली पनि पाँचदलीय गठबन्धन र पैसाको बलमा आफूले हार बेहोर्नुपरेको बताउँछिन्।
ओली भन्छिन्, ‘तीन–तीन वटा बुथ कब्जा गरेर, मृत्यु भएका र विदेशमा भएका मान्छेको नाममा समेत मत हालेको पाएँ। त्यसैले मेरो पराजय भएको हो।’
कांग्रेसकी सुजाता कोइराला पनि गठबन्धनभित्रबाटै सहयोग नभएको बताउँछिन्। आन्तरिक संगठन बलियो नहुनु, उम्मेदवारलाई पार्टीभित्रबाट सहयोग नगर्ने पुरानै अभ्यास हुनु, चुनाव भड्किलो बनाएर मतदातालाई प्रलोभनमा पार्नु कमजोरी भएको उनको ठम्याइ छ।