कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ की किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानविनका लागि गठित उच्चस्तरीय सरकारी समितिका सदस्य हुन्, उपसचिव वीरेन्द्र केसी । घटनाबारे अनुसन्धान जारी रहँदा केसीले सुरक्षा माग गर्दै एक्कासी समितिबाट राजिनामा दिएपछि बलात्कारपछि हत्यामा ठूलै सरकारी अधिकारी संलग्न रहेको आशंका मात्र उब्जिएन, केसीमाथि नै लेनदेनमा फसेको आरोप पनि लगाइयो ।
गृह मन्त्री रामबहादुर थापासँग भेट पाउनासाथ राजिनामा फिर्ता लिएर पुनः आफ्नो जिम्मेवारीमा फर्केका छन्, केसी । राजिनामा दिनु र फिर्ता लिनुका कारण तथा निर्मलाको हत्याकाण्डमा केन्द्रित रहेर नेपाल समयका लागि धिरज बस्नेतले गरेको कुराकानी :
राजिनामा गरेको ४८ घण्टापछि फेरि फिर्ता लिनुभयो । राजिनामा दिनुको कारण खुलाउनुभयो तर फिर्ता लिनुको कारण अस्पष्ट देखियो । यति छिट्टै राजिनामा फिर्ता लिनुको कारण के हो ?
निर्मला पन्तले न्याय पाउनुपर्छ भन्ने उद्देश्यले मैले राजिनामा दिएको थिएँ । समितिको सदस्य भएको हैसियतले मैले केही कुरा गृहमन्त्रीसँग राखेको थिएँ । किनकि, मेरो नियुक्ति उहाँले गर्नुभएको हो ।
यसभन्दा पहिले कसैसँग कुरा राखेर अगाडि बढ्न मिल्दैन । घटना, समस्या र जनताको भावनाअनुसार छिट्टै प्रतिवेदन दिनुपर्छ भन्ने महत्वपूर्ण कुरा थियो । सोही ढंगले २४ भदौमा सबै सल्लाहकारसँग भेट्ने प्रस्ताव राखेको थिएँ । तर, प्राविधिक वा व्यस्तताका कारण होला भेटघाट हुनसकेन । र, १५ दिनको म्याद थपियो ।
मलाई लाग्यो, म राष्ट्रसेवक कर्मचारी हुँ । राष्ट्रले मलाई निर्मला पन्तको हत्याकाण्ड छानविन गर भनी पठाएको हो । म निर्मलालाई न्याय दिलाउने उद्देश्य लिएर हिँडेको थिएँ । त्यो उद्देश्य पूरा गर्न सक्दिनँ भने सदस्य बनेर बस्नुको फाइदा के त ?
मैले गृहमन्त्रीसँग भेट्ने अवसर पाउने भएँ भन्ने बिहीबार गृह मन्त्रालयबाट खबर पाएँ । त्यस घटनाको सबै कुरा मैले गृहमन्त्रीलाई अवगत गराएँ । घटनाको सत्यतथ्यलाई गृहमन्त्रीले गम्भीरतापूर्वक र चासोका साथ लिनुभएको छ ।
समितिकै सदस्यसँग यस विषयमा लामो छलफल हुँदा सम्पूर्ण घटनालाई सम्बोधन भएपछि गृह मन्त्रालयले आग्रह गर्यो, वास्तवमा तपाईं राष्ट्रसेवक नै हो भनेर । राष्ट्रको सेवा गर्नु मेरो दायित्व हो । राज्यले खटाएको ठाउँमा जाने र आदेश पालना गर्नु हरेक नागरिकको दायित्व हो । र, मेरो प्रमुख लक्ष्य निर्मला हत्याकाण्ड छानविन गर्नु हो ।
प्रतिवेदनमा उल्लेख गर्ने विषयमा असन्तुष्ट भएपछि तपाईंले राजिनामा दिनुभयो भन्ने कुरा पनि छ नि ?
घटनामा देखेका कुराहरू राख्न पाउने स्वतन्त्र सदस्यको रूपमा मेरो अधिकार पनि छ । सम्बन्धित व्यक्तिले मेरो कुरा सुनिदेओस् भन्ने थियो, जुन मैले सुनाइसकेको छु ।
म इमानदारीपूर्वक छातिमा हात राखेर भन्छु, ती नानीको विषयमा केही लेनदेन गर्नु भनेको म मान्छे नै होइन भन्नु हो ।
स्थानीय अधिकारी र कञ्चनपुरवासीको आशंका छ तपाईं प्रलोभनमा फस्नुभयो कि भन्ने ?
