चितवन- पूर्व–पश्चिम राजमार्गको टिकौली जंगल सकिएलगत्तै रत्ननगर नगरपालिका–९ खगेरी पुलको दायाँतर्फ रहेको दोभान टोलमा एउटा सुकुम्बासी बस्ती छ। मुलुकमा चुनावी सरगर्मी बढिरहँदा यो टोलका सुकुम्बासी बस्तीसँग भने नेताप्रति वितृष्णा र आक्रोशसहितका प्रश्नहरु मात्रै छन्। उनीहरुको लागि अघिल्ला निर्वाचनमा जस्तै अहिले पनि नेताहरूले घरदैलोमा पुग्दा दिने आश्वासन बदिलएका छैनन्। बरु उही उस्तै मुद्दा दोहोरिएर आएका छन्।
यहि बस्तीको सडकपारी बायाँतर्फ बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालको घर छ। उनी यसपटक पनि चितवनको क्षेत्र नम्बर १ (ख) मा प्रदेश सभा सदस्यका उम्मेदवार छन्।
उनको घर नजिकैको यो सुकुम्बासी बस्तीमा उनीसहितका नेताहरु पटकपटक लालपुर्जा दिलाउने आश्वासन दिँदै भोट माग्न पुगिरहेका छन्। यहि बस्तीका ६५ वर्षे दलबहादुर आलेमगर लालपुर्जाको आशमा दुई दशकदेखि मतदान गरिरहे पनि नपाएको गुनासो गर्छन्। २०४६ सालमा धादिङबाट बसाइँ सरेर त्यहाँ पुगेका उनले पटकपटक रातो पुर्जाको आशमा मतदान गरिरहे, नेतालाई सदनमा पुर्याइरहे तर उनको मतले उनको मुद्दा सम्बोधन अहिलेसम्म हुन सकेको छैन। अहिले पनि उस्तै आश्वासन बोकेर नेताहरु घरदैलोमा आउँदा उनीभित्र उत्साह छैन, मात्रै निराशा छ।
’नेताहरु आएका छन् नि अहिले त, भोट हालेर जितेर गएपछि फर्केर आउँदैनन्। अहिले भर परेर के गर्नु, पछि के हो के?’ उनले दोधारे मनस्थितिमा भने, ’अहिलेसम्म नेताहरुले तपाईंहरुको लागि राम्रो गर्दिन्छौं भन्दाभन्दै हाम्रो बसोबासको कुनै ठेगान नै भएन। गाँस त जसोतसो मजदुरी गरेर नि कमाएर खान सक्छौं तर स्थायी बासको टुंगो नै भएन।’ ३ कठ्ठा जमिन ओगटेर सानो घर बनाएर बसेका उनलाई केही महिनाअघि ३ धुरको निस्सा भूमि आयोगले दिएको छ। तर रातो पुर्जा नपाउन्जेल आश त गर्नु भर त नपर्नु जस्तै मनस्थितिमा छन् उनी।
पश्चिम चितवन खगेरी नहर सिँचाइको जमिनमा दलबहादुर सहित १७५ सुकुम्बासी घरधुरी बस्दै आएका छन्। सिँचाइको जमिन भएकाले नेताहरुबाट त्यहाँ नभए पनि अन्तै सार्ने आश्वासन चुनावको मुखमा मिलिरहेको उनीहरु बताउँछन्। ’नेताहरु आउनुहुन्छ अन्तै बसोबास सार्छौं भन्नुहुन्छ। जितेर गएपछि हाम्रो कुरा सुन्नुहुन्न। चिन्दा पनि चिन्नुहुन्न,’ दलबहादुरले आक्रोश पोख्दै भने। दोभान टोलकि उर्मीला पासवान पहिले जस्तो नेताहरुलाई लुरुलुरु भोट हाल्ने मात्रै नभएर सुकुम्बासीहरु अहिले आफ्नो अधिकारको लागि बोल्ने र प्रश्न उठाउन सक्ने भएको बताउँछिन्। नेताहरुसँग आश गर्दागर्दै विश्वास हराइसकेको परिस्थितिमा उम्मेदवारहरुलाई प्रश्न सहित मतदानमा सहभागी हुने उनले सुनाइन्।
