सोमबार, भदौ २२, २०८३

काठमाडौं- ३ मा पुराना राई र नयाँ चालिसेबीच प्रतिस्पर्धा

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं- मुलुकमा अहिले चुनावी रौनक बढेको छ। चुनावको मिति नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नं ३ मा पनि  चुनावी माहौल बढेको हो। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यो क्षेत्रमा पुराना र नयाँ नेताबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यस  क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि आठ र स्वतन्त्रसहित २३ उम्मेदवार प्रतिस्पर्धामा छन्।

यहाँ नेकपा एमालेको तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए। उनले १९ हजार एक सय ६९ मत प्राप्त गरेका थिए। राई अहिले एक्लै चुनावी मैदानमा छन्। त्यतिबेला माओवादीको साथ पाएका राईलाई गत स्थानीय तहको मत परिणामले पनि यसपटकको निर्वाचनमा चुनौती थपिदिएको छ। माओवादीका बद्रीप्रसाद बजगाईँले पनि उम्मेदवारी दिएका छन्। 

कांग्रेसका चालिसेले काठमाडौँ उपत्यका तथा आफ्नो क्षेत्रमा भएको खानेपानीको समस्या दीर्घकालीनरूपमा समाधानका लागि आवश्यक पहल गर्ने मुख्य लक्ष्य लिएका छन्। विकास निर्माणसँग जोडिएका सडक, ढल र खानेपानीको निकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने पनि उनको प्रतिबद्धता छ। उम्मेदवार चालिसे गोकर्णेश्वर नगरपालिकाका पूर्वप्रमुख हुन्। आफू प्रमुख हुँदा विकास निर्माण र जनपक्षीय काम गरेकाले पनि आफ्नो जित निश्चित भएको उनको जिकिर छ।

एमालेका राई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारासहित चुनावी मैदानमा होमिएका छन्। समाजवादउन्मुख समाज निर्माणको अभियानमा लाग्ने अठोट लिएका उनी अब समाज समाजवादउन्मुख हुनुपर्ने बताउँछन्। सामाजिक र सांस्कृतिक परिवर्तनसहितको समाज बनाउनुपर्नेमा उम्मेदवार राईको जोड छ। एमालेको योजनाअनुसार गोकर्णेश्वरलाई सुविधासम्पन्न नगरपालिका बनाएर जनताको जीवनस्तर उच्च बनाउने आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा काठमाडौँ महानगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका गरी कुल १३ वडा समेटिएका छन्। तीमध्ये कांग्रेस पाँचवटा काठमाडौँ वडा नं ६, गोकर्णेश्वर ५, ८, ९ र कागेश्वरीको २ नं वडामा विजयी भएको थियो।

एमालेले सात वडा गोकर्णेश्वरका १, २, ३, ६, ७, सोही क्षेत्रअन्तर्गत पर्ने कागेश्वरीको १ र ३ वडामा विजयी हासिल गरेको थियो। त्यस्तै स्वतन्त्रले पनि गोकर्णेश्वर-४ वडामा विजयी हासिल गरेको थियो। कांग्रेसका वडाध्यक्षहरूले १५ हजार सात सय ९५ मत पाएका थिए भने एमालेका वडाध्यक्षहरुले १४ हजार आठ सय ७६ मत प्राप्त गरेका थिए। माओवादीका वडाध्यक्षहरूले एक हजार छ सय ८७ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का वडाध्यक्षहरूले एक हजार ५६ मत प्राप्त गरेका थिए।

उक्त क्षेत्रमा एमालेका राई, कांग्रेसका चालिसे, माओवादीका बजगाईँसँगै राप्रपाबाट गणेश गिरी, नेमकिपाबाट बिशोक डङ्गोल, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीलगायतको उम्मेदवारी परेको छ। सो क्षेत्रको प्रतिनिधिसभा सदस्यका लागि दिनेश खड्का, कविता विष्ट सुनार, दिनेश खनाल, निरञ्जन पुडासैनी, जगन्नाथ देवकोटा, श्रीकृष्ण ज्योति, बिन्दु मगर, राजेश विष्ट, केदारनाथ मिश्रको स्वतन्त्र उम्मेदवारी रहेको छ।

प्रतिनिधिसभा निर्वाचन काठमाडौँ क्षेत्र नं ३ मा ५८ हजार आठ सय ८९  मतदाता छन्। तीमध्ये २८ हजार आठ सय पाँच पुरुष र ३० हजार ८४ महिला मतदाता छन्। उक्त क्षेत्रमा २९ मतदानस्थल र ६८ मतदान केन्द्र निर्धारण गरिएको छ।  -रासस

प्रकाशित: Nov 11, 2022| 18:50 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...