शुक्रबार, वैशाख १४, २०८१

कुन कलाकार कसलाई माग्दैछन् भोट? सहकर्मी उम्मेदवारलाई भने बेवास्ता

वर्तमान र भविष्यको आँखीझ्याललाई रंगमञ्चको पर्दामार्फत सुसूचित गराएर नाम र दाम कमाएका कलाकार, गायक–गायिकाहरू राजनीतिक पार्टीभित्र ओत लागेसँगै चुनावी मैदानमा उत्रिएका उम्मेदवारलाई भोट मागिरहेका छन्। तर कला क्षेत्रलाई पेसा, व्यवसाय बनाइरहेका आफ्नै सहकर्मी कलाकार चुनावी मैदानमा उत्रिए पनि भोटका लागि कुनै चासो दिएका छैनन्।
 |  सोमबार, कात्तिक २८, २०७९

राज सरगम

राज सरगम

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- ४ मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि नेता– कार्यकर्तासँगै कलाकार पनि चुनावी दौडमा छन्। कोही कलाकारले निर्वाचनमा उम्मेदवारी नै दिएका छन् भने केहीले विभिन्न दलका नेता तथा स्वतन्त्र उम्मेदवारका नाममा भोट माग्दै हिँडेका छन्। घरदैलो तथा चुनावीसभामा सहभागिता जनाइरहेका छन्। विभिन्न पार्टीभित्र खुलेरै राजनीतिक भाषण गर्दै भोट मागिरहेका छन्। कतिपय कलाकारले भने सामाजिक सन्जालमार्फत मन परेका उम्मेदवारलाई भोट दिन जनतासँग अपिल गरेका छन्। 

triton college

गत २५ कात्तिकमा काठमाडौंको वसन्तपुर डबलीमा अभिनेत्री मनीषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावीसभालाई सम्बोधन गरेर सबैको ध्यान तानिन्। उनले आफूलाई राजावादी पार्टी राप्रपामा खुलाउँदै भोट मागिन्। हजुरबा बीपी कोइरालाको विचार राप्रपाले बोकेकाले आफूले साथ दिएको भन्न भ्याइन्। 

काठमाडौं–१ का उम्मेदवार रवीन्द्र मिश्रलाई साथ दिन पुगेकी मनीषाले चुनावीसभालाई थप रोचक बनाइन्। उनले राजनीतिक  भाषण गर्दै भनिन्, ‘हलोमा भोट दिएर उहाँहरू (राप्रपा)लाई अत्यधिक मतले विजय गराउनुहोस्।’

यस्तै, नायिका वर्षा शिवाकोटी काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेकी सोभिता गौतमको चुनावी प्रचारमा हिँडिरहेकी छन्। शनिबार वर्षा सोभिताका लागि भोट माग्दै घरदैलोमा सहभागी भइन्। उनले चुनावी घरदैलोमा आएकी सोभितालाई घन्टी उपहारसमेत दिइन्। 

घन्टी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह हो।

corrent noodles
Metro Mart

सोभितालाई चुनावी प्रचारमा सघाउन मोडल रेश्मा घिमिरेको पनि समर्थनमा खुलेकी छन्। रेश्माले घन्टीलाई हातमा लिएर सोभितासँग फोटो खिचाउँदै भोट मागेकी छन्।

अभिनेता निखिल उप्रेती पनि अहिले चुनावी प्रचारमा खटिएका छन्। पछिल्लो समय अध्यात्म रोजेर फिल्म अभिनयबाट टाढिँदै गएका निखिल सर्लाही क्षेत्र–३ का एमाले उम्मेदवार हरिप्रसाद उप्रेतीलाई भोट मागिरहेका छन्।

प्रतिनिधिसभा सदस्य उम्मेदवार उप्रेती उनका दाइ हुन्। चुनाव प्रचारका क्रममा निखिलले राम्रो काम गर्नेलाई भोट दिन आग्रहसमेत गर्दै आएका छन्।

‘म दाइको चुनावी अभियानमा साथ दिन प्रचारमा हिँडिरहेको छु। म हिँड्नुका पछाडि चुनाव मात्र होइन, मेरो अभियान पनि दर्शकसँग जोडिएको छ,’ उनले भने ‘तपाईंहरूले फिल्म हेरिदिएकाले म निखिल उप्रेती भएको हुँ। त्यसैले मेरो बाँकी जीवन दर्शकको दुःख र पीडामा मल्हम बन्नेछ।’

