काठमाडौं- डाक्टरलाई नेपाली समाजले विशिष्ट व्यक्तिका रुपमा हेर्छ। बिरामीको रोग निको पारेपछि जनताले भगवानै ठान्छन्। डाक्टरमा मानवीय संवेदनशीलता तथा चेतन मन हुने भएकै कारण देश, समाज र परिवारबाट सम्मान दर्साइने गरिन्छ।
नेपालकै सन्दर्भमा पनि डाक्टरी पेसालाई अन्य पेसाको तुलनामा सम्मान दिइन्छ। कसैले त्यो सम्मानको इज्जत राख्छन् भने कसैले धनसम्पतिको लोभमा पेसाको दुरुपयोग गर्छन्।
सुन्दा अचम्म लाग्ने घटना रौतहटमा घटेको छ। तीन वर्षअघि वैवाहिक सम्बन्धमा बाधिएका एक जना डाक्टरले दाइजोको लोभमा आफ्नै श्रीमतीलाई पीडा दिएर संवन्ध विच्छेद हुनेसम्मको अवस्था सिर्जना गरेका छन्।
महोत्तरी औरहीकी नेहा चौधरी काठमाडौंको टाइम्स कलेजमा ११ कक्षामा पढ्दा सोही जिल्लाको रामगोपालपुर नगरपालिका–५ का पंकज चौधरीको प्रेम जालमा परिन्। पंकज एमबीबीएस डाक्टर हुन्।
राम्रो परिवारको योग्य पुरुषलाई प्रेमीको रूपमा पाउँदा नेहा सुरुमा दंग थिइन्।
प्रेमको अंकुरो झाँगिएर तीन वर्षमा विवाहमा परिणत हुँदा दुवै खुसी थिए। विवाहमा दुवैका परिवार पनि राजीखुसी भए। सबैको चाहना अनुसार विवाह सम्पन्न हुँदा नेहालाई जीवनमा सुख नै सुख हुन्छ भन्ने लागेको थियो।
विवाहका लागि नेहाका ससुरा सुरेश चौधरीले सम्धीसँग रामप्रवेश चौधरीसँग आफ्नो छोरा पंकजलाई डाक्टरी पढाउन लागेको ५१ लाख मागे। त्यो रकम नेहाको परिवारले पनि सहजै दियो।
काठमाडौंका ग्रान्डी र नर्भिक अस्पतालमा काम गर्ने डाक्टर श्रीमान् पाएपछि खुसी भएकी निहाको मुस्कान धेरै दिन टिक्न सकेन। कारण थियो- उही दाइजो।
कानुनत: विवाहमा दाइजो दिने चलन वर्जित छ। तर, नेहाको परिवारले पंकजलाई छोरीको खुसीका लागि भन्दै करोडौं रकम दाइजोका रुपमा खर्चियो। ६ फागुन २०७७ मा औंठी साटासाट गरेका उनीहरूले त्यसको एक वर्षपछि २५ फागुन २०७८ मा लगनगाँठो कसे। त्यो पनि जनकपुरकै ठूलो राजदरबार होटलमा।
नेहाका बाबु रामप्रवेशले विवाहमा २० तोला सुन, टीभी, दराज फर्निचरसहितको सरसमान दिँदा करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरे। उनी ठूलो व्यापारी वा जमिनदार थिएनन्। सामान्य शृंगारको पसल थियो। सोही पसलबाट उनले घर र छोराछोरीको पढाइ खर्च जुटाउँदै आएका थिए। मन पराएको केटासँग विवाह गर्ने छोरीको अड्डीपछि रामप्रवेशले एक ठाउँको घर र दुई ठाउँको जग्गा बेचेर दाइजोको जोहो गरे। पंकजको परिवारलाई मागेजति दाइजो दिएर खुसी पारे।
काठमाडौंका ग्रान्डी र नर्भिक अस्पतालमा काम गर्ने डाक्टर श्रीमान् पाएपछि खुसी भएकी निहाको मुस्कान धेरै दिन टिक्न सकेन। कारण थियो- उही दाइजो। विवाहको दुई महिनासम्म घर परिवार तथा पंकजले राम्रै व्यवहार गरे।
दुई महिनापछि पंकजको परिवारले नेहालाई थप दाइजोको माग गर्दै मानसिक यातना दिन थाल्यो। नेहाको विवाह भएको दुई महिनापछि सासु–ससुरा अमेरिका गए। नेहा श्रीमान् पंकजसँगै पढाइलाई निरन्तरता दिन काठमाडौं आउन चाहे पनि पाइनन् र महोत्तरीमै बसिन्।
