काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणा भन्दै कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्रप्रसाद रिजालको नेतृत्वमा सांसद र जिल्ला सभापतिहरूको १४ सदस्यीय टोली चीन पुगेको छ।
बुधबार चीन पुगेको टोली २ असोजसम्म विभिन्न कार्यक्रममा सहभागी हुने तालिका छ। सीपीसीले कांग्रेसको शीर्ष नेतृत्वलाई निमन्त्रणा गरे पनि त्यस सम्बन्धमा पार्टी कार्यालयमा कुनै जानकारी छैन।
सीपीसीले लिखित, मौखिक र इमेलबाट समेत कांग्रेस टोलीलाई निमन्त्रणा गरेको रेकर्ड पार्टी कार्यालयमा देखिँदैन। कार्यालयका एक कर्मचारी भन्छन्, ‘चीनबाट कसलाई, कहिले र के निमन्त्रणा आएको भन्ने रेकर्डमा कतै देखिँदैन।’ उनका अनुसार केन्द्रीय कार्यालयमा चिनियाँ दूतावास वा चीनबाट कुनै औपचारिक निमन्त्रणा आएको छैन।
स्रोतका अनुसार केन्द्रीय सदस्य सुजाता कोइरालाले आफूलाई कांग्रेस विदेश विभाग प्रमुखको हैसियतमा चिनाउने गरेकी छन्। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले छोरी सुजातालाई विदेश विभाग प्रमुख बनाएका थिए। गिरिजाप्रसादको निधनपछि कांग्रेसका दुई वटा महाधिवेशन भइसकेका छन्। तर, कांग्रेसको विदेश विभाग खाली भएको २९ महिना भइसकेको छ। ०७२ सालमा भएको १३ औं महाधिवेशनयता कांग्रेसका कुनै विभाग गठन भएका छैनन्।
कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँड भने सीपीसीले पार्टीको विदेश विभागलाई निमन्त्रणा गरेबमोजिम सांसदहरू चीन गएको बताउँछन्।
टोलीमा कांग्रेस केन्द्रीय सदस्य तथा सांसदत्रय सरिता प्रसाईं, किशोरसिंह राठौर र लक्ष्मी परियार, सांसदहरू प्रकाश रसाइली, रामबहादुर बिष्ट र देवप्रसाद तिमल्सेना, रोल्पा सभापति अमरसिंह पुन, महाधिवेशन प्रतिनिधि बलदेव तिमिल्सिना तथा कांग्रेसमा कुनै औपचारिक पहिचान नभएका लक्ष्मी क्षत्री पाण्डे र गणेश मण्डल छन्।
आफैं विदेश विभाग प्रमुख भन्दै निमन्त्रणा मगाउने र लिने केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टी नेतृत्वलाई ‘क्रस’ गरेको बताउँदै महामन्त्री पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवासँग गुनासोसमेत गरेका थिए। तर, अर्का महामन्त्री डा. शशांक कोइरालाले सुजातालाई चित्त दुख्ने बताउँदै निमन्त्रणा नरोक्न आग्रह गरेका थिए।
सुजाताले आफूलाई आएको निमन्त्रणामा आफू नगई महामन्त्री डा. कोइरालाको निकटस्थ मानिएका डा. रिजाललाई नेतृत्व गरी चीन पठाएकी हुन्। टोलीमा अधिकांश वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक छाडेर चीन उडेको यस टोलीको विषयलाई लिएर पार्टीका अन्य पदाधिकारीहरूले पनि गुनासो गरेका छन्।
सीपीसीले हरेक वर्ष आपसी अनुभव आदानप्रदान र सम्बन्ध बढाउने उद्देश्यले नेपालका विभिन्न पार्टीका नेता/कार्यकर्ताहरूलाई भ्रमणमा निम्त्याउने गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४