काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले निर्मला हत्या काण्ड र त्यसको अनुसन्धानको विषयलाई प्राथमिकतामा पारेका छन् ।
निर्मला पन्तका आफन्त र स्थानीयबासीले सुरुदेखि अनुसन्धानमा रहेर त्रुटि गर्ने प्रहरी अधिकारीलाई निलम्बन गरेर थप अनुसन्धान गर्न माग गरेका छन् । प्रमाण नै नष्ट गरेर घटना ढाकछोप गर्न खोज्ने, निर्दोषलाई समातेर दोषि उम्काउन खोजेको भन्दै अनुसन्धानमा संलग्नमाथि नै अनसुन्धान गर्न स्थानीयले माग गरेका हुन् ।
यसैविषयलाई मुख्य समाचार बनाउँदै आजका नागरिक दैनिकले अनुसन्धानमा संलग्न प्रहरीलाई निलम्बन माग शीर्षकमा खबर छापेको छ । यस्तै नागरिकले निर्मला हत्या काण्डको अनुसन्धानमा लारपाही गरेर प्रमाण नष्ट गरेको आरोप लागेका एसपी डिल्ली विष्टसहित तीन जनाको डिएनए परीक्षण सुरु गरिएको खबर पनि लेखेको छ ।
समाचारमा जनाइएअनुसार एसपी बिष्टसंगै उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष बिष्टको रगत पनि डिएनए परीक्षणको लागि पठाइएको छ । तीन जना शंकास्पद देखिएपछि निर्मलाका आफन्त र स्थानीयको माग बमोजिम उनीहरुको रगत डिएनए परीक्षण पठाइएको हो ।
यस्तै आजको अन्नपूर्ण पोस्ट्ले प्रहरी नै लुकाउँछ बलात्कार घटना शीर्षकमा खबर लेखेको छ । बलात्कार लुकाउन खोज्ने, न्याय भन्दा पीडितलाई थप पीडा दिने प्रहरीहरु नै पुरस्कृत हुने गरेको पनि अन्नपूर्णले लेखेको छ ।
आजको कान्तिपुर दैनिकले भने अपराध कबुल गराउन यातना शीर्षकमा मुख्य समाचार छापेको छ । समाचारमा जनाइएअनुसार दीलिप विष्ट प्रहरी यातनाकै कारण परिवारका सदस्य देख्दासमेत डराउन थालेका छन् भने चक्रदेव बडुलाई अपराध कबुल नगरे गोली ठोक्ने र परिवारका सबैलाई जेल हाल्ने धम्की दिएको थियो । न्याय माग्दा बन्दुकको नाल शीर्षकमा यसै विषयको अर्को खबर पनि कान्तिपुरले प्रकाशित गरेको छ ।
आजको नयाँ पत्रिका दैनिकले भने सैन्य अभ्यासबाट नेपाल फिर्ता हुनुको कारणका विषयलाई खोतलेको छ । सैन्य अभ्यासबाट यसरी फिर्ता भयो नेपाल शीर्षकमा खबर छापेको नयाँ पत्रिकाले पारवहन प्रोटोकलमा चीनसँग हस्ताक्षर भएलगतै सैन्य अभ्यासमा भारत नजाने निर्णय हुनु अनौठो संयोज भएको उल्लेख गरेको छ ।
यस्तै नयाँ पत्रिकाले चक्रपथमा मोनोरेल सञ्चालन गर्न सम्भव रहेको र दशैँमा यातायात ब्यबसायीले थप गाडी नचलाउने भएको विषयलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ । आजको कारोबार दैनिकले भने मुलुकभर ९ लाख २२ हजार व्यवसायिक प्रतिष्ठान शीर्षकमा मुख्य समाचार छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४