सोमबार, असार ८, २०८३

नुवाकोटका राजनीतिक दलले गरे आचारसंहिता पालना गर्ने प्रतिबद्धता

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने क्रम बढेपछि राजनीतिक दल र उम्मेदवारलाई भेला गराएर नुवाकोट प्रशासनले ११ बुँदे प्रतिबद्धतामा गरायो हस्ताक्षर।
 |  शनिबार, कात्तिक २६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २६, २०७९

नुवाकोट– नुवाकोटका राजनीतिक दल र उम्मेदवारले आगामी आमनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सामूहिक प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यका लागि ४ मंसिरमा हुने निर्वाचनमा आचारसंहिता उल्लंघन हुने क्रम बढेपछि राजनीतिक दल र उम्मेदवारलाई नुवाकोट प्रशासनको आह्वानमा सर्वदलीय–सर्वपक्षीय बैठकमार्फत ११ बुँदे प्रतिबद्धता जनाउन लगाइएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।

National life

उनका अनुसार जिल्लाका राजनीतिक दल, उम्मेदवार तथा उनीहरूको प्रतिनिधिले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रतिबद्धतापत्रमा सामूहिक हस्ताक्षर गरेका छन्। ‘आगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो पक्षबाट निर्वाह गर्नुपर्ने भूमिकाको पालना गर्न सहमत छौं’, नुवाकोटमा क्रियाशील राजनीतिक दल र उम्मेदवारले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रमा भनिएको छ, ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, विश्वसनीय र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सहयोग गर्दै निर्वाचन प्रचार–प्रसारसम्बन्धी कार्यक्रमको जानकारी प्रशासन–प्रहरीबाट अनुमति लिएर मात्र गर्नेछौं।’

मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदान स्थल निर्माण, सुरक्षा व्यवस्थापन, सरोकारवालासँगको बैठक सञ्चालनमा सहयोग गर्ने उनीहरूले प्रतिबद्धता जनाएका छन्।  निर्वाचनका क्रममा हुन सक्ने झैझगडा नियन्त्रण गर्न आफ्ना चुनावी कार्यक्रममा एकअर्काका कार्यकर्तालाई उत्तेजित बनाउने कार्य नगर्ने तथा अपराधजन्य कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न सहयोग पुर्‍याउने दल र उम्मेदवारले प्रतिबद्धता जनाएका छन्।   

दलहरूले निर्वाचनमा सहभागी हुने क्रममा उम्मेदवारको बुथ प्रतिनिधिसभा तथा मतगणना प्रतिनिधिको नाम समयमै उपलब्ध गराउने, मतदानको मौन अवधिमा प्रचार–प्रसार नगर्नेसहित निर्वाचन आचारसंहितामा तोकिएका सर्तको पूर्ण पालना गर्न ऐक्यबद्धता जनाएका छन्। 

आचारसंहिता अनुसार अनुमति प्राप्त सवारीसाधन मात्रै सञ्चालन गर्ने, मतपेटिका संकलन तथा मतगणना कार्य सहज बनाउन र मतदानका दिन मतदातालाई प्रभाव पार्ने, मतदानलाई बिथोल्ने कार्य नगर्ने सहमति जनाएका छन्।

Shivam cement

आमनिर्वाचनअन्तर्गत नुवाकोटमा चुनावी प्रचार–प्रसारको क्रममा दल र उम्मेदवारले १७ कात्तिकेपछि आचारसंहिता उल्लंघनका गतिविधि मौलाएसँगै प्रशासनले दोस्रो पटक आचारसंहिता पालना गराउन प्रतिबद्धता जनाउन लगाएको हो। यसअघि गत २१ असोजमा राजनीतिक दलका प्रतिनिधिलाई आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता गराइएको थियो।  

त्यसपछि जिल्लामा प्रचार–प्रसारको क्रममा मापदण्ड विपरीत प्रचारका सामग्री टाँस गर्ने, हुलहुज्जत हुने गरेर सभा सम्मेलन गर्ने, सभा सञ्चालन तथा सवारीसाधन प्रयोगमा अनुमति नलिनेलगायत उजुरी बढेपछि दल र उम्मेदवारको ध्यानाकर्षण गराइएको हो। 

राजनीतिक दल र उम्मेदवारबाट सामूहिक रुपमा जनाएको प्रतिबद्धताको पालना हुनेमा विश्वस्त रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए। ‘आचारसंहिताको पालना गर्दै सौहार्दपूर्ण वातावरणमा चुनाव गराउन दल र उम्मेदवारले जनाएको ऐक्यबद्धताले आमनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग पुग्छ’, प्रजिअ रिसालले भने, ‘निर्वाचनका लागि सुरक्षा प्रबन्ध, कर्मचारी परिचालनसहित आवश्यक सामग्री व्यवस्थापन अन्तिम चरणमा पुगेको छ।’

नुवाकोटमा आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि ६३ उम्मेदवार प्रतिस्पर्धामा छन्। २ लाख ३९ हजार ७२६ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार पद गरी ६ पदका लागि निर्वाचन हुँदै छ।   -रासस

प्रकाशित: Nov 12, 2022| 14:11 शनिबार, कात्तिक २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...