कामठाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको केन्द्रीय अनुशासन समिति गठन गर्ने प्रस्तावलाई नेता कृष्णप्रसाद सिटौलाले अस्वीकार गर्दै वैधानिक प्रश्न उठाउँदा बिहिबार बोलाईएको बैठक स्थगित भएको छ।
बिहीबार दिउँसो १ बजे बोलाइएको बैठक साँझ साढे पाँच बजेसम्म नचलेपछि अनिश्चितकालको लागि स्थगित गरिएको हो। बिहीबारको बैठकमा सभापति देउवाले २२ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति र पाँच सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गर्ने कार्यसूचि थियो।
केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि सभापतिको कार्यकक्षमा भएको शीर्ष नेताको बैठकमा सभापति देउवाले अनुशासन समिति गठनको लागि संयोजकमा भिष्मराज आङदम्बे, सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कँडेलको नाम प्रस्ताव गरेका थिए।
उनले दुई सदस्यको नाम दिन अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रस्ताव गरेका थिए। तर, अर्का केन्द्रीय सदस्य सिटौलाले हाल कायम रहेको अनुशासन समिति भंग नगरी नयाँ समिति बनाउनु अवैधानिक भएको भन्दै कानुनी प्रश्न उठाएका थिए।
‘अनुशासन समितिका संयोजक रमेश रिजालले राजिनामा दिनु भयो भन्दैमा बाँकी अरु सदस्यलाई हटाउन मिल्दैन’, सिटौलाको भनाई उधृत गर्दै एक सदस्यले भने ‘अनुशासन समितिका अरु सदस्यले के गर्छन मलाई थाहा भएन तर समिति सदस्य उमाकान्त चौधरीले राजिनामा दिएका छैनन्। उनलाई विधान विपरित सभापतिले हटाउन मिल्दैन।’
पार्टीको विधान अनुसार सभापति देउवाले रिजालको संयोजकत्वमा गठन गरेको अनुशासन समितिलाई केन्द्रीय कार्य समिति बैठकले अनुमोदन गरेको थियो। सिटौलाले केन्द्रीय कार्य समितिले गठन गरेको समितिलाई विघटन गर्ने अधिकार कार्य समितिलाई मात्र रहेको भन्दै हाल कायम रहेको समिति भंग गरी विधान विपरित हुने भन्दै प्रतिवाद गरेका थिए।
सिटौलाले चौधरीलाई गठन हुने नयाँ समितिमा नराखे वैधानिक बाटो खोज्ने चेतावनी दिएपछि सभापति देउवाले बैठक अनिश्चितकालको लागि भन्दै स्थगित गरेका थिए।
सिटौलाले अनुशासन समितिमा चौधरीलाई समावेश नगरे कानुनी उपचार खोज्ने चेतावनी दिए पनि अर्का नेता पौडेल भने मौन बसेका थिए। सभापति देउवाले पौडेलसँग दुई जनाको नाम माग्दा पौडेलले चौधरीको नाम समावेस गर्न राजि नभएपछि समस्या भएको एक नेताले बताए।
पौडेलले आफ्नो तर्फबाट २ जनालाई अनुशासन समिति राख्न देउवालाई दबाब दिएका थिए। देउवाले सिटौलालाई समेत मनाएर अनुशासन समितिमा २ जनाको नाम सिफारिस गर्न भनेका थिए। तर, पौडेलले सिटौलाको जिम्मा आफूले लिन नसक्ने भन्दै आफैं मनाउन देउवालाई भनेका थिए।
सिटौलाले कांग्रेस विधानमा सभापतिले वा अन्य कुनै विभागको संयोजकले राजिनामा दिँदैमा उपसभापति वा अन्य सदस्यको पद समाप्त नहुने तर्क गर्दै अनुशासन समितिलाई विघटन वा त्यसका सदस्यलाई कुन अभियोग लगाइएएको हो भनी प्रश्न गरेका थिए।
‘अनुशासन समिति र केन्द्रीय कार्य सम्पादन समितिमा भागवन्डा नगरी न्याय, कानुन र विवेकसम्मत ढंगले गठन गर्न हामीले प्रस्ताव गर्यौं’, केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेपाल समयसँग भने ‘प्याकेजमा सहमति गरेर अघि बढ्न नमानी सभापतिजी पूर्वाग्रही ढंगले अघि बढ्न खोजेपछि सहमति हुन सकेन।’
केसीले सभापति देउवा विधि, विधान अनुसार नचल्ने र जवर्जस्ती अघि बढ्ने पक्षमा उभिएपछि सहमति जुट्न नसकेको गुनासो गरे।
गच्छदारले मागे २५ प्रतिशत भाग
यसैबीच, नेपाली कांग्रेसका विशेष आमन्त्रित केन्द्रीय सदस्य तथा कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पार्टीमा २५ प्रतिशत भाग खोजेका छन्।
२९ कात्तिक २०७४ मा नेपाल लोकतान्त्रिक फोरमको नेतृत्व गरेका गच्छदारले पार्टीलाई कांग्रेसमा समायोजन गराएका थिए। उनले पार्टी एकता गर्दा भएको सहमति र गत बैशाखमा भएको पार्टी केन्द्रीय कार्य समिति बैठकको निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन्।
कांग्रेस केन्द्रीय कार्य समितिको बिहीबार बस्ने भनिएको बैठक नबसेपछि केन्द्रीय कार्यालयमा सभापति देउवालाई सम्बोधन गर्दै एउटा निवेदन दिएका छन्। गच्छदारले सभापति देउवालाई सम्बोधन गरि दिएको निवेदनमा सहमति कार्यान्वयन गर्न कर्मचारी, भातृ संस्था, केन्द्रीय कार्य समिति, जिल्ला समति, क्षेत्रिय र स्थानीय तहको हरेक समितिमा २५ प्रतिशत भाग चाहिने बताएका छन्।
गच्छदारले पार्टीका ६३ जिल्ला कार्यसमितिका जिल्ला, क्षेत्र, नगर, गाउँ र वार्ड कमिटीमा २५ प्रतिशत भाग खोजेका छन्। उनले आफ्ना २० हजार कार्यकर्तालाई क्रियाशिल सदस्यता दिन, हरेक सांगठनिक इकाईमा कम्तीमा १० जनालाई समायोजन गर्नु पर्ने माग गरेका छन्।
उनले ७ सय जना लोकतान्त्रिक फोरमका पुराना कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि, तीन सय जनालाई महासमिति सदस्य दिन तथा नयाँ बन्ने प्रदेश कार्य समितिमा प्रत्येक प्रदेशमा ७ जना राख्न र केन्द्रीय हरेक बिभागमा तीन जनालाई राख्नुपर्ने प्रस्ताव गरेका छन्।
गच्छदारले कांग्रेस केन्द्रीय कार्य समितिमा भने १५ देखि २० जनलाई समावेश गर्न आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४