काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीले १२ औं पटक साफ च्याम्पियनसिपमा सहभागिता जनाएको छ। १२औं पटक साफमा सहभागिता जनाउँदा पाँचौं पटक सेमिफाइनलबाटै घर फर्किनुपरेको छ।
अहिलेसम्म साफको उपाधि उचाल्न नसकेको नेपाल पहिलो पटक सन् १९९३ मा पाकिस्तानमा आयोजना भएको साफ च्याम्पियनसिपमा तेस्रो भएको थियो। यो नै नेपालको अहिलेसम्मको साफमा सबैभन्दा ठूलो उपलब्धि हो। नेपाल १९९५, १९९९, २०११, २०१३ र पछिल्लो साफ २०१८ मा सेमिफाइनल पुगेको थियो।
अहिलेसम्म नेपालले ६ पटक समूह चरण पार गर्न सकेको छैन। साफ सुजुकी २०१८ मा समूह ए को विजेताको रूपमा नकआउट चरणमा पुगेको नेपाल माल्दिभ्ससँग ३-० ले पराजित हुँदै घर फर्कियो।
यसरी लगातार साफ च्याम्पियनसिपमा फेरि पनि सेमिफाइनलबाट अघि बढ्न नसक्नु नेपाली फुटबल, खेलकुद र नेपाली समर्थकका लागि दुःखको विषय हो। ढाकामा मात्र आयोजना भएका तीन साफमध्येमा पनि नेपाल सेमिफाइनल पुग्नु यो पहिलो पटक हो।
माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाली टोली प्रतियोगिताबाट बाहिरिएको थियो। अहिलेसम्म पाँच पटक सेमिफाइनल खेलेको नेपाली टोलीका लागि पछिल्ला तीन सेमिफाइनलमा गोलपोस्ट सम्हालेका किरणले फेरि पनि सेमिफाइनलबाट निरासाजनक नतिजा निस्कनु दुःखद भएको बताएका छन्।
‘यसपटक हामीले जित्ने राम्रो सम्भावना थियो। तर दुर्भाग्य सेमिफाइनलबाट अघि बढ्न सकेनौं, ‘ बिहीबार स्वदेश फर्केपछि किरण चेम्जोङले भने, ‘अब यस्तै सम्भावना फेरि बन्ला नबन्ला।’
पाकिस्तानसँग २-१ ले पराजित हुँदै समूह चरणको सुरुवात गरे पनि त्यसपछिका दुई खेलमा नेपाली टोलीले उच्च प्रदर्शन गरेको थियो। भुटानविरुद्ध चेम्जोङको कप्तानीमा उत्रेको टोली ४-० ले विजयी भयो भने अर्को खेलमा बंगलादेशलाई २-० ले पराजित गरेको थियो।
समूह चरण उत्कृष्ट प्रदर्शनका साथ समूहको विजेता बन्दै सेमिफाइनल पुग्दा धेरैको अनुमान थियो, नेपाल सहजै फाइनल पुग्नेछ। फाइनल मात्र होइन, यो पटक साफको उपाधि चुम्ने छ। तर, समर्थक र विश्लेषकले अपेक्षा गरेअनुसार नेपाली टोलीले प्रदर्शन गर्न सकेन।
माल्दिभ्ससँगको ३-० को हार नेपाल लागि साफअन्तर्गतको सेमिफाइनलमा अहिलेसम्मकै ठूलो अन्तरमा भएको पराजय हो। सन् १९९५ मा नेपाल श्रीलंकासँग २-१ ले पराजित भएको थियो। यस्तै, सन् १९९९ को सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित भयो। २०११ को सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग १-० ले पराजित हुँदा नेपालमै आयोजना भएको २०१३ को साफमा पनि सेमिफाइनलमा अफगानिस्तानसँग नै १-० ले पराजित भएको थियो।
माल्दिभ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका चेम्जोङले सेमिफाइनलमा आफ्नै सहकर्मीको दुई गोलको सामना गर्नुपरेको थियो। इब्राहिम वाहिद हसनले ८४ औं र ८६ औं मिनटमा गोल गर्दै खेलमा फर्कने नेपालको सम्भावनालाई समाप्त पारेका थिए। पहिलो हाफमा नेपाल माल्दिभ्ससँग १-० ले पछि परेको थियो। उक्त गोल फर्काउने दाउमा रहेको नेपालले उल्टै दोस्रो हाफमा थप दुई गोल खान पुग्यो। किरण र इब्राहिम सिटी स्पोर्टसबाट खेल्दै आएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४