बेलबारी (मोरङ)– दुर्गाकुमारी साह बेलबारी ९ मा बसोबास गर्न थालेको करिब १४ वर्ष भयो। उनले सडक छेउमा चिया नास्ताको पसल सञ्चालन गरेको पनि वर्षौं बितेको छ। उम्मेदवारसँग हरेक निर्वाचनमा उनको एउटै माग छ– पसलसँगै टाँसिएको सडक कालोपत्रे होस्। अघिल्लो प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तह निर्वाचन तथा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि उम्मेदवारसँग उनले सोही माग गरिन्। निर्वाचनताका उम्मेदवारले हुन्छ भने पनि। तर पछि जस्ताको त्यस्तै।
पटक–पटक उम्मेदवारलाई सडक कालोपत्रेको माग गर्दा पनि पूरा नगरेपछि यही मंसिर ४ गतेको निर्वाचनमा दुर्गाकुमारीले फरक पार्टीलाई मतदान गर्ने सोच बनाएकी छन्। उनले भनिन्, ‘एउटै पार्टीलाई मत दिँदा–दिँदा दिक्क भइयो, काम नै गर्दैनन् भने किन उनीहरुलाई फेरि मत दिने?’ सडक कालोपत्रे नहुँदा धुलो उडेर पसलमा राखिएका खानेकुरा कामै नलाग्ने हुने गरेको उनले सुनाइन्। दुर्गाकुमारीको जस्तै पीडा उनको आसपासमा रहेको पान पसल, किराना पसल सञ्चालकहरुलाई पनि छ।
उनीहरुले यस पटक सल्लाह गरेरै मत दिने योजना बनाएको बताए। उम्मेदवारहरु गाडीमा चढेर भोट माग्दै हिँड्ने गरेको उनीहरुको गुनासो छ। जनताको दुःख नेताहरुले कहिल्यै नदेखेको स्थानीय ६८ वर्षीय मालिक खवासले बताए। उनले भने, ‘नेतालाई पञ्चायत कालदेखि मत हालियो तर हाम्रो अवस्था जस्ताको त्यस्तै छ।’ सडक राम्रो होस्, सिँचाइ, कलको प्रवन्ध होस् भन्ने आफूहरुको चाहना भए पनि कहिल्यै सुविधा नपाइएको खवासको गुनासो छ। नेताहरुले चुनावमा मात्रै जनता खोज्ने उनले बताए। निर्वाचन जितेर गएपछि पनि जनताका कुरा सुनेमात्रै काम हुने उनको भनाइ छ। पञ्चायत कालदेखि जनप्रतिनिधि चुन्दै आए पनि आफ्ना दुःख कहिल्यै नहराएको उनले गुनासो गरे।
बेलबारी–९ मा सिटी रिक्सा सञ्चालन गर्दै आएका ५० वर्षीय अर्जुन राजवंशी पनि नेताको व्यवहार देखेर दिक्क छन्। चुनावका समयमा राम्रा–राम्रा आश्वासन दिने तर निर्वाचनपछि भुल्ने परिपाटीका कारण जनताको जीवनस्तर उक्सन नसकेको उनको भनाइ छ। राजवंशीले भने, ‘स्वदेशमै बसेर केही गरौं भन्न खोज्यो, केहीमा पनि सरकारको सुविधा छैन।’ वैदेशिक रोजगारीबाट फर्किएर सिटी सफारी सञ्चालन गर्दै आएका उनले कांग्रेस, एमाले र माओवादी तीनै दलको काम हेरिसकिएको बताए। उनले भने, ‘सबै पार्टी हेरियो, काम कसैले गरेनन्।’ राजनीतिक पार्टीमा जनताका पीर मर्का बुझ्नुपर्छ भन्ने नै कहिल्यै नभएको उनको आरोप छ। आफ्नो स्वार्थबाहेक नेताहरुले अरु केही नदेखेको उनले बताए। राजवंशीले भने, ‘एउटै नेतालाई पटक–पटक पदमा पुर्याउनुपर्ने हामीले, अनि हाम्रै काम नगर्ने।’ पुराना नेताहरुको विकल्प खोज्ने बेला आएको उनले बताए। निर्वाचनबाट त्यो सबक सिकाउन आवश्यक भएको राजवंशीको भनाइ छ।