केही समय अगाडिसम्म ‘अहिलेका राजनीतिक दलबाट देशको विकास सम्भव छैन’ भन्दै अभिव्यक्ति दिने निखिल २०७८ मा देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठन भएको एकीकृत शक्ति नेपालमा जोडिएका थिए। 

एकीकृत शक्ति नेपालले प्रतिनिधिसभा र प्रदेशसभाका लागि विभिन्न क्षेत्रमा उम्मेदवार उठाएको छ। तर उनी एमालेबाट उठेका दाइलाई जिताउने अभियानमा छन्।

लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर तनहुँ क्षेत्र–१ (ख) प्रदेशसभा सदस्य उम्मेदवार पूर्णबहादुर गुरुङका लागि भोट माग्दै छन्। घरदैलो कार्यक्रममा नारा लगाउँदै, नाच्दै, गाउँदै हिँडेकी मगर आक्रामक प्रचार–प्रसारमा देखिएकी छन्।

चुनावी अभियानमा गायिका ज्योति मगर।
एमाले उम्मेदवार गुरुङलाई जिताऔं अभियानमा देखिएकी मगर फोटो सामाजिक सन्जालमा पोस्ट्याउँदै लेख्छिन्, ‘आदिवासी जनजातिको बाहुल्य रहेको तनहुँमा ‘तनहुँ जिल्ला, क्षेत्र–१, (ख) प्रदेशबाट प्रदेशसभाका लागि एमाले उम्मेदवार पूर्ण गुरुङज्यूलाई अत्यधिक मतले विजयी गराउन व्यक्तिगत रूपमा म हार्दिक अपिल गर्न चाहन्छु। आदिवासी जनजातिको बाहुल्य जिल्लाको विकास र समृद्धिका लागि उहाँ एक जनजातिका छोरा भएको हैसियतले उहाँले जित्नु सान्दर्भिक रहन्छ भन्ने मलाई लाग्दछ।’ 

निर्देशक निश्चल बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा खुलेका छन्। त्यसमा पनि रवि लामिछाने नेतृत्वका दलका विभिन्न क्षेत्रका उम्मेदवारलाई खुलेरै सामाजिक सन्जालमा भोट मागिरहेका छन्। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा लागेका निश्चल अहिले स्वतन्त्रभन्दा पनि रविको पार्टीबाट उठेका उम्मेदवारको पक्षमा भोट माग्दै हिँड्नुले उनी राष्ट्रिय स्वतन्त्र पार्टीका अभियन्ताजस्तो लाग्छ।

बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवारलाई भोट मागिरहेका छन्।

घन्टी चुनाव चिह्न लिएबाहेकका उम्मेदवारको पक्षमा मात्रै नभएर डडेल्धुराबाट उठेका स्वतन्त्र उम्मेदवार सागर ढकालको पक्षमा पनि उनी खुलेका छन्। 

डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार छन्। उनी देउवाको विपक्षमा उठेका उम्मेदवारको पक्षमा खुलेका हुन्। उनी सामाजिक सन्जालमा लेख्छन्, ‘तपाईं बढ्ता बोल्दै हुनुहुन्छ’ भन्ने नेता चाहिएको छ कि भविष्यको योजनामा काम गर्न सक्ने जोश र जाँगर भएको सक्षम युवा?’

गत स्थानीय तह निर्वाचनमा निश्चल र उनकी पत्नी अभिनेत्री स्वस्तिमा खड्का खुलेरै काठमाडौं महानगर प्रमुखका उम्मेदवार बालेन्द्र साह (बालेन)को पक्षमा लागेका थिए। निश्चल बालेनको क्याम्पेनरै थिए। उनले चलचित्र क्षेत्रका केही कलाकारलाई बालेनको पक्षमा लाग्न अभिप्रेरितसमेत गरेका थिए।

अभिनेत्री वर्षा राउतले पनि नेकपा एकीकृत समाजवादीबाट महोत्तरी क्षेत्र–१ (क) का प्रदेशसभा उम्मेदवार सुरेशबहादुर राउतलाई जिताउन भोट मागेकी छन्। 

