काठमाडौं- नेपाली कांग्रेसले खोजतलास साप्ताहिक तथा खोजतलास डटकमका प्रधानसम्पादक राजु वस्नेतलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रेसमाथिको हस्तक्षेप तत्काल बन्द गर्न सरकारलाई सचेत गराउँदै केही समययता राज्यसंयन्त्र नै मिडियाप्रति असहिष्णु ढंगले प्रस्तुत भइरहँदा त्यसले लोकतान्त्रिक सत्ता र संस्कृतिको नभइ सरकार ‘अधिनायकवाद उन्मुख’ प्रवृत्तिको श्रृंखलालाइ पुष्टि गरेको बताएका छन्।
प्रकाशित कुनै समाचार या साभार गरिएको विषयप्रति व्यक्ति, संस्था वा राज्य कसैको विमति हुँदा त्यसलाई खण्डन गराउने निश्चित विधि-प्रक्रिया लोकतान्त्रिक प्रणालीले सुनिश्चित गरेको भए पनि पत्रकार वस्नेतलाई नियन्त्रणमा लिने व्यवहारलाई कांग्रेसले आपत्तिजनक भनी टिप्पणी गरेको छ।
‘राज्यको सार्वजनिक जवाफ चाहन्छौं, संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको बिम्व के कलमजिविका हातामा हतकडी हो?’, प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘द्वन्द्वकालमा यो या त्यो पक्षबाट पत्रकारहरु प्रताडित भएको घटनाको तितो स्मृति हामी सबै थरीको मानसपटलमा जिवित छ। तर बदलिएको परिस्थितिमा पनि पत्रकारहरुले निरन्तर पीडा भोग्नु परेको चित्र दुखद र अत्यन्तै गम्भिर छ।’
कांग्रेसले जारी मुलुकी संहितामा रहेका कतिपय प्रेस स्वतन्त्रतालाई असर पुग्ने प्रावधानहरु संशोधन गर्ने प्रकृया अघि बढाई सिद्धान्त एवं व्यवहारत दुवै ढंगले स्वतन्त्र प्रेसको अक्षुणता कायम राख्ने दिशामा अग्रसरताका लागि अपिल गरेको छ।
पत्रकार बस्नेतले ललितपुरमा राजनीतिक दलका नेताहरु नै भूमाफियाको भूमिकामा भन्दै समाचार प्रकाशीत गरेको बिषयमा अदालतको आदेश भन्दै आइतबार पत्रकार बस्नेतलाई गिरफ्तार गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४