भैरहवा- तीजका दिन चारैतिर नाचगानको रौनकता छाएको थियो। भदौंरे वर्षासँगै तीजमा सवारीसाधनमा ओहोर दोहोर गर्ने नारीहरु कयौं पेट्रोल पम्पमा लाइन लागेका देखिन्थे।
ती सवारी साधनले इन्धन नपाउँदा उनीहरु कसरी गन्तब्यमा पुग्ने भन्ने चिन्तामा देखिन्थे। नेपाली सवारी साधनलार्इ इन्धन बिक्रि नगर्ने पेट्रोल पम्पले भारतीय नम्बर प्लेटका गाडीहरुलाई भने लुकीछिपी तेल बेचेको खबर आएपछि जिल्ला बजार अनुगमन समिती रुपन्देहीले पर्वका दिन भएपनि तेल बेच्ने पम्पको छड्के चेकजाँच गरेको छ।
छड्के चेकजाँचको क्रममा समितीले जिल्लाका ओमसतिया गाउँपालिका रहेको सुरज आयल डिष्ट्रिव्युटर्स, रोहिणी गाउँपालिकामा रहेको जय माँ दुर्गे आयल स्टोर्स धकधई र न्यु एभरेष्ट आयल सप्लायर्समा शिलबन्दी गरेको संयुक्त बजार अनुगमन टोली रुपन्देहीका संयोजक तथा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए।
भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृत रुपमा पेट्रोल तथा डिजल बिक्री बितरण गरेको पाइए पछि शिलबन्दी गरेको सहायकप्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।
अनुगमनका क्रममा टोलीले सुरज आयल डिष्ट्रिव्युटर्समा २ सय लिटर डिजल हाल्दै गरेको युपी १७ एट २३५४ नम्बरको बस र १ सय ५० लिटर डिजल भर्दै गरेको जिजे १० टियु १२१८ नम्बरको ट्रकले फेला परेका थिए। जुन आयल निगमको निर्देशन विपरित इन्धन भरिरहेका थिए।
नेपाल आयल निगमले यसअघि पनि सीमावर्ति पेट्रोल पम्पले अनाधिकृत रुपमा भारतीय नम्बर प्लेटका सवारी साधनलाई इन्धन बेचेको थाहा पाएपछि कडा निर्देशन दिंदै भारतीय नम्बरका मालवाहक ट्रक, बस र कारहरुलाई भारततर्फ फर्किने बेलामा बढीमा ५० लिटर इन्धन मात्र दिन निर्देशन दिएको थियो।
नेपाली बजारमा भन्दा भारतीय बजारमा पेट्रोलियम पर्दाथ डिजल र पेट्रोलको मुल्यमा झन्डै २० रुपैयाँ बढी छ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४