रौतहट- नेपाली नक्कली नोट र अवैध हतियारसहित प्रहरीले रौतहतबाट ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका ७ का वर्ष २३ का राजाराम साह, देवाहिगोनाही ६ का वर्ष २० का धीरज जयसवाल, बारा आदर्ष कोतवाल गाउँपालिका ६ का वर्ष २५ का सोनु भन्ने आनन्द कुश्वाहा, वर्ष ४५ कि प्रतिमा देवी कुश्वाहा, वर्ष २२ कि अम्रीता कुमारी, वर्ष १९ का ब्रीजकिशोर मुखिया रहेका छन्।
उनीहरूको साथबाट नेपाली हजारको नोट ८७ थान, १ थान कटुवा पेस्तोल , ना. ३३ प. २४५१ नं. को होन्डा साईन मोटरसाइकल र ना. ३ पं. १६८१ नं.को बजाज बक्सर मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ठाडामगरले बताए।
मौलापुर ७ मा नेपाली नक्कली नोटको कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मौलापुरको टोलीले राजाराम साहको घरमा शुक्रबार छापा मारेको थियो।
उनको घरमा खानतलासीको क्रममा गर्दा नक्कली नोटका साथै भित्तामाथि लुकाई राखेको कटुवा पेस्तोल थान ए बरामद भएको प्रहरीको भनाइ छ।
सो क्रममा स्थानीयले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो। ढुंगामुढाबाट दुई जना म्यादी प्रहरी सहित ६ जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ।