शनिबार, वैशाख २२, २०८१

विश्वकपको पहिलो चरणमा देखिएको चित्र

कतारमा जारी फिफा विश्वकपअन्तर्गत सबै समूहका पहिलो चरणका खेल सकिएका छन्। समूहकै अब अझै दुई चरणका खेलचाहिँ बाँकी नै छन्।
 |  शुक्रबार, मंसिर ९, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपअन्तर्गत सबै समूहका पहिलो चरणका खेल सकिएका छन्। समूहकै अब अझै दुई चरणका खेलचाहिँ बाँकी नै छन्। ती खेल सकिएपछि समूह चरणका खेलहरु सकिनेछन्। र, सहभागी ३२ मध्ये आधा टिम बाहिरिने छन्। बचेका १६ टिमको नकआउट सुरु हुनेछ।

triton college

पहिलो चरणका खेल सकिँदै गर्दा धेरै रोमाञ्चक दृष्य देखिए। सोच्दै नसोचेका नतिजा देखिए। कुनै टिमका आँखा हर्षले भरिए कतिका आँशुले पनि। यस्तै कारणले यसपटकको विश्वकप अप्रत्यासित बन्दैछ। पहिलो चरणका सम्झनलायक यस्ता धेरै पलहरु रहेः

हारले ततायो माहोल
विश्वकपको उद्घाटनमा आयोजक कतारले दक्षिण अमेरिकी टिम इक्वेडरविरुद्ध खेल्यो। घरेलु समर्थकमाझ आयोजक कतार २-० ले पराजित भयो। कतारको यो पराजयमा एउटा कीर्तिमान बन्यो। सन् १९३० देखि सुरु भएको विश्वकपको इतिहासमा अहिलेसम्म आयोजक टिम कहिल्यै पनि पहिलो खेलमा पराजित भएको थिएन। कतार भयो।

यसरी नै यो विश्वकपको पहिलो चरणामा जितको भन्दा हारको चर्चा धेरै भयो। त्यो किन पनि भयो भने दुई उपाधि दाबेदार नै हारे। सन् २०१४ ब्राजिल फिफा विश्वकपको दुई फाइनलिस्ट टिम हुन् जर्मनी र अर्जेन्टिना। ओपनिङ खेलमा सन् २०१४ का दुई फाइनलिस्टको हालत कतारको भन्दा कम रहेन। यी टिम त्यस समय पनि बलियो थिए, यसपटक पनि छन्। उनीहरुलाई स्वतस् उपाधि दाबेदारका रुपमा स्विकारिएको छ। तर, यी दुवै टिमले प्रतियोगितामा झट्का लाग्ने हार बेहोरे।

तुलनात्मक रुपमा कमजोर साउदीविरुद्ध बनाएको अग्रता पनि अर्जेन्टिनाले जोगाउन सकेन र हार बेहोर्यो। त्यो हार २-१ को थियो। अनि जर्मनीको हार पनि २-१ कै त थियो। अवस्था उस्तै। जर्मनीले हार बेहोरेको पनि एसियाली देश नै थियो जापान। पहिलो खेलमै हार बेहोरेपछि यी तीन टिमलाई अन्तिम १६ मा पुग्नको लागि जित्नै पर्ने दबाब छ।

corrent noodles
Metro Mart

ठूला टिमका ठूलै जित
जर्मनी र अर्जेन्टिनाले हार बेहोरिरहँदा स्पेन, इंग्ल्यान्ड र फ्रान्सको जितलाई भने बिर्सनु हुँदैन।  पहिलो चरणमा सबैभन्दा धेरै गोल गर्ने टिम बन्यो स्पेन। स्पेनले अमेरिकी प्रतिद्वन्द्वी कोष्टारिकाको पोष्टमा ७ गोल गर्यो र कुनै पनि गोल व्यहोरेन। ८५ प्रतिशत बल आफ्नो पक्षमा राखेर हजार भन्दा धेरै पास खेलेको स्पेनको जितमा फेरान टोरेसले दुई, अल्भारो मोराटा, सोलेर, गाभी, ड्यानी ओल्मो र मार्को एसेन्सियोले समान एकरएक गोल गरे।

विश्वकपको अर्को दाबेदार हो इंग्ल्यान्ड। समर्थकहरुले आशा पनि गरेका छन् कि उसले विश्वकप जित्नेछ। इंग्ल्यान्डले एशियाली टिम इरानविरुद्ध ६-२ को प्रभावशाली जित निकाल्दै आफूलाई प्रतियोगितामा अझ बलियो साबित गर्यो।

