काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेमाथि आक्रमण भएको छ। सो पार्टीका प्रवक्ता मुकुल ढकालले घरदैलोका क्रममा शनिबार दिउँसो आफूहरुमाथि प्रहार भएको बताएका छन्।
‘निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने राज्य मूकदर्शक बनेको छ। शान्तिसुरक्षा कायम गर्नमा राज्य सञ्चालनमा बसेकाहरूको असक्षमता फेरि एकपटक उदांगो भएको छ। हाम्रा पाइलाहरू रोक्न जेजस्तो प्रहार भए पनि हामी रोकिन्नौं,’ उनले भने।
आक्रमण भएपछि प्रहरीसामु रविले प्रहरीले सुरक्षा दिन नसकेको र आफू चितवनमा सुरक्षित नभएको बताएका छन्।
लामिछानेको नेतृत्वमा कुरिनटारबाट नारायणगढतर्फ अघि बढेको टोलीमाथि फिस्लिङतर्फ गइरहेको गठबन्धनको चुनावी र्यालीबाट आक्रमण भएको सो पार्टीका नेता दीपक बोहराले बताएका छन्।
रवि लामिछानेको पछाडि रहेको अर्को गाडीमा गठबन्धन कार्यकर्ताले ढुंगामुढा प्रहार गर्दा गाडी क्षतिग्रस्त भएको र एक जना कार्यकर्ता घाइते भएको बोहराले जानकारी दिए।
घटनालगत्तै उम्मेदवार लामिछानेले आक्रमणकारी गठबन्धनका कार्यकर्तालाई प्रहरीले सुरक्षा दिएर लगेको र त्यसपछि पनि ती व्यत्ति चुनावी र्यालीमा रहेको बताएका छन्। उनले आक्रमणलाई आफूमाथिको आक्रमणका रूपमा लिएको भन्दै सत्ताको आडमा अपराध भएको आरोप लगाए।
उनले कुटपिट र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गरेका छन्।