शनिबार, कात्तिक २९, २०८२

सकिएको एसियाली रवाफ र अफ्रिकी स्टाइलको कमब्याक

समूहभन्दा अघिका रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित नकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। दोस्रो चरण सकिँदै गर्दा केही रोचक कुराहरु देखिए।
 |  मंगलबार, मंसिर १३, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- कतार विश्वकपको पर्खाइ लामै रह्यो। धेरै मानिस सुरु हुने दिन गन्दै बसिरहन्थे। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल समर्थकलाई जोश दिने काम गरिरहन्थ्यो। अनि नोभेम्बर २० मा बल्ल सुरु भयो विश्वकपको २२ औं संस्करण। 

National life

अहिले यसको दोस्रो चरण पनि समाप्त भइसकेको छ। ६४ मध्ये आधा अर्थात् ३२ खेल भइसकेका छन्। आजबाट समूह चरणका अन्तिम खेल बाँकी छन्। अनि नकआउट चरण सुरु हुनेछ। समूहभन्दा अघिका रोमाञ्चक नकआउट खेल अब आउँदैछन्। जसरी पनि जित नकाल्नैपर्ने बाध्यता टिमलाई हुनेछ। पराजित हुने टिमको लागि विश्वकप सकिनेछ। दोस्रो चरण सकिँदै गर्दा केही रोचक कुराहरु देखिए।

एसियाली टिमको रवाफ सकियो
पहिलो चरणमा उत्कृट प्रदर्शन गर्दै सबैको मन जितेको एसियाली टिमले त्यसलाई लामो समय जोगाउन सकेनन्। पहिलो चरणको खेलमा उपाधि दाबेदार टिमलाई हराएका साउदी अरेबिया र जापानले औसत मानिएका टिमसँग पराजय व्यहोर्न पुगे। पहिलो खेलमा अर्जेन्टिनालाई हराएको साउदी अरेबिया दोस्रो खेलमा पोल्यान्डसँग २-० रले स्तब्ध भयो। जर्मनीलाई हराएको जापान कोष्टारिकासँग १-० ले हार्‍यो। पहिलो खेल उरुग्वेसँग गोलरहित बराबरी खेलेको दक्षिण कोरिया घानासँग ३-२ गोलअन्तरले पराजित हुन पुग्यो।

पहिलो खेलमा पराजित भएको आयोजक टिम कतार दोस्रो खेलमा पनि पराजित भयो। कतार अफ्रिकन टिम सेनेगलसँग ३-१ गोल अन्तरले पराजित भयो। यी सबै नतिजालाई हेर्दा एसियाली टिम विश्वकपको दोस्रो चरणमा चल्न सकेनन् र इरानबाहेक अन्य सबै एसियाली देश जितविहीन भए।

अफ्रिकी स्टाइलको कमब्याक
फिफा विश्वकपको पहिलो चरणमा अफ्रिकी देशहरु जितविहीन रहे। त्यसैले होला, अफ्रिकी टिमलाई धेरैले आशा गरेनन्। दोस्रो चरणमा भने आफ्ना समर्थकलाई खुसी दिन सके र मारेको आशालाई फेरि जीवित बनाइदिए। घानाले ढिलो गरेर विश्वकपमा आफ्नै स्टाइलको कमब्याक गरेको छ। पहिलो चरणमा पोर्चुगलसँग ३-२ रले पराजित भएको घानाले दोस्रो खेलमा दक्षिण कोरियालाई रोक्यो। हारबाट सुरुआत गरेर जित्नैपर्ने खेलमा घानाले कोरियालाई ३-२ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ को आशा जीवितै राखेको छ।

Laxmi sunrise bank
kumari

अफ्रिकी च्याम्पियन सेनेगल पहिलो खेलमै नेदरल्यान्डसँग २-० ले पराजित भयो। तर दोस्रो खेलमा उसले आयोजक कतारविरुद्ध ३-१ को प्रभावशाली जित दर्ता गरायो। पहिलो खेल साविक विश्व उपविजेता क्रोएसियाविरुद्ध गोलरहित बराबरी खेलेको मोरक्कोले दोस्रो खेलमा बलियो टोली बेल्जियमलाई २-० गोल अन्तरले पराजित गर्यो। मोरक्कोका लागि यो निकै शानदार जित थियो। किनभने उसले विश्व वरीयताको दोस्रो स्थानमा रहेको टिमविरुद्ध जित निकालेको थियो।

पहिलो खेल स्पेनसँग ७-० ले हारेको कोष्टारिकाले दोस्रो खेलमा जापानलाई १-० गोलले हरायो। क्यामरुन र सर्बियाले ३-३ गोलको बराबरी खेले। पहिलो चरणमा जितविहीन बनेको अफ्रिकन टिम दोस्रो चरणमा हारविहीनको स्थानसम्म पुगेको छ।

