काठमाडौं- मंगलबार संघीय संसदका राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। राष्ट्रियसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ भने प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने छ।
राष्ट्रिय सभा बैठकमा ‘रेल्वे विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन र प्रत्यायन (एक्रिडिटेसन) विधेयक २०७६ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ। समिति सभापति परशुराम मेघी गुरुङले समितिको प्रतिवेदन पेस गर्नेछन्।
‘सार्वजनिक सेवा प्रसारक विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पनि बैठकमा पेस हुने संसद सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले नै यी विधेयक पेस गर्ने बताइएको छ।
यस्तै विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको स्टान्डर्ड नाप र तौल पाँचौँ संशोधन विधेयक २०७६ पनि बैठकमा पेस गर्ने कार्यसूचीमा उल्लेख छ।
मंगलबार नै दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ टेबुल गर्ने कार्यसूची रहेको छ।