सन् २०१८ को रसिया विश्वकपको विजेता अर्थात् साविक विजेता टिम फ्रान्सले सानदार प्रदर्शन गर्दै प्रतियोगिता सुरुवात गर्यो। आफ्नो प्रतिद्वन्द्वी अष्ट्रेलियालाई अल जनैब रंगशालामा ४-१ ले पराजित गर्यो। फ्रान्सका लागि ओलिभिए जिरुले दुई, केलियन एम्बाप्पे र राबियोटले समान एक-एक गोल गरे। फ्रान्सले पउल पोग्वा, एन्गोलो कान्टे, किम्पेम्बे, करिम बेन्जेमा, क्रिस्टोफर एनकुन्कुजस्ता खेलाडीलाई चोटका कारण गुमाए पनि राम्रो प्रदर्शन गर्दै विश्वकपमा आफ्नो दाबेदारी अझै बलियो बनायो। यस्तै उपाधि दाबेदार मानिएको ब्राजिलले सर्बियामाथि जित निकालेको छ।

साउदी अरब र जापानको रवाफ
युरोपेली र अमेरिकी टिमको तुलनामा धेरै कमजोर मानिएका एशियाली टिम हुन् साउदी अरब र जापान। दुवै टोलीलाई एसियाको पावर हाउसको रुपमा मानिन्छ। दुवै टोलीले पहिलो चरणमा विश्वको ध्यान आफूतिर ताने।

एसिया महादेशमा प्रतियोगिता भइरहँदा कुनै एसियाली टिमलाई त चम्किनै थियो। त्यसैले होला यी टिमले विश्वका पावर हाउस टिमलाई स्तब्ध बनाए। साउदीले उपाधि दाबेदार टिम अर्जेन्टिनालाई अप्रत्यासित रुपमा २-१ गोल अन्तरले पराजित गर्यो। साउदीले अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लगाइदियो।

जापानले अर्को उपाधि दाबेदार टिम जर्मनीलाई स्तब्ध बनायो। सन् २०१४ को विश्वविजेता जर्मनीविरुद्ध जापानले २-१ गोलको पुनरागमन जित निकाल्यो। योसँगै विश्वकपमा कमजोर रुपमा देखिने एशियाली टिमले विश्व फुटबलका पावरहाउस मानिएका टिमलाई पराजित गरेर एशियाले केही गर्न सक्छ भन्ने कुरा साबित गर्दैछन्। 

गोल नै हुन नसकेका चार खेल 
प्रतियोगिताको पहिलो चरणमा भएका १६ खेलमध्ये चार खेल यस्ता छन्, जहाँ गोल हुन सकेन। समूह डी अन्तर्गत डेनमार्क र ट्युनिसियाले आपसमा प्रतिस्पर्धा गरेका थिए। तर खेल गोलरहित बराबरीमा सकियो। त्यस्तै समूह सी अन्तर्गतको मेक्सिको र पोल्यान्डको खेलमा पनि कुनै गोल हुन सकेन। पोल्यान्डका कप्तान रोवर्ट लेवान्डोस्की पेनाल्टीमा गोल गर्न नसक्दा उसले मेक्सिकोसँग अंक बाँड्नुपर्‍यो।

साबिक विश्व उपविजा क्रोएसियाले पनि आफ्नो पहिलो खेलमा अफ्रिकन टिम मोरक्कोविरुद्ध गोलरहित बराबरी खेलेको छ। पहिलो चरणमा उरुग्वे र दक्षिण कोरियाको खेल गए राति भएको थियो। निर्धारित ९० मिनेटमा दुबै टिमबाट गोल हुन सकेन।

खेलमा गोल भए पनि गोल गर्न नसकेका टिम पनि थुप्रै छन्। पहिलो खेलमा कतारले गोल गर्न सकेन भने दोस्रो दिनको खेलमा सेनेगलले गोल गर्न सकेन। स्पेनसँग सात गोल बेहोरेको कोस्टारिकाले पनि गोल गर्न सकेको छैन। बेल्जयमविरुद्ध पेनाल्टी पाए पनि क्यानडाले त्यसलाई सदुपयोग गर्न सकेन र गोल गर्न सकेन। अहिलेसम्म गोल गर्न नसकेको टिममा सर्बिया पनि छ।

जापानी समर्थकको प्रशंसनीय काम
विश्वमा हरेक रंगशालामा जब खेल सकिन्छ- रंगशाला खाद्य पदार्थ बोकिएका प्याकेट, प्लास्टिक, कागज र क्यानले भरिएका हुन्छन्। मानिसहरु प्रसस्त खाजा खाँदै खेल हेर्न रुचाउँछन्। त्यसैले पनि खेल सकिएको रंगशाला धेरै नै फोहोर हुने गरेको छ।


