धनगढी- निर्मलाको बलात्कारपछि गरिएको हत्या घटनाका दोषीमाथि कारबाही माग गर्दै आमा समूहले बिहीबार पनि महेन्द्रनगरमा प्रदर्शन जारी राखेको छ। विरोध स्वरुप बुधबार कालो सारी लगाएर तिज मनाएका उनीहरुले दोस्रो दिन भने अलिक फरक शैलीमा आन्दोलनको कार्यक्रम जारी राखेका छन्।
‘दबाबमूलक संघर्ष समिति’को ब्यानरमा भएको प्रदर्शनमा आमा समूहका महिलाहरुले थाली र चम्चा बजाउँदै घटनाको छिटो सत्य, तथ्य सार्वजनिक गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराए। थाली र चम्चा बजाउँदै महेन्द्रनगर बजार परिक्रममा गर्दै अगाडि बढेको महिलाहरुको प्रदर्शनले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर निर्मलाका वास्तविक हत्यारालाई सार्वजनिक गर्न ध्यानाकर्षण गराएको थियो।
निर्मलाको हत्या भएको ५० दिन पुगिसक्दा पनि सरकारले वास्तविक अपराधी पक्राउ गर्न नसकेको विरोधमा थाली र चम्चा त बजाए नै, मोटरसाइकल, अटो र साइकलको हर्न पनि बजाएर प्रशासनको ध्यानाकर्षण गराउन खोजेका थिए।
प्रदर्शनकारी महिलाहरुले जिल्ला प्रहरी कार्यालयमा केहिबेर मौन धर्ना पनि दिएका थिए। घटनाको छानविनका लागि सरकारले १५ दिनको म्यादसहित गठन गरेको उच्चस्तरीय छानबिन समितिले तोकिएको मितिमा कुनै पनि निष्कर्ष निकाल्न नसकेपछि आमा समूह बुधबारबाट फेरि आन्दोलनमा उत्रिएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४