काठमाडौं- नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल खेल सुरु भएको छ। दशरथ रंगशालामा बेलुका साढे पाँच बजे खेल सुरु भएको हो।
विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको हो।
दशरथ रंगशालामा घरेलु टोलीले आज ५०औं खेल खेल्दैछ। नेपालले सन् १९८४ बाट दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको हो।
सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक आमनेसामने भएका हुन्। त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो। दुई देशबिच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेल जितेका छन्। पाँच खेल बराबरी भएका छन्।
नेपाली राष्ट्रिय टोलिका मुख्य प्रशिक्षक प्रवेश कटुवालले नेपाली टोली उच्च मनोवलमा रहेको र पाकिस्तानलाई हराउन सक्षम रहेको बताएका छन्। यस्तै, संकटबाट उठेको पाकिस्तानी टोली जितको लागि उत्सुक रहेको पाकिस्तानका मुख्य प्रशिक्षक शहजात अनवरले उल्लेख गरेका छन्।