डोटी- डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन्। तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलिहाउसमा रात बिताउन बाध्य भएको पीडितले बताएका छन्।
भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरू समस्यमा परेका बताएका हुन्। गत मंगलवार रातिको भूकम्पमा परी कैयौ नागरिकका घरमा क्षति पुगेको छ।
कतिपयको घर भत्किएको छ भने कैयौका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ।
स्थानीय भरत बोहराले भने, ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक–पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरू पोलिहाउसमा आगो बालेर रात बिताउन बाध्य छौं।’
नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरूप वितरण गरे पनि पीडितलाई अपुग भएको छ। नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्व मन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएका परिवारका सदस्यलाई १ लाख ५० हजार रुपैयाँ तथा नेकपा एमाले डोटीबाट १ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको थियो।
अस्थायी रूपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन्। गाउँभरिमै भूकम्पको पीडाले सन्नटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बादर र मुसाले खान थालेको पीडितहरू बताउँछन्।
खानका लागि १ मानो चामल र पीठो समेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताइन्।
उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले बिहीवारै विपद् व्यवस्थापनको बैठक राखी सम्भवतः बिहीवारै वितरण गरिने बताए। उनले भने, ‘गृह मन्त्रालयबाट त्रिपाल र कम्बल आइपुगेको छ, अन्य राहतका लागि प्रक्रिया भइरहेकाले हामी आजै त्यहाँ गएर सम्भवतः कम्बल र त्रिपाल वितरण गर्छौं होला।’
मंगलवार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो। त्यसमा परी गाउँका ६ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका थिए। भूकम्पमा परी ८ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जनौं घरमा क्षति पुगेको छ।