चितवन– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत र सहायक मतदान अधिकृतको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्।
शनिबार चितवनका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि भरतपुरमा निर्वाचन आयोगले आयोजना गरेको तालिमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्।
उनले भने, निर्वाचनमा कसैको प्रलोभन, डर, त्रास, धम्की वा अवरोधबाट माथि उठेर मतदाताले विवेकको मत हाल्न पाउने वातावरण सिर्जनाका लागि प्राप्त जिम्मेवारीलाई तटस्थ, इमानदार र निष्पक्ष भएर काम गर्नुहोला।’
उनले मतदाताको सार्वभौम मतको उपयोगलाई सहज रूपमा गर्न दिने र गलत व्यक्तिले मतदान गर्ने अवस्था आउन नदिने तथा मतदान केन्द्रलाई समावेशी, लैंगिक तथा अपांगतामैत्री बनाउन १ मंसिरसम्म सम्बन्धित केन्द्रमा पुगेर खट्न आग्रह गरे।
कार्यक्रममा चितवनका मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, जिल्ला निर्वाचन अधिकारीलगायत सहभागी थिए।