काठमाडौं- मोरङको बेलबारी नगरपालिका-१ ढुकुरो चोकमा गएराति आगलागी हुँदा दुई जना घाइते भएका छन्।
गएराति पौने २ बजे डबलबहादुर खाण ठकुरीको तीन तले पक्की घरमा आगलागी हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर उनका ३० वर्षका छोरा भुषण ठकुरी र २८ वर्षकी बुहारी नमिता ठकुरी घाइते भएको प्रहरीको भनाइ छ। उनीहरूको शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको छ। आगलागीमा झन्डै चार करोड रुपैयाँ बराबरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीका कारण घरका सबै सामग्री जलेर नष्ट भएको छ। घरको सटरमा हार्डवेयर पसल रहेको र पसलमा रहेको नगद चार लाख रुपैयाँ सहित सबै सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। यस्तै, घरमा रहेको एउटा मोटरसाइकल पनि जलेको छ।
आगो निभाउन विराटनगर महानगरपालिका, उर्लाबारी नगरपालिका, इटहरी उपमहानगरपालिकालगायतका पालिकाबाट दमकल गएको थियो । ९ वटा दमकल, प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा राति साढे ३ बजेतिर आगो निभाइएको प्रहरीको भनाइ छ।
विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने अनुमान गरिएको छ।