पुराना अभिनेता नीर शाहले कांग्रेस उम्मेदवार प्रदीप पौडेलका पक्षमा खुलेरै भोट मागिरहेका छन्। शाहले काठमाडौं क्षेत्र–५ का मतदातासँग पौडेललाई भोट हाल्न आग्रह मात्रै गरेनन्, उनको खुलेरै प्रशंसासमेत गर्न भ्याए।

‘अहिले यस क्षेत्रले प्रदीप पौडेललाई उम्मेदवारको रूपमा पाएको छ। प्रदीप सुन्दर नेपालको परिकल्पनाकार हुन्। संकुचित सामन्ती सोचलाई पराजित गर्न गठबन्धन गरिएको हो। वैचारिक समुन्नतिको पक्षमा मतदान गर्नुहोला’, उम्मेदवार प्रदीप पौडेललाई भोट गर्न आग्रह गर्दै शाहले भनेका थिए। 

र्‍यापर आशीष राना ‘लाउरे’ले गण्डकी प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार बिन्दुकमार थापालाई मतदान गर्न आग्रह गरेका छन्। थापाको पक्षमा खुलेर मत मागिरहेका लाउरेले सामाजिक सन्जालमा भिडियो सन्देश नै पोस्ट गरेका छन्। थापा गण्डकीका वहालवाला मन्त्रीसमेत हुन्। लाउरेले संविधानले दिएको उम्मेदवार छनोट गर्ने अधिकारलाई ख्यालमा राख्दै आफूले पनि थापालाई भोट दिने निर्णय गरेको उल्लेख गरेका छन्।

हाँस्य कलाकार तथा अभिनेता निर्मल शर्मा कांग्रेस उम्मेदवार गगन थापाको पक्षमा खुलेर लागेका छन्। स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन साहको पक्षमा क्याम्पेन गरिहिँडेका शर्माले यस पटक गगनलाई भोट दिन आग्रह गरेका छन्। काठमाडौं–४ का मतदाता रहेका शर्मा गगनसँगै काठमाडौं–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको चुनावी कार्यक्रममा पनि देखिएका छन्।

विनोद चौधरीको चुनावी सभामा चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका अभिनेता भुवन केसी (दायाँ)।
त्यसैगरी अभिनेता अनुपविक्रम शाही कांग्रेस महामन्त्री गगन थापाको पक्षमा खुलेर लागेका छन्। उनले सामाजिक सन्जालमा थापासँग खिचेको संयुक्त फोटो पोस्ट्याएका छन्। उनी गत साउनमा मात्रै कांग्रेस प्रवेश गरेका थिए।

विभिन्न पार्टीका नेताहरूलाई भोट दिन आग्रह गर्दै आएका गायक, कलाकारले गायिका कोमल वलीलाई भने भोट मागेको देखिँदैन। कोमल वलीले प्रतिनिधिसभा सदस्यका लागि दाङ क्षेत्र–३ मा एमालेबाट उम्मेदवार दिएकी छन्। उनको मुख्य प्रतिस्पर्धामा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार दिपक गिरी रहेका छन्।

यस्तै, नायक तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले उद्योगपति विनोद चौधरीका लागि भोट मागेका छन्। उनले चौधरी  उम्मेदवार भएको नवलपरासी क्षेत्र–१ मै पुगेर भोट मागेपछि निर्वाचन आयोगले स्पष्टीकरणसमेत सोधिइसकेको छ। 

कुनै बेला अभिनयमार्फत दर्शकको रोजाइमा परेका पुराना कलाकार टीका पहाडीले पनि विनोद चौधरीका लागि भोट मागेका छन्। उनले यसपालिको निर्वाचनमा चौधरीलाई मत दिन मतदातासँग आग्रह गरेका छन्।

कला क्षेत्रबाट आएका उम्मेदवारलाई कलाकारले किन मागेनन् भोट?
मन परेका उम्मेदवारलाई भोट माग्न दर्जन बढी कलाकार घरदैलो कार्यक्रम तथा चुनावीसभामा देखिएका छन्। गत स्थानीय तह चुनावमा मेयर पदका लागि गायक बालेनलाई भोट माग्ने सबैभन्दा बढी कलाकार नै थिए। त्यो अनुपातमा गायक, कलाकारहरू प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा उम्मेदवार दिएका कलाकारलाई भोट माग्न खुलेर लागेको कतै देखिँदैन। 