नेहा नन्द रेखासँगै महोत्तरीमा बस्थिन्। सो क्रममा उनले हरेक दिन आफ्ना बुवा-आमासँग भाउजूबारे गलत कुरा लगाउँथिन्। उनले आफ्नो पीडा श्रीमान् सामु नराखेकी पनि होइनन्। तर, पंकजले आग्रह सुन्नुको साटो नेहालाई अपमान गर्दै कुटपिट गर्न थाले।
घरमै बस्दा पनि नन्द र सासुले आफूमाथि शंका गरेर तनाव दिएको नेहाको दुखेसो छ। घरमा नन्द र सासु ससुराले तनाव दिएपछि श्रीमानलाई काठमाडौं लैजान पटक-पटक आग्रह पनि गरिरहिन्। आफूलाई क्याम्पस भर्ना गरिदिन विन्ती विसाइन्। पंकजले श्रीमतीको कुरा कहिले सुनेनन्।
नेहालाई घरमा मोबाइ चलाउनसमेत रोक लगाइयो। काठमाडौंबाट बिदामा घर जाँदा पंकजले निहालाई दाइजोको नाममा कुटपिट र यातना दिन्थे। श्रीमानको कुटाइबाट नेहाको पिसाबबाट रगत बग्न थाल्यो। यो कुरा घरपरिवारलाई भन्दा हाँसेर मजाको विषय बनाउँथे। श्रीमान्को व्यवहार पनि उस्तै हुन्थ्यो।
घरपरिवार र श्रीमान्बाट यातना खेप्दै आएकी नेहाले प्रहरीलाई खबर गर्छु भनेपछि झनै अर्धचेत हुने गरी कुटाइ खाइन्। हात बाँधेर ताल्चा लगाएर कोठाभित्र थुनिनुपर्यो।
पटक-पटकको तनावपछि नेहाको घरमा आएर आमा र भाइले उनलाई माइतीघर लगे। श्रीमान्को कुटाइबाट घाइते भएकी नेहा माइतीघरबाट रौतहटको स्थानीय मेडिकलमा जाँच गराउन गइन्। त्यहाँ उपचार सम्भव नभएपछि उनी जनकपुरको अस्पताल गइन्। चिकित्सकले एक साता अस्पताल बसेर उपचार गर्न सुझाव दिए। तर परिवारको डरले नेहा अस्पताल भर्ना हुन सकिनन्।
जसोतसो औषधि गरेर माइतीमा बसिरहेकी नेहालाई एक दिन श्रीमानको फोन आयो। उनले नेहालाई घर जान भने। काठमाडौंमा रहेका श्रीमान्लाई आफ्नो माइती आएर सँगै लैजान भनिन्। तर, पंकजले उल्टै सासुससुरालाई फोनमा धम्की दिँदै नेहालाई आफ्नो घरमा पस्न नदिने चेतावनी दिए।
घरपरिवार र श्रीमान्बाट यातना खेप्दै आएकी नेहाले प्रहरीलाई खबर गर्छु भनेपछि झनै अर्धचेत हुने गरी कुटाइ खाइन्। हात बाँधेर ताल्चा लगाएर कोठाभित्र थुनिनुपर्यो।
त्यसपछि नेहा ४ कार्तिकमा घरेलु हिंसाको निवेदन लिएर प्रहरीसामु पुगिन्। प्रहरीसँगको छलफलका क्रममा पंकजले नेहालाई स्वीकार्न नसक्ने अड्डी कस्दै सम्बन्ध विच्छेद गर्ने बताए।
नेहालाई सम्बन्धविच्छेद गर्नु थिएन। नेहाले प्रेमको बन्धन नतोड्न आग्रह गर्दा पंकजले प्रहरी कार्यालयमै कुटे। त्यसपछि पंकजलाई प्रहरीले दुई दिन थुनामा राख्यो। २० मंसिरपछि नेहालाई घर लैजान्छु भनेपछि प्रहरीले पंकजलाई थुनामुक्त गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेहाले पंकजविरुद्ध घरेलु हिंसाविरुद्धको जाहेरी दिएकी छन्। थुनामुक्त भएलगत्तै पंकजले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरे। नेहाले पंकजविरुद्ध अंशमुद्दा दिए पनि मुद्दा दर्ता गर्नुअघि नै श्रीमान्का ससुराले सबै सम्पत्ति छोरीको नाममा बकसपत्र गरिदिए।
आफूमाथि अन्याय भएको भन्दै गत शुक्रबार फेसबुकमा नेहाले लामो स्टाटस लेखिन्। जसले सामाजिक सञ्जालमा धेरै चर्चा मात्रै बटुलेन, डाक्टर श्रीमान् पंकजमाथि कारबाही हुनुपर्ने मागसमेत उठ्न थालेको छ।
उता नेहाले पनि अब आफू कानुनी लडाइँबाट पछि नहट्ने बताएकी छन्। आफूले लामो समयदेखि यातना सहँदा पनि श्रीमान्ले नबुझेपछि कानुनी उपचार खोज्नु परेको उनको दुखेसो छ।