वीरगञ्ज- प्रदेश २ को एक मात्र महानगरपालिका वीरगञ्जका मेयर विजय सरावगीले पार्टीबाट राजिनामा दिएका छन्।
संघीय समाजवादी फोरमबाट मेयर निर्वाचित सरावगीले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्यसमेत नरहने गरी राजिनामा दिएका हुन्। वीरगञ्ज महानगर भए पनि यहाँको विकासका लागि पार्टी नेतृत्वले कुनै योजना बनाउन नसकेको र मधेश आन्दोलनका लागि प्रयोग मात्र गरेको उनको आरोप छ।
पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय तहमा समेत आफूले कुनै सहयोग नपाएको नेपाल समयसँग कुरा गर्दै सरावगीले बताए । जनताको अपेक्षाअनुसार संघीय सरकार, प्रदेश सरकार र पार्टी नेतृत्वबाट सहयोग पाउन नसकेपछि पार्टी अध्यक्ष उपेन्द्र यादव र इन्चार्ज मोहन चौधरीलाई पार्टी परित्यागसम्बन्धी पत्र बुझाएको उनले जनाएका छन्।
सरावगीले भने, 'जनताको अपेक्षा धेरै छ । तर, संघीय सरकार, प्रदेश सरकार र पार्टीले वीरगञ्जको विकासका लागि कुनै योजना बनाएको मेरो जानकारीमा छैन।' संघीय सरकारमा फोरमले दुइटा मन्त्रालय सम्हालेको छ।
प्रदेशमा पार्टीकै नेतृत्वमा सरकार छ। तर, वीरगञ्जलाई कसैले ध्यान दिएनन्। यस्तो अवस्थामा पार्टीमा किन बस्नु?' उनले भने। पार्टी परित्याग गरेपछि मेयर पद धरापमा त पर्ने होइन भन्ने जिज्ञासामा सरावगीले कानूनमा त्यस्तो कुनै व्यवस्था नरहेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४