काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ४ मंसिरमा हुने निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्रमा केन्द्रित भएर समाचार संकलन र सम्प्रेषण गर्न पत्रकारलाई सुझाएका छन्।
शुक्रबार ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७९ का सन्दर्भमा गोरखापत्र संस्थानले चितवनको सौराहामा आयोजना गरेको ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रम उद्घाटन गर्दै प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन्।
आयोगले २५ मंसिरमा दिएको निर्देशनबमोजिम मतदाता शिक्षा सञ्चालन, समावेशी, लैंगिक तथा अपांगतामैत्री मतदान केन्द्र बनाउन निर्देशन एवं सुरक्षा प्रबन्धका विषयमा सूक्ष्म रिपोर्टिङ हुनुपर्ने उनले औंल्याए।
उनले निर्वाचन तयारीको लगभग अन्तिम चरणमा पुगेकाले कर्मचारी व्यवस्थापन गरेर मतपेटिकासहित मतदान स्थलतर्फ जाने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। १ मंसिर बेलुकीसम्म सबै कर्मचारी र सामग्री मतदान स्थलमा पुगे÷नपुगेको विषयमा रिपोर्टिङ हुनुपर्ने र पत्रकारले चाहेको सूचना उपलब्ध गराउन आयोग तयार रहेको उनको भनाइ छ।
बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्नेमा सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खाले आश्वासन दिइएको पाइएको उनले सुनाए। निर्वाचनलाई राष्ट्रिय एकताको सूत्रमा बाँधेर पाँच वर्ष मुलुकलाई कता लग्ने हो भन्ने सन्देश प्रवाह गर्ने काम पत्रकारको भएको उनले बताए।
‘हामी सबैले आफ्नो इमानदारी कायम गरौं। निर्वाचन आचारसंहिताको कहीँ–कतै उल्लंघन नहोस्, उल्लंघनका समाचार बाहिर आउन्। नागरिकलाई शान्त दिमागले मतदानको वातावरण र कर्तव्यबोध गराउने खाले समाचार प्रवाह होस्’, प्रमुख आयुक्त थपलियाले भने, ‘पत्रकारहरूले आचारसंहिताको कति पालना गरेका छन्, त्यसको लेखाजोखा होस्। सबै दल र उम्मेदवारलाई समान पहुँच र स्थान दिइएको छ कि छैन भन्ने विषयलाई पनि आत्मसात् गर्नुहोला।’
प्रमुख आयुक्त थपलियाले मतदानका दिन र मतगणना कार्यको समाचार प्रवाह गर्दा प्रवद्र्धनात्मक र मतदातालाई तथ्य जाँचसहित सही सूचना दिनुपर्नेमा जोड दिए।