शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपीडितको उद्धारमा बैंकहरूको ५१ करोड सहयोग, कुन बैंकको कति?

बाढीपीडितको उद्धारमा बैंकहरूको ५१ करोड सहयोग, कुन बैंकको कति?

 |  शनिबार, भदौ २०, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०८३

काठमाडौं। गत भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हालसम्म १६ वटा वाणिज्य बैंक र नाै वटा विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत तथा उद्धार कोषमा योगदान गरेको छ।हालसम्म चार वटा वाणिज्य बैंकले सहयोग घोषणा गरेका छैनन्।

वाणिज्य तथा विकास बैंक व्यवस्थापन र कर्मचारीले राहत कोषमा ५० करोड ९४ लाख ८६ हजार रुपैयाँ जम्मा गरेका हुन्।तथ्यांकअनुसार वाणिज्य बैंकबाट ४७ करोड ४८ लाख ११ हजार र विकास बैंकबाट तीन करोड ४६ लाख ७५ हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा रकम जम्मा भएको हो।

वाणिज्य बैंकमध्ये नबिल, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआई र सिटिजन्सले हालसम्म सहयोग रकम सार्वजनिक गरेका छैनन्। यद्यपि नबिल बैंकले चौधरी फाउन्डेसनसँगै संयुक्त रुपमा १५ करोड रुपैयाँ सहयोगको घोषणा गरेको छ। तर, सरकारलाई चेक दिइसकेको छैन। नेपाल एबबिआई बैंकले पनि बाढीपीडितका लागि राहत सामग्री सहयोग गरिरहे पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम संकलन गरेको छैन।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि सहयोग घोषणा गरेको छैन।विकास बैंकमध्ये कर्पोरेट डेभलपमेन्ट बैंक, गरिमा, ग्रीन डेभलपमेन्ट, सिन्धु विकास, नारायणी, एक्सेल र सप्तकोसीले डेभलपमेन्टले कोषमा रकम जम्मा गरेका छैनन्।

बैंकहरूको आर्थिक सहयोगले बाढीपीडितको तत्कालीन उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित आवासको व्यवस्थादेखि दीर्घकालीन पुनःनिर्माणसम्म उपयोग गरिनेछ भने यस्तो रकम कोषमार्फत एकद्वार प्रणालीबाट परिचालन गर्ने व्यवस्था छ। बाढीबाट प्रभावित क्षेत्रमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेकाले तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापनाका लागि थप स्रोत आवश्यक देखिएको छ।

रसुवा बाढीपछि सरकारले आह्वान गरेको सहयोगस्वरुप हालसम्म विदेशी दातृ निकाय र स्वदेशका विभिन्न संघसंस्थाबाट शनिबारसम्म करिब ११ अर्ब सहयोग जुटिसकेको छ।भोटेकोसी बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।

९ वटा वाणिज्य बैंकमा आठ अर्ब ६ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले बताएको छ।

प्रकाशित: Sep 05, 2026| 19:35 शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्