रौतहट- रौतहटको क्षेत्र नम्बर ३ मा दुई जना स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच झडप भएको छ।
कटहरिया नगरपालिका-५ कटहरिया बजारस्थित शान्ति पेट्रोल पम्प अगाडि प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल र प्रदेशसभा स्वतन्त्र उम्मेदवार कुन्दन कुशवाहाका समर्थकबीच झडप भएको प्रहरीले जनाएको छ।
बुधबार राति करिब साढे ९ बजेको समयमा वादविवादका क्रममा झडप भएको प्रहरीले जनाएको छ। झडप भएपछि प्रहरीले चार राउण्ड अश्रुग्यास र सशस्त्र प्रहरीले तीन राउण्ड हवाइ फायर गरेर भीड नियन्त्रणमा लिएको थियो।
दुवै उम्मेदवारका समर्थकहरू रक्सी खाएर एकले अर्कोलाई गाली गर्न थालेपछि विवाद सुरु भएको प्रहरीको भनाइ छ। झडपमा परी तीन जना प्रहरी सामान्य घाइते भएका छन्।