शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार :  प्रहरीले नै नष्ट गर्‍याे निर्मलाको हत्या प्रमाण

आजका अखबार :  प्रहरीले नै नष्ट गर्‍याे निर्मलाको हत्या प्रमाण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित अधिकांश राष्ट्रिय दैनिक अखबारहरुले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका आमा–बुवा न्याय माग्दै काठमाडौं आएको विषयलाई मुख्य समाचार बनाएका छन् । 

छोरीको हत्या भएको ढेड महिना बित्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेपछि उनीहरु आफै काठमाडौं आएर न्यायको खोजी गर्न थालेका हुन् । प्रहरीले अनुसन्धानका नाममा निर्दोष ब्यक्तिहरुलाई समात्ने र यातना दिने काम गरेको भन्दै निर्मलाका बुवा आमाले बास्तविक दोषि उम्काउने खेल भएकाले आफूहरु न्यायका लागि काठमाडौं आएको बताएका छन् ।

उनीहरुले प्रहरी अपराधी समात्ने भन्दा आफै प्रमाण नष्ट गर्न तर्फ उद्दत भएको दाबी गरेका छन् । कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट र उनको टोलीले  प्रमाण नष्ट गर्ने भन्दा अर्को कुनै पनि काम नगरेको उनीहरुको जिकीर छ । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले 'निर्मलाका बा–आमा न्याय माग्न काठमाडौं : प्रहरीबाटै प्रमाण नष्ट' शीर्षकमा खबर छापेको छ । नागरिक दैनिकले भने 'निर्मला हत्या प्रकरण : एसपी र डिएसपीको डिएनए जाँच गर्न माग' शीर्षमा खबर लेखेको छ । नयाँ पत्रिकाले 'प्रधानमन्त्रीलाई निर्मलाकी आमाको प्रश्न' शीर्षकमा खबर प्रकाशित गरेको छ । अन्नपूर्णले भने यो विषयलाई पहिलो पृष्ठमा स्थान दिएको छैन् । 

एसपी र डिएसपीको डिएनए जाँच गर्न माग

नागरिक दैनिक प्रकाशित खबरअनुसार निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्। 

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।

‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन्। एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन्।

 ‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’


यो विषय बाहेक आजको नयाँ पत्रिकाले डलरको मूल्य वृद्धिको विषयमा विशेष खबर लेखेको छ । 'डलर उग्र'शीर्षकमा खबर छापेको उसले डलर बढ्नु वा घट्नुमा नेपालको भूमिका नरहेको उल्लेख गरेको छ । भारु कमजोर हुँदा स्वतः नेरु कमजोर हुने गरेको समाचारमा जनाइएको छ ।  

डलर बढ्दा हुने सकारात्मक र नकारात्मक असरलाई पनि नयाँ पत्रिकाले केलाएको छ । सकारात्मक पक्षमा रेमिट्यान्स बढ्छ, ब्याजदर घट्न सक्छ, निर्यात बढ्न सक्छ र पर्यटनबाट आय बढ्न सक्छ । यस्तै नकारात्मक पक्षमा महँगी बढ्न सक्छ, ऋणको दाहित्व बढ्छ र आयोजना महँगो हुन्छ । 

यस्तै नयाँ पत्रिकाले पार्टी एकता टुङ्ग्याउन नेकपाले थप मापदण्ड बनाउँदै शीर्षकमा खबर लेखेको छ भने काभ्रेमा सामुदायिक अस्पतालको एम्बुलेन्समा चामल ढुवादी हुने गरेको खुलासा गरेको छ । 
अन्नपूर्ण पोस्ट्ले नयाँ मुलुकी ऐन लागू भएपनि फैसला नभएका पुराना करिब २ लाख मुद्दामा नयाँ संहिता लागु नहुने खबर लेखेको छ । भदौ १ पछिका मुद्दामा मात्रै संहिता लागु हुने छ भने यो विषयमा जानकारी गराउन बिहीबार देशभरि सर्कुलर पठाइने समाचारमा जनाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।