यो कुरा सही होइन । यस विषयमा निर्मलाका पिता यज्ञराजलाई पनि जानकारी दिइसकेको छु । घटना भएको १÷२ महिना बितिसक्दा पनि अपराधी पत्ता नलाग्दा यस खालको आशंका गर्नु स्वाभाविकै हो ।
तर, म इमानदारीपूर्वक छातिमा हात राखेर भन्छु, ती नानीको विषयमा केही लेनदेन गर्नु भनेको म मान्छे नै होइन भन्नु हो । यदि मैले लेनदेन गरेको ठहरिएमा सिंहदरबार बाहिर ल्याएर जनताका सामु ठूलो अपराधी मानेर झुण्ड्याए हुन्छ ।
म गर्वसाथ भन्छु, कहींकतै प्रलोभनमा फसेको छु भन्ने ठहरियो भने म झुण्डिन तयार छु । गलत काम लुकाएर लुक्दैन, एकदिन अवश्य छर्लंग हुन्छ । मेरो गल्ती देखिएमा म बलात्कारीभन्दा ठूलो अपराधी हो ।
छानविन समितिको प्रतिवेदन आउन अझै समय लाग्ला । तपाईंको छानविनले अपराधी कता छ भन्ने देखाउँछ ?
छानविनको कुरा अहिले बाहिर नल्याउँदा राम्रो हुन्छ । छानविनमार्फत् निर्मलालाई न्याय दिलाउनु मुख्य कुरा हो । यस्ता विषयहरू सञ्चारमाध्यममा छिटो सार्वजनिक नगर्नु राम्रो हुन्छ । सबैजना मिलेर छिटोभन्दा छिटो पीडितलाई न्याय दिलाउनतर्फ लागौं ।
म एक मृत्युसँग सरुवा साटेर बस्ने मान्छे हैन । बुझ्नेले कुरा बुझेकै छन् । यो कुरालाई मैले एकदमै स्पष्ट रूपमा भनेको छु । मैले जे देखेको छु, त्यो कुरा एकदमै इमानदारितापूर्वक प्रतिवेदनमा लेख्छु ।
प्रहरीले विभिन्न तरिकाले घुमाइरह्यो । त्यस कारणले पनि धेरै मानिस आजित र आशंकित छन् । तथ्य कुरा के हो ?
छानविन समितिले गरेको अनुसन्धानको पाटोलाई राम्रो वा नराम्रो भन्ने विषयमा हामी प्रतिवेदन नै लेख्छौं । जनता र पीडितले नराम्रो मानेको कुरा हाम्रो लागि कसरी राम्रो होला । त्यसैले घटनाक्रमलाई विशेष रूपमा गहन अध्ययन गर्न जरुरी छ । छानविनमा जति नयाँ कुरा आउँछन्, ती सबै सार्वजनिक गर्नुपर्छ ।
जति असुरक्षित महशुस म पहिले गर्थें, आज त्यस्तो छैन । घटनासँग सम्बन्धित विवरणहरू सरकारसँग बिनाहिच्किचाहट राख्नसक्छु ।
निर्मलाको आत्माले शान्ति र उनको परिवारले न्याय पाउँछ त ?
मैले उनलाई न्याय दिनैपर्छ । म कुनै प्रलोभन, प्रभाव, दबाबमा परें भने बाँच्नुको कुनै अर्थ छैन । मैले राजिनामा दिनु, फिर्ता लिनु, यस्तो व्यवहारले मानिसहरूले मप्रति आशंका गर्नु स्वाभाविकै हो ।
कतिपय पत्रपत्रिकाले यतिसम्म पनि लेख्न भ्याए कि वीरेन्द्र केसीलाई धनगढी जान मन थिएन र सरुवा गर्नका लागि यति धेरै नाटक रचेको हो ।
यस खालको सस्तो पत्रकारिता नगरिदिन म सबैलाई आग्रह गर्छु । निर्मला पन्तको ज्यान र मृत्युसँग मेरो सरुवा साटेर बस्ने मान्छे म होला कि नहोला ? यस कारणले म धेरै पीडामा छु । त्यस्तो पनि पत्रकारिता हुँदो रहेछ ।
म एक मृत्युसँग सरुवा साटेर बस्ने मान्छे हैन । बुझ्नेले कुरा बुझेकै छन् । यो कुरालाई मैले एकदमै स्पष्ट रूपमा भनेको छु । मैले जे देखेको छु, त्यो कुरा एकदमै इमानदारितापूर्वक प्रतिवेदनमा लेख्छु ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...