शुक्रबार, वैशाख ७, २०८१

सिरहा-२ : दुवै गठबन्धनबाट दुई पूर्वमन्त्री चुनावी मैदानमा, पत्रकारदेखि गायकसम्म उम्मेदवार

मधेसको विकास र पहिचानका लागि कांग्रेसले नै अगुवाइ गरेका कारण आफ्नो जित निश्चित भएको चित्रलेखाको दाबी छ भने स्थानीय तह निर्वाचनमा जसपाको मत बढी आएको र अहिले एमालेसँग गठबन्धन भएकाले चुनाव जित्नेमा ढुक्क रहेको राजकिशोर बताउँछन्।
 |  शुक्रबार, कात्तिक २५, २०७९

खिला कार्की

खिला कार्की

शुक्रबार, कात्तिक २५, २०७९

काठमाडौं– ४ मंसिरमा हुने चुनावमा चर्चामा रहेको निर्वाचन क्षेत्रमध्ये सिरहा–२ पनि पर्दछ। दुई गठबन्धनबाट दुई पूर्वमन्त्रीबीच रोचक चुनावी प्रतिस्पर्धा भएका कारण यो क्षेत्र चर्चामा रहेको हो। यति मात्र होइन, यो निर्वाचन क्षेत्रमा दुई सञ्चारकर्मी र चर्चित कलाकार मुरलीधर मिजारसमेत उम्मेदवार छन्। 

triton college

यो क्षेत्रमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी कांग्रेस नेतृ चित्रलेखा यादव र एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका कार्यकारिणी सदस्य राजकिशोर यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। राजकिशोर आफ्नो चुनावी क्षेत्र सिरहा–४ भए पनि यस पटक भागबन्डाका कारण २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन्। 

चित्रलेखा २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन्। त्यसपछि उनले दुई पटक समानुपातिकतर्फबाट प्रतिनिधित्व गरिन्। २०७४ को चुनावमा माओवादी केन्द्रबाट सुरेशचन्द्र दास यादव यो क्षेत्रबाट विजयी भएका थिए। राजकिशोर २०६४ को संविधानसभा चुनावमा विजयी भएका थिए भने २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए। २०७४ को निर्वाचनमा उनी सिरहा–४ बाट निर्वाचित भएका थिए।

चित्रलेखाको दाबी 
चित्रलेखा २०५६ को प्रतिनिधिसभा निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएकी थिइन्। २०७० र २०७४ मा दुई पटक समानुपातिक सांसद भइसकेकी उनी २०५६ मा उपसभामुख, २०७० मा शिक्षामन्त्री र कांग्रेसको प्रमुख सचेतक बनिसकेकी छन्। २०५१ र २०६४ को संसदीय निर्वाचनमा भने उनी पराजित भइन्। चित्रलेखा विगतदेखि हालसम्म मधेसको विकास र पहिचानका लागि कांग्रेसले नै अगुवाइ गरेका कारण आफ्नो जित निश्चित भएको दाबी गर्छिन्। संविधान निर्माण हुनेबित्तिकै समानुपातिक र समावेशी शब्द राख्न कांग्रेसले नै पहिलो पटक संविधान संशोधन गरेको भन्दै उनले पछि पनि संविधान संशोधनका लागि कांग्रेस र माओवादी केन्द्रले ठूलो पहल गरेको तर एमालेका कारण त्यो सम्भव नभएको बताइन्। उनले भनिन्, ‘अहिले पनि कांग्रेस र माओवादी केन्द्रकै प्रयासमा नागरिकता विधेयक दुवै सदनबाट पारित भएको हो। तर एमालेले त्यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण हुन दिएन। कांग्रेसले जहिले पनि मधेसको हित सोचेका कारण मधेसी जनताले कांग्रेसलाई जिताउँछन्।’

चित्रलेखाले जसपा कुनै पार्टी नै नभएको बताउँदै कहिले कसको पुच्छर त कहिले कसको पुच्छर भएर हिँड्ने गरेको आरोप लगाइन्। उनले भनिन्, ‘जसपा पार्टी बनिसकेको छैन। जसपा कहिले कसको पुच्छर त कहिले कसको पुच्छर भएर हिँड्ने गरेकाले सो पार्टीलाई मधेसका जनताले राम्रोसँग चिनिसकेका छन्।’

corrent noodles
Metro Mart

राजकिशोरको आफ्नै दाबी
मधेस आन्दोलनपछि राजनीतिमा उदाएका पूर्वसञ्चारमन्त्री राजकिशोर २०६४ को संविधानसभामा सिरहा–६ मा तत्कालीन मधेसी जनअधिकार फोरमबाट विजयी भएका थिए। बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चारमन्त्री बनेका उनी अहिले क्षेत्र परिवर्तन गरी एमाले–जसपा गठबन्धनबाट चुनावी प्रतिस्पर्धामा छन्। फोरमबाट अलग्गिएर फोरम गणतान्त्रिकबाट २०७० को दोस्रो संविधानसभा निर्वाचनमा सिरहा–६ बाटै उम्मेदवारी दिए पनि उनी पराजित भए। एमाले–जसपाबीच गठबन्धन भएकाले चुनाव जित्नेमा ढुक्क रहेको राजकिशोरको दाबी छ। मधेसलाई बर्बाद गर्ने पार्टी कांग्रेस भएका कारण सिरहाका जनताले आफूलाई जिताउने उनले बताए। उनले भने, ‘मधेसलाई बर्बाद गर्ने पार्टी कांग्रेस नै हो। त्यो पार्टी लामो समयसम्म सत्ता रहे पनि मधेसका लागि केही काम गरेको छैन। त्यही भएर मधेसका जनता कांग्रेसलाई रुचाउँदैनन्।’

