काठमाडौं- नेपाल निर्माण व्यवसायी संघको २० औं अधिवेशनमा अध्यक्षका लागि ४ जनाले आज (बुधबार) उम्मेदवारी घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महासंघको १९ औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी रवी सिंहले पुनः अध्यक्षको लागि उम्मेदवारी घोषणा गरेका हुन्।
‘जसको नेतृत्व, उसैको नीति’ भन्ने नारा लिएर अध्यक्षको उम्मेदारी घोषणा गरेका सिंहले ठूला व्यवसायी र साना निर्माण व्यवसायीबीचमा भएको खाडललाई पुर्नको लागि आफू पुनः नेतृत्वमा आउन चाहेको बताए।
‘मसँग यस संघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्धितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गरेको लामो अनुभव छ,’ उनले भने ‘यस क्षेत्रमा धेरै प्रकारका नीतिगत र भौतिक सुधारको खाँचो छ