’पहिला पहिला भोट हाल्दा यसरी लालपुर्जा खोइ भनेर प्रश्न गर्न सक्ने अवस्था थिएन। यही रोडपारी मन्त्रीज्यूको घर भएर हो कि! नेताहरुको हावाले छोएर पनि होला। आफ्नो अधिकार खोज्नुपर्छ भन्ने मनमा आइसकेको छ,’ उनले दृढ हुँदै भनिन्, ’हामीले त स्थानीय चुनाव पनि बहिष्कार गर्छौं भनेको हो। तर यही देशको नागरिक हो, भोट हाल्ने अधिकार छोड्न हुन्न भन्ने लाग्यो। रातो लालपुर्जाको आशैआशमा बाँचिराखेका छौं, एकपटक फेरि हेर्न चाहन्छौं।’ पासवान बाल्यकालदेखि नै यो बस्तीमा बस्दै आएकी छिन्। २०४५ सालमा बाढीले विस्थापित भएपछि राप्तीको कठारबाट आमाबुवा बसाइँ सरेर आएको उनले सुनाइन्।
सोही बस्तीकी मीना मुखिया नेताहरुले भोटको लागि मात्रै सुकुम्बासीका दलित सम्झिने बताइन्। श्रीमानले पर्यटकीय नगरी सौराहामा टाँगा चलाएर गुजारा गर्दै आए पनि आफ्नो लागि सबैभन्दा महत्वपूर्ण कुरा बस्ने बासको स्थायित्व रहेको उनले पटकपटक दोहोर्याइन्। ’हामीलाई पनि रहर छ नि आफ्नो जग्गामा घर बनाएर बस्ने। नेताहरुले दिन्छु, दिलाउँछु भने पनि पछि वास्तै गर्नुहुन्न। नमस्ते गर्न गयो भने पनि हात उठाएर नमस्ते फर्काउँदैनन्,’ उनले निराशा पोखिन्।
सोही बस्तीकी सन्तोषी परियार यसपटक मतदान नगर्ने मनस्थितिमा पुगेकी छिन्। नजिकै राष्ट्रिय निकुञ्ज भए पनि सहजै घाँसदाउरा गर्न नपाएको झोंक उनीभित्र छ। ’ग्यास बालेर खान सक्ने भए को जंगल जाने थियो र? जंगलको कार्ड दिन्छौं भनेर पनि दिएनन्। लुकी लुकी घाँसदाउरा गर्न जानुपर्छ। देख्यो भने समातेर लगिहाल्छन्,’ उनले दुखेसो पोख्दै थपिन्, ’बस्तीमै पानी ल्याइदिन्छु भने तर खै? दलित सुकुम्वासीलाई पहिला लालपुर्जा दिने भनेर पनि उस्तै भयो। त्यही भएर भोट हाल्न जानुभन्दा बरु कि जंगल जान्छु कि सुतेर बस्छु।’
चार पटकसम्म मतदानमा सहभागी भएकी उनले सहज जीविकोपार्जनदेखि रातो लालपुर्जासम्मको माग पूरा नभएसम्म मतदानमा सहभागी नहुने अडान लिइन्। सोही सुकुम्बासी बस्तीकी ६० वर्षीया मनमाया बिक पनि भोट दिएका नेताहरु गरिबको लागि कहिल्यै आड भरोसा नभएको गुनासो गर्दै थिइन्। नेताहरुलाई चुनाव लागे पनि मनमायालाई भने दिनप्रतिदिन बढिरहेको जाडोको मौसम कसरी कटाउने भन्ने चिन्ता छ। ’घरमा जस्ता छैन, न झ्यालढोका। चिसो सिरेटो शीत भित्रै पस्छ। न बाक्लो लुगाफाटा नै छन्,’ उनले आफ्नो घर देखाउँदै भनिन्, ’नेताहरु त गरिबको सुरक्षाको लागि उठ्छन भन्छन् नि खै आफूलाई केही गर्या होइनन्,’ उनले भनिन्।