तर खेल हेर्ने जापानी समर्थक छन् भने कथा बेग्लै हुन्छ। कतार विश्वकपमा पनि त्यस्तै भयो। विश्वकपमा जर्मनीलाई २–१ ले हराएको दिन सारा जापानी समर्थकलाई राष्ट्रिय टिमले सुखी बाँडेको थियो। जब खेल सकियो समर्थक रंगशालाको सफाइ गर्न जुटे। उनीहरुले खेल सकिएपछिको छोटो समय मात्र उत्सव मनाएर सरसफाइ गर्न लागेका थिए।

जापानी समर्थकले संसारकै उत्कृष्ट फुटबल समर्थकको नमुनाका रुपमा आफूलाई स्थापित गरिरहेका छन्। पछिल्लो विश्वकपमा पनि उनीहरुले खेल हेरिसकेपछि रंशालाको सफाइ गरेका थिए।

चलेन अफ्रिकन टिमको जादू
विश्वकपमा अफ्रिकाबाट पाँच टोली क्यामरुन, मोरक्को, ट्युनिसिया, सेनेगल र घानाले सहभागिता जनाएका थिए। तर पहिलो चरण सकिँदासम्म कुनै पनि टिमले जित निकाल्न सकेनन्। ट्युनिसिया र मोरक्कोले गोलरहित बराबरी खेल्नुबाहेक अन्य टिमले राम्रो प्रदर्शन गर्न सकेनन्। युरोप तथा अमेरिकन टिमको तुलनामा केही कमजोर देखिए पनि अफ्रिकाबाट समर्थकले धेरै आशा गरेका थिए। अहिलेसम्म कुनै पनि अफ्रिकन टिमले विश्वकपको फाइनल समेत खेल्न पाएका छैनन्।

गोल्डेन बुटको रेस र चुकेका लेवान्डोस्की
विश्वकपमा अहिलेसम्म छ खेलाडीले समान दुई/दुई गोल गर्दै आफूलाई गोल्डेन बुटको रेसमा अघि ल्याएका छन्। इंग्ल्यान्डका बुकायो साका, इक्वेडरका इनर भ्यालेन्सिया, स्पेनका फेरान टोरेस, इरानका मेदी तारेमी, फ्रान्सका ओलिभिए जिरु, ब्राजिलका रिचार्लिसनले समान दुई/दुई गोल गरे। यी खेलाडी अहिले गोल्डेन बुटको रेशमा छन्।

अघिल्लो संस्करणका गोल्डेन बुट विजेता इङ्गल्यान्डका कप्तान ह्यारी केनले गोलको खाता खोल्न सकेनन्। यता बुटका दाबेदार रोबर्ट लेवान्डोस्की भने पेनाल्टीमै चुकेका छन्।

कतारको दोहामा अभ्यास गर्दै इंग्ल्यान्डको राष्ट्रिय फुटबल टिम।

समूह सी अन्तर्गतको दोस्रो खेलमा मेक्सिको र पोल्यान्डको थियो। खेलका क्रममा पोल्यान्डले पेनाल्टी पायो। तर, पोल्यान्डका कप्तान लेवान्डोस्की गोल गर्न चुके। उनको पेनाल्टी मेक्सिकोका लोकप्रिय गोलकिपर जी ओचाले बचाए।

यससँगै लेवान्डोस्की विश्वकपमा आफ्नो पहिलो गोल गर्नबाट चुके। दुई पटकका युरोपियन गोल्डेन बुट विजेता लेवान्डोस्कीले सन् २०१८ को विश्वकपमा डेब्यु गरेका थिए। जहाँ उनले पहिलो विश्वकपमा तीन खेल खेल्दा कुनै पनि गोल गर्न सकेनन्।

रोनाल्डोको कीर्तिमान

घानाविरुद्धको पहिलो खेल पोर्चुगलले ३-२ गोल अन्तरले जित्यो। जसअन्तर्गत कप्तान क्रिष्टियानो रोनाल्डोले पेनाल्टीमार्फत पहिलो गोल गरे। उक्त गोलसँगै सन् २००६ को विश्वकपमा डेब्यु गरेका रोनाल्डो पाँचौं संस्करणसम्म आइपुग्दासम्म खेलेका सबै संस्करणमा गोल गर्ने खेलाडी बने। अब रोनाल्डो पाँचवटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।


प्रकाशित: Nov 25, 2022| 15:00 शुक्रबार, मंसिर ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।