काठमाडौं– स्थिर सरकारको प्रतिवद्धतासहित नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल र त्यसपछि एकता गरी ०७४ मा नेकपा एमालेका केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको बहुमत सरकार बन्यो। ०७४ फागुन ३ गते स्थिर सरकारको प्रतिवद्धता गरी उनी प्रधानमन्त्री बने तर उक्त कार्यकालमा ओलीले १८ पटक मन्त्रिपरिषद् पुनर्गठन गरे।
२०७७ पुस ५ गते उनले पहिलोपटक प्रतिनिधिसभा विघटन गरे। तत्कालीन नेकपा ७ जना मन्त्रीले राजीनामा दिए। प्रतिनिधिसभा विघटनको चौतर्फी विरोध र आलोचना भइरहँदा ओलीले भने चुनावी मन्त्रिमण्डल गठन गरे। जसमा उनले हरेक कदममा आफ्नो बचाउ गर्ने र गलत निर्णय गर्दा पनि साथ दिने नेताहरुलाई मन्त्री बनाए। ओलीको ‘किचेन क्याबिनेट’मा रहेर उनलाई सुझाव दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरु, जसले संसद् विघटनमा उनलाई बलियो साथ दिएका थिए। ती अधिकांश नेताहररूलाई यसपटक जनताले अनुमोदन नगरी अस्वीकार गरेका छन्।
एमालेका महासचिव समेत रहेका ओलीका विश्वासपात्र शंकर पोखरेल दाङ २ मा पराजित भए। उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १९६ मतले पराजित गरिन्। शर्माले २६ हजार ८७७ मत पाउँदा पोखरेलको पक्षमा २६ हजार ८७७ मत खसेको थियो।
काठमाडौं ५ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तनहुँबाट उम्मेदवार बन्न आएका प्रदीप पौडेलले पराजित गरेका छन्। पोखरेललाई पौडेलले ५ हजार बढी मतान्तरले हराए। यहाँ पौडेलले १५ हजार २३७ मत ल्याउँदा पोखरेललाई १० हजार १७५ प्राप्त भएको थिए।
खोटाङमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई हराउँदै माओवादीका रामकुमार राई पासाङ निर्वाचित भएका छन्। भट्टराईलाई पासाङले २ हजार ६६९ मतले पराजित गरे। यहाँ पासाङले ३१ हजार ३५१ मत पाउँदा एमालेका भट्टराईले २८ हजार ६८२ मत प्राप्त गरे।
ओलीका अर्का चर्का समर्थक राजन भट्टराई काठमाडौं ४ बाट पराजित भए। उनलाई कांग्रेसका गगनकुमार थापाले करिब ८ बजार मतान्तरसहित हराएका हुन्। यहाँ थापालाई २१ हजार ३०२ मत प्राप्त हुँदा भट्टराईले १३ हजार ८५५ मत पाएका थिए।
यस्तै ओलीका अर्का विश्वास पात्र महेश बस्नेत पनि भक्तपुर २ मा पराजित भएका छन्। बस्नेतलाई कांग्रेसका दुर्लभ थापाले ८२३ मतले हराएका हुन्। यहाँ दुर्लभले २३ हजार ५०० मत पाउँदा बस्नेतले २२ हजार ६७७ मत पाएका थिए।
ओलीको ‘किचेन क्याबिनेट’मा रहेर उनलाई सुझाव दिने विभिन्न क्षेत्रका व्यक्ति, जसले संसद् विघटनमा उनलाई बलियो साथ दिएका थिए- ती अधिकांश नेताहररूलाई यसपटक जनताले अनुमोदन नगरी अस्वीकार गरेका छन्।
ओलीका कानूनी सल्लाहकार अग्नि खरेललाई कांग्रेसका विश्वप्रकाश शर्माले १५ हजारभन्दा बढी मतान्तरले हराए। एमालेको प्रभाव क्षेत्र मानिने र ०५६ यता निरन्तर जित्दै आएको यो क्षेत्रमा खरेलले २५ हजार ३४९ मत मात्रै पाए। उनलाई हराएका शर्माले ३९ हजार ६२४ मत ल्याएका थिए।
ओलीका कट्टर समर्थक ऐन महर बझाङमा पराजित भए। उनलाई नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले १ हजार १ मतान्तरले हराए। यहाँ जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाएका थिए।
ओलीको संसद् विघटनपछि पहिलोपटक मन्त्री बनेका गणेशसिंह ठगुन्ना पनि दार्चुलामा पराजित भएका छन्। उनलाई कांग्रेसका दिलेन्द्रप्रसाद बडूले २ हजार १३४ मतान्तरले हराए। बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा ठगुन्नाले २६ हजार ३८१ मत पाए।
ओलीको संसद् विघटनलाई समर्थन गर्दै एमालेमै बसेका पूर्वमाओवादी खेमाका अधिकांश नेता पराजित भएका छन्। कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित हुँदै गर्दा गौरीशंकर चौधरी प्रतिस्पर्धामै आउन सकेनन्। यहाँ गंगारामले २३ हजार १२० मत पाउँदा माओवादीका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाएका थिए। पूर्वमन्त्री गौरीशंकर ९ हजार ८७४ सहित तेस्रो स्थानमा सीमित भए।
यस्तै कैलाली ४ मा लेखराज भट्टलाई कांग्रेसका वीरबहादुर बलायरले पराजित गरे। यहाँ बलायरले २६ हजार १७१ मत पाउँदा एमालेका भट्टले २२ हजार ५८७ मत पाएका थिए।
संसद् विघटनको पक्षमा खुलेर ओलीको समर्थन गने शेरधन राई, शान्ता चौधरी, कोमल वली, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, शेरबहादुर तामाङ र लालबाबु पण्डित पनि पछि परेका छन्।
संसद् विघटनमा चर्को साथ दिने सूर्य थापा, टोपबहादुर रायमाझी, कृष्णगोपाल श्रेष्ठ किसानलगायतका नेताले भने जित निकालेका छन् भने गोकुल बास्कोटा, रघुवीर महासेठ, विष्णु पौडेल, जुलीकुमारी महतो र सुबास नेम्वाङले अग्रता कामय राखेका छन्।