तर लामो समय कलाकारितामा योगदान दिएर राजनीतिक यात्रा तय गरेका विभिन्न पार्टी  र स्वतन्त्रबाट उम्मदेवार दिएका कलाकारलाई अन्य कलाकारले भोट मागेको सामाजिक सन्जालमा समेत खासै देखिँदैन। 

पछिल्लो एक महिनादेखि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र–३ बाट प्रतिनिधिसभा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा घरदैलो कार्यक्रममा व्यस्त छन्।

थापाले आफ्नो क्षेत्रमा कोणसभा गर्दै मतदातासँग भोट मागिरहेकी छन्। उनको कोणसभामा युवा, महिला, वृद्धवृद्धाको उल्लेख्य सहभागिता रहेको देखिन्छ। रेखाले तिनै नयाँ मतदाता, युवा, महिला र वृद्धवृद्धाको साथले यस पटक चुनाव जित्ने बताउँदै आएकी छन्। दर्जन बढी चलचित्रमा अभिनय गरेकी थापालाई चुनावी प्रचारमा सघाउन सेलिब्रिटी कलाकार कहीँ–कतै देखिएका छैनन्। आफ्ना चलचित्रमार्फत थुप्रै युवालाई उनले कलाकार बनाएकी थिइन्। तर यतिखेर एक्लै चुनावी मैदानमा हिँडेकी थापालाई सघाउने कलाकार शून्य देखिए।

चुनावी प्रचारमा मोडल रेश्मा घिमिरे (दायाँ)
दुई दशकसम्म चलचित्र क्षेत्रमा रमाइरहेकी रेखा अहिले राप्रपाबाट राजनीतिमा होमिएकी छन्। कलाकारबाट निर्माता, निर्माताबाट निर्देशक र निर्देशकबाट समाजसेवी हुँदै राजनीतिसम्मको उनको यात्रा निकै रोचक छ। हालसम्म उनले २ सय बढी चलचित्रमा अभिनय गरेकी छन्।

यस क्षेत्रमा गठबन्धनका तर्फबाट कांग्रेस महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनील शर्मा, एमाले उम्मेदवार पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उनको रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

निर्देशक मनोज पण्डित काभ्रे क्षेत्र–२ बाट स्वतन्त्र उम्मेदवार हुन्। उनले दर्जन चलचित्रमा नयाँ अनुहार मात्रै भित्र्याएनन्, कयौं कलाकारलाई स्थापित पनि गरे। राष्ट्रियता र सामाजिक मुद्दालाई चलचित्रका विषयवस्तु बनाउँदै आएका पण्डित घरदैलो कार्यक्रममा व्यस्त छन्। दास ढुंगा, वधशाला, ग्रेटर नेपाल, छायाजस्ता चलचित्र निर्देशन गरेका पण्डितलाई चुनावी प्रचारमा सघाउने खासै कलाकार देखिएका छैनन्। केही कलाकारले अप्रत्यक्ष सघाइरहे पनि घरदैलोजस्ता कार्यक्रममा खुलेर उनका लागि भोट मागेको देखिँदैन। 

डोजर चिन्ह पाएका पण्डितले काभ्रे क्षेत्र–२ बाट एमालेबाट गोकुल बाँस्कोटा र सत्ता गठबन्धनबाट कांग्रेसका शिव हुमागाईंसँग प्रतिस्पर्धा गर्दै छन्।

मनोजले सिने क्षेत्रका साथी, सर्कललाई अपिल गर्दै भनेका छन्, ‘मलाई साथ दिन्छु भन्ने मित्रहरूलाई आग्रह छ। प्रचार–प्रसारको अन्तिम चरणमा तपाईंको भूमिकाले परिवर्तनका लागि धेरै मद्दत मिल्नेछ। मलाई तपाईंको साथको आवश्यकता छ। समय धेरै छैन हामीसँग।’