बेलबारी ८ का ६८ वर्षीय सुविदार राजवंशीका पनि उम्मेदवारसँग ठूला माग छैनन्। उम्मेदवार आउलान् र भनौंला भनेर उनी बसेका छन्। उनको टोलमा कुनै उम्मेदवार पुग्न सकेका छैनन्। उम्मेदवार आए मल, बिउ, सुकुम्बासी समाधानको माग राख्ने उनले बताए। ‘हाम्रा लागि मल, बिउको समस्या ठूलो हो तर नेताहरुले यसलाई सामान्य रुपमा हेरिदिँदा समस्या भयो। उम्मेदवारले किसानलाई प्राथमिकतामा नै राखेनन्। चुनावका समयमा किसानलाई यसो गर्छौं र उसो गर्छौं भन्छन् तर त्यसपछि बिर्सिन्छन्,’ उनले भने, ‘साना साना मागमा पनि उनीहरुको ध्यान नपुग्ने भए उनीहरु गर्छन् चाहिँ के? हरेक जनताले नेतालाई खुरुखुरु मत दिने हैन, प्रश्न गर्नुपर्यो।’
कानेपोखरी ४ माझीगाउँका मानबहादुर माझीको पनि उम्मेदवारसँग ठूलो माग छैन। तर उनको माग पनि नेताहरुले सम्बोधन गर्न सकेका छैनन्। सडक कालोपत्रे होस्, बिजुलीबत्तीको राम्रो प्रवन्ध होस् भन्ने आफ्नो माग रहेको उनले बताए। वर्षौंदेखि धुलाम्मे सडकका कारण स्वास्थ्यमा नै समस्या हुन थालिसकेको तर नेताहरुले कहिल्यै कुरा नसुनेको उनको भनाइ छ। गाउँमा पोल नआउँदा बाँसका खम्बा गाडेर बिजुली बालेको उनले बताए। माझीले भने, ‘चुनावका समयमा बिजुलीको पोल गाड्ने भन्छन्, चुनावपछि हराउँछन्।’ नेताहरुको व्यवहार देखेर दिक्क भएको उनको भनाइ छ। गत वैशाखमा सम्पन्न निर्वाचनका समयमा पनि उम्मेदवारले त्यसैगरी झुक्याएको उनले गुनासो गरे। माझीले भने, ‘निर्वाचन जित्नेहरु गाउँ नै आएका छैनन्, हार्नेहरु त झन् कता गए गए।’
मोरङ केराबारी ८ का जीवन चेम्जुङ नेताहरुकै कारण पार्टीप्रति जनताको वितृष्णा बढेको बताउँछन्। नेताहरु आश्वासन दिने मात्रै भएको उनको भनाइ छ। नेताभन्दा जनता धेरै चलाख भइसकेको उनको बुझाइ छ। चेम्जुङ भन्छन्, ‘ जनतामा अब कसैले काम गर्दैन भन्ने बुझाइ भइसक्यो।’ नेताहरुको व्यवहारका कारण जनता अहिले निर्वाचनमा पनि खासै सहभागी नभएको उनले बताए। चेम्जुङले भने, ‘पार्टीप्रति वितृष्णा छ। चुनावी गतिविधि यस पटक खास छैन।’ जनताले खोजेजस्तो परिवर्तन हुन नसकेको उनले बताए। नेताहरुले जनताको चाहनाअनुसार काम नगर्दा पनि जनतामा निराशा बढेको चेम्जुङको बुझाइ छ।