काठमाडौं- निर्माण व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको आरोपमा योङ कम्यूनीष्ट लिग (वाईसीएल) सिन्धुलीका अध्यक्ष पुष्पराज श्रेष्ठ पक्राउ परेका छन।
निर्माण व्यावसायी राम बहादुर कटुवाललाई हतियार देखाई ज्यान मार्ने धम्की दिएको उजुरीको आधारमा श्रेठलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरज प्रताप सिंहले नेपाल समयलाई जानकारी गराएका छन्।
श्रेष्ठमाथि विभिन्न हातहतियार तथा खरखजनासम्बन्धी अहिलेसम्म आठ वटा मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका-६ का श्रेष्ठले २०६३ असारमा कुटपिट गरी स्थानीय गगन सिंहलाई ज्यान मार्ने धम्की दिएको विषयमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो। कमलामाई नगरपालीका-७ का विजय मुनाललाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको उजुरीको आधारमा २०६४ चैत्र १९ मा श्रेष्ठमाथि मुद्दा दर्ता भएको थियो।
काठमाडौं महानगरपालिका-३२ का अबिनास रिजालमाथि गोली प्रहार गरी हत्या गर्ने प्रयास गरेको आरोमा उनी २०६५ असोज १७ गते पक्राउ परेका थिए। त्यस्तै स्थानीय राजन घिसिङमाथि कुटपटि गरेको उजुरीको आधारमा श्रेष्ठमाथि सिन्धुली जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।
उनीमाथि २०६७ असोज २१ गते स्थानीय राजन घिसिङ्गमाथि कुटपिट गरेको तथा २०७० फागुन १४ गते सिन्धुली पाडतान-४ का जिवन श्रेष्ठलाई अपहरण तथा कुटपिट गरेको आरोपमा उनीमाथि सिन्धुलीमा मुद्धा दर्ता भएको थियो।
मंगलबार काठमाडौंको गौशालाबाट अपराध महाशाखाको टोलीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसरले पठाईएको छ। श्रेष्ठमाथि सार्वजनिक अपराधमा मुद्धा दर्ता गर्ने तयारी भैरहेको छ। श्रेष्ठलाई अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४