कांग्रेसले पटक–पटक मधेसी जनतालाई झुक्याएर मत लिएको आरोप लगाउँदै उनले त्यसको बदलामा उसले विभेद मात्र गरेको जिकिर गरे। उनले भने, ‘जसपा परिवर्तनकारी शक्ति हो। मधेसी जनताले पनि परिवर्तन चाहेका छन्। त्यही भएर जसपाको जित सुनिश्चित छ।’  

rajkishor
राजकिशोर यादव। 
स्थानीय तहको मत परिणाम 
स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सिरहा–२ मा सत्तारुढ गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो देखिन्छ। सिरहा–२ मा बरियारपट्टी, नवराजपुर, औरही, सुखीपुर र धनगढी नगरपालिकासहित पाँच वटा पालिका छन्। त्यसमध्ये कांग्रेसले बरियारपट्टी र धनगढी नगरपालिका जितेको छ भने नवरापुर र औरही गाउँपालिका जसपा र सुखीपुर नगरपालिका एमालेले जितेको छ। अर्थात्, सत्ता गठबन्धनसँग दुई वटा र जसपा–एमाले गठबन्धनसँग तीन वटा पालिका छन्। यो क्षेत्रमा जम्मा ४१ वटा वडा छन्। त्यसमध्ये जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनले २०–२० वटा वडा जितेका छन् भने जनमत पार्टीले एउटा वडा जितेको छ। 

सो क्षेत्रमा जसपाले वडामा २१ हजार ९७ मत ल्याएको छ भने एमालेले १८ हजार ३५८ मत ल्याएको छ। दुवै दलको मत जोड्दा ३९ हजार ४५५ हुन्छ। त्यस्तै, सो क्षेत्रमा कांग्रेसले १९ हजार ४७४, माओवादी केन्द्रले ११ हजार ६५८, नेकपा एकीकृत समाजवादी पार्टीले ३ हजार ९२३ र लोकतान्त्रिक समाजवादी पार्टीले ९७९ मत ल्याएका छन्। यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ। सत्ता गठबन्धनभन्दा जसपा–एमाले गठबन्धनको मत ३ हजार ४२१ ले बढी छ। यस हिसाबले सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादवभन्दा जसपा–एमालेका साझा उम्मेदवार राजकिशोर यादव अगाडि देखिन्छन्। 

सिरहालाई जसपाको आधार क्षेत्र मानिन्छ। सिरहाबाट मधेस आन्दोलनको उठान भएको थियो। तर यहाँ कांग्रेस पनि कमजोर छैन। सिरहामा सबभन्दा बढी पालिका कांग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले अनि तेस्रो र चौथो स्थानमा क्रमशः माओवादी र जसपा छन्। तर सिरहा–२ मा जसपाले वडामा सबभन्दा बढी मत ल्याएको छ। 

चित्रलेखा र राजकिशोर दुवैले पाउँदैनन् मतदान गर्न 
सिरहा–२ मा प्रतिनिधसभामा गठबन्धन तथा प्रभावकारी स्वतन्त्र उम्मेदवारहरू अन्य क्षेत्रमा घर भएका छन्। कांग्रेसकी चित्रलेखा यादवको घर सिरहा नगरपालिकामा छ। उनी सिरहा क्षेत्र–३ को मतदाता हुन्। चित्रलेखाले माइती नवराजपुर–४ नहरनियाँबाट मतदान गर्नेछिन्।

एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादव पनि यस क्षेत्रका मतदाता होइनन्। उनी नरहागाउँपालिका–३, चोहर्वाका हुन्। उनी प्रायः चुनावपिच्छे क्षेत्र फेर्ने नेतामा पर्छन्। पहिलो संविधानसभा २०६४ मा सिरहा–६ बाट विजयी भएका उनी दोस्रो संविधानसभा २०७० मा त्यहीँ पराजित भए। २०७४ मा सिरहा–४ बाट विजयी भएका उनी अहिले क्षेत्र–२ बाट चुनावी प्रतिस्पर्धामा छन्। राजकिशोर सिरहा क्षेत्र–४ का मतादाता हुन् । 

पत्रकारदेखि गायकसम्म उम्मेदवार 
सिरहाको यो क्षेत्रमा पत्रकारदेखि गायकसम्म  उम्मेदवार रहेका छन्। सञ्चारकर्मी, लेखक तथा राजनीतिकर्मी रामरिझन यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभाका अर्का उम्मेदवार पत्रकार देवकुमार यादवले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। देवकुमार पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य हुन्। 

यस क्षेत्रबाट चर्चित तथा वरिष्ठ गायक, संगीतकार तथा अभिनेता मुरलीधर मिजाार पनि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारीले दिएका छन्। उनले नेपालमा मात्रै होइन, भारतमा समेत ख्याति कमाएका छन्। ‘उडायो सपना सबै हुरीले...’ बोलको गीतबाट उनी चर्चामा आएका थिए। नेपाली र हिन्दी मात्र होइन, मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा उनले सयौं गीत गाएका छन्। पछिल्लो समय उनी फिल्म लेखन र निर्देशनमा सक्रिय छन्। मुरलीधरसहित साना पार्टी र स्वतन्त्र गरी २४ जनाले यो क्षेत्रबाट उम्मेवारी दिएका छन्। 

प्रकाशित: Nov 11, 2022| 07:31 शुक्रबार, कात्तिक २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।
राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।
राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...
चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...