पुनरागमन
पहिलो खेलमा पराजित टिमको गज्जब कुरा के छ भने उनीहरुले दोस्रो चरणमा आफूलाई बलियो रुपमा प्रस्तुत गरे। पहिलो खेलमा कमजोर प्रदर्शनका कारण आफ्ना समर्थकलाई निराश बनाएका ती टिमले दोस्रो चरणमा खुशी पनि दिए। अर्जेन्टिना, जर्मनी, सेनेगल, घाना, कोष्टारिका, इरान जस्ता टिमले राम्रो कमब्याक गर्न सफल भए। पहिलो खेल साउदी अरेबियासँग २-१ गोलले हारेको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई २-० गोलले हरायो।

जर्मनी पहिलो खेलमा जापानसँग २-१ गोलअन्तरले पराजित भएको थियो। दोस्रो खेलमा जित निकाल्न नसके पनि बलियो टोली स्पेनविरुद्ध १-१ गोलको बराबरी खेल्यो र अन्तिम १६ मा पुग्ने सम्भावना कायमै राख्न सफल भयो। घाना पोर्चुगलसँग पराजित भएपछि दोस्रो खेलमा कोरियाविरुद्ध ३-२ गोल अन्तरले विजयी भयो। स्पेनसँग ७-० को फराकिलो गोल अन्तरले पराजित भएको कोष्टारिकाले दोस्रो खेलमा जापानलाई १-० गोलले हरायो। त्यस्तै इंग्ल्यान्डसँग ६-२ गोलले पराजित इरानले दोस्रो खेलमा वेल्सलाई २-० गोलले पराजित गरेर अन्तिम १६ को सम्भावना कायमै राख्यो।

अन्तिम १६ मा पुग्ने र बाहिरिने
विश्वकपमा सहभागी ३२ टिममध्ये १६ टिमले अन्तिम १६ मा स्थान बनाउने छन्। बाँकी १६ टिम प्रतियोगिताबाट बाहिरिने छन्। समूह चरणका दुई खेल सकिँदा अन्तिम १६ मा पुग्ने केही टिमको टुंगो लागिसकेको छ। साबिक विजेता फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ। खेलेका दुवै खेल जितेको फ्रान्स अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्यो। त्यस्तै लगातार जितका साथ ब्राजिल र पोर्चुगलले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। समूह चरणका लगातार दुई खेल जित्ने यी तीन टिममात्रै रहेका छन्। बाँकी अन्य टोलीको टुंगो अन्तिम चरणका खेलहरु सकिएपछि मात्रै लाग्ने छ।

प्रतियोगिताको समूह चरणबाट बाहिरिने १६ टिममध्ये केही टिमको टुंगो लागिसकेको छ। आयोजक कतार दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्यो। कतार विश्वकपको पहिलो खेल नै हार्ने इतिहासकै पहिलो टिम बनेको थियो। सन् २०१० को विश्वकपमा आयोजक दक्षिण अफ्रिकापछि अन्तिम १६ मा नपुग्ने दोस्रो टिम बन्यो कतार। क्यानडा, जर्मनी, मेक्सिको, वेल्स, ट्युनिसिया, सर्बिया, उरुग्वे जस्ता टिमहरुको अन्तिम १६ मा पुग्ने सम्भावना न्यून रहेको छ। तर राम्रो प्रदर्शन गरेर जित निकाल्न सक्नुका साथै अन्य टिमको नतिजा पनि आफू अनुकूल आएको अवस्थामा यी टोलीले पनि अन्तिम १६ मा स्थान बनाउन सक्छन्।

गोल्डेन बुटको रेस
प्रतियोगितामा दुई खेल सकिँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बन्दै छ। पहिलो चरणमा शिर्ष तीनमा रहेका खेलाडी दोस्रो चरणमा आइपुग्दा त्यसमा छैनन्। पहिलो चरणमा दुई गोल गरेका स्पेनका फेरान टोरेस, इंग्ल्यान्डका बुकायो साका, फ्रान्सका ओलिभिए जिरु, ब्राजिलका रिचाल्सन दोस्रो चरणमा गोल गर्न चुके। गोल्डेन बुटको रेसमा सबैभन्दा अगाडि छन् इक्वेडरका कप्तान इनर भ्यालेनसिया र फ्रान्सका केलियन एम्बाप्पे। उनीहरुले समान तीन/तीन गोल गरेका छन्।

त्यस्तै स्पेनका अलभारो मोराटा, अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, पोर्चुगलका ब्रुनो फर्नान्डेज समान दुई/दुई गोल गर्दै यो रेसमा अघि आएका छन्। अघिल्लो संस्करणका गोल्डेन बुट विजेता इंग्ल्यान्डका कप्तान ह्यारी केनले अझैसम्म पनि गोलको खाता खोल्न सकेका छैनन्।

प्रकाशित: Nov 29, 2022| 15:38 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।