काठमाडौं– देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने दिन मंसिर ४ गते आइतबार धेरैजसो ठाउँको मौसम सफा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले चुनावका लागि प्रारम्भिक मौसम पूर्वानुमान विवरण सार्वजनिक गर्दै सो दिन धेरैजसो ठाउँको मौसम सफा रहने जानकारी गराएको हो।
मतदानको दिन प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहे पनि वर्षा तथा हिमपातको सम्भावना कम रहेको महाशाखाले जनाएको छ।
चुनावका लागि कर्मचारी खटिने क्रम सुरु भइसकेको छ भने मतदाता पनि आफ्नो नामावली भएको ठाउँमा पुग्ने क्रम जारी छ।
चुनावअघिका दुई दिन शुक्रबार र शनिबार मतदानस्थलमा बैठक बस्ने, मतदान केन्द्र बनाउने लगायतका महत्त्वपूर्ण कामहरू हुन्छन्। यी दुई दिन प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा हिमपातको सम्भावना छ। देशका बाँकी ठाउँको मौसम भने सफा रहनेछ।