काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको बिफ्रिङ र जनवर्गीय संगठनको एकताका विषयमा छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकको प्रारम्भमा प्रचण्डले दिल्ली भ्रमणबारे जानकारी गराएका थिए। उनले आफ्नो दिल्लीमा त्यहाँको उच्च नेतृत्वसँग सघन संवाद भएको र त्यसले सरकार र पार्टी एकता दुवैलार्इ बल पुग्ने बताए। बाहिर चर्चा र हल्ला भएजस्तो सत्ता परिवर्तन वा अन्य राजनीतिक विषयमा छलफल नभएको उनले स्पस्ट पारेका थिए।
बैठकमा पार्टीको सांगठनिक एकीकरणको मापदण्डका विषयमा औपचारिक छलफल सुरु गरिएको जनाइएको छ। महासचिव विष्णु पौडेलले पेस गरेको सांगठनिक एकीकरण सम्बन्धि मापदण्डका विषयमा औपचारिक छलफल गरिएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
बैठकमा महासचिव पौडेलले पार्टी एकीकरण सम्बन्धि कार्यदलले तयार पारेको सुझावसहितको प्रतिवेदन पार्टीका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाए।
पार्टीको सांगठनिक एकीकरणको काममा सहमति जुटाउन बिहीबार अपरान्ह ३ बजे पुनः सचिवालय बैठक बोलाइएको श्रेष्ठले बताए।
सोही बैठकमा पार्टीको प्रदेश कमिटीसहितको सांगठनिक एकीकरणको बारेमा टुंगो लगाउने तयारी सचिवालयको छ। सचिवालयले टुंगो लगाएको पार्टीको सांगठनिक एकीकरण सम्बन्धि सहमतिलाई स्थायी समिति बैठकले अनुमोदन गर्ने निर्णय पनि बैठकमा गरिएको उनले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४