हाँस्य कलाकार तथा काठमाडौं क्षेत्र–५ का स्वतन्त्र उम्मेदवार हुन्, मधुसूदन पाठक ‘सीते बा’। सुमन सायमी नेतृत्वको लौरो अभियानअन्तर्गत सीते बाले यतिखेर घरदैलो कार्यक्रम गरिरहेका छन्। तर उनको साथमा  सहकार्य गरेका हाँस्य कलाकार खासै देखिएका छैनन्। न त उनको पक्षमा खुलेर बोलेकै छन्। कुन कुलाकारले कसका लागि भोट मागे भन्ने सत्य सामाजिक सन्जालबाट थाहा भइहाल्छ। तर यी उम्मेदवारका लागि कुनै कलाकारले खुलेर भोट माग्दै घरदैलो गरेको देखिँदैन। न त कुनै कलाकारले उनका लाग भोट माग्दै सामाजिक सन्जालमै लेखेका छन्।  

राष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र–१ मा उम्मेदवार दिएका कमेडियन हिमेश पन्त यतिखेर चुनावीसभा तथा घरदैलोमा व्यस्त छन्। घन्टी चिन्हमा भोट माग्दै हिँडेका हिमेशका लागि चुनावी अभियानमा कमेडियन साथीहरूको खासै उपस्थिति छैन। पन्त टिभी रियालिटी शो कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हुन्। 

धादिङ क्षेत्र–१ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको चुनावी क्षेत्र हो भने माओवादीका शालिग्राम जमकट्टेलको पनि सोही क्षेत्र हो। अघिल्लो निर्वाचनमा एमालेका भूमि त्रिपाठी यहाँबाट निर्वाचित भएका थिए।

चर्चित गायक मुरलीधर मिजार कलाकारिताबाट राजनीतिक क्षेत्रमा हाम फालेका छन्। चलचित्रमा अभिनय गर्ने, गीत लेख्ने, धेरै भाषामा गीत गाउने, कम्पोज गर्ने, निर्देशन गर्ने मुरलीधर कला क्षेत्रमा पोख्त मानिन्छन्। 

मुरलीधरले प्रतिनिधिसभा सदस्यका लागि राप्रपाबाट सिरहा क्षेत्र–२ मा उम्मेदवार दिएका छन्। राप्रपाका धेरै नेताहरू लामो समयसम्म सक्रिय रहँदा पनि टिकट नपाइरहेको अवस्थामा मुरलीधरले पार्टी प्रवेश गरेको केही दिनमै सहजै टिकट पाएका थिए। सिराहा–२ मा सत्ता गठबन्धनबाट कांग्रेसकी चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट राजकिशोर यादव चुनावी मैदानमा छन्। समाज र जनताबीच घुलमिल नभएका मुरलीधरले चुनाव जित्न त्यति सहज भने देखिँदैन। अर्कोतिर उनलाई कुनै कलाकारले खुलेर भोट मागेका छैनन्। 

स्टेज कार्यक्रममा हँसाउन माहिर कृष्णकुमार महतो धनुषा क्षेत्र–४ बाट एमाले नेता रघुवीर महासेठ र कांग्रेसका महेन्द्र यादवसँग भिड्दै छन्। महासेठ र यादवसँग प्रतिस्पर्धामा उत्रिएका महतो सामाजिक सन्जालमा छाइए पनि राजनीतिमा सफलता पाउन भने मुस्किल देखिन्छ। उनलाई पनि कलाकारले खुलेर भोट मागेको देखिँदैन । 

काठमाडौं क्षेत्र–१ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका कलाकार सम्राट सापकोटा घरदैलो कार्यक्रममा व्यस्त छन्। चार दशकदेखि नेपाली फिल्म तथा नाट्य क्षेत्रमा सक्रिय सम्राट फिल्ममा अभिनय गरेर दर्शकलाई खुसी पारेजस्तै राजनीतिमार्फत देश र जनतालाई खुसी पार्न उम्मेदवारी दिएको बताउँछन्। उनलाई पनि कुनै कलाकारले खुलेर भोट मागेको कतै देखिँदैन। न त सामाजिक सन्जालमा कसैले भोटका लागि अपिल गरेका छन्। 

प्रकाशित: Nov 14, 2022| 17:08 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...