बनियानी- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नं ३ मा राजतन्त्र र गणतन्त्रबीचको लडाइँ नभएको बताएका छन्। भद्रपुरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘राजतन्त्र र गणतन्त्र साधन हो, साध्य होइन, राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै बाटो हो, जसको मूल ध्येय जनताको समृद्धिसँग जोडिएको छ।’
राजतन्त्र र गणतन्त्र दुई भिन्दाभिन्दै व्यवस्था भएको उल्लेख गर्दै उहाँले जनताको शान्ति, समृद्धिको चाहनालाई स्थापित गर्न विचारअनुसार आआफ्नो मार्ग पहिल्याएर अघि बढेको बताए।
‘कसैलाई एउटा बाटो मन पर्छ, कसैलाई अर्कै’, झापा क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका उनले भने, ‘हामी आआफ्नो विचार र आस्था लिएर अघि बढेका छौं, गन्तव्य सबैको एउटै ध्यय हो, बाहिर चर्चा भएजस्तो यहाँ राजतन्त्र र गणतन्त्रबीचको लडाइँ कदापि होइन।’
झापा ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल जनताको समृद्धिका लागि नै भएको उनको भनाइ छ। आफ्नो चुनावी जित सुनिश्चित भएको उनको भनाइ छ। मुलुकमा सुशासन र व्यवस्था परिवर्तनको अपेक्षा राख्ने सबै मतदाताले आफूलाई मतदान गर्ने उनले बताएका छन्।
विसं २०७४ को निर्वाचनमा जितेपछि झापा ३ को विकास र समृद्धिका लागि धेरै काम गरेको उनको दाबी छ। ‘हल्दिबारी, कचनकल लगायतका बासिन्दाले कालोपत्र हेर्न बिर्तामोड र भद्रपुरका केही छिटफुट ठाउँ पुग्नुपर्ने स्थिति थियो’, उनले भने, ‘अहिले गाउँ-गाउँमा कालोपत्र सडक विस्तार भएको छ तर मैले केही गरिन भन्ने भ्रम छरिएको छ।’