चितवन- दुईवटा सवारी एकआपसमा ठोक्किँदा चितवनमा दुई जनाको ज्यान गएको छ।
भरतपुर महानगरपालिका-१५ रामपुर कृषि क्याम्पस अगाडिको सडकमा बिहीबार साँझ यात्रु बोक्ने सानो गाडी म्याजिक भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको निधन भएको हो। ज्यान गुमाउनेमा एक जना मोटरसाइकलका चालक र अर्का व्यक्ति म्याजिकका यात्रु रहेका छन्।
बिहीबार साँझ साढे सात बजेतिर भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना१ज ५६०५ नम्बरको म्याजिक भ्यानले भरतपुरतर्फ आउँदै गरेको ना३३प २५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए।
ठक्करपछि घाइते भएका म्याजिकका यात्रु स्याङ्जाका २४ वर्षीय नविन नेपालीलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै निधन भएको प्रहरीको भनाइ छ।
त्यसैगरी गम्भीर घाइते भएका मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका–५ का ४० वर्षीय यज्ञ शर्माको उपचारको क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा निधन भएको हो। घटनामा अन्य दुई जना घाइते भएकोमा उनीहरूको अवस्था सामान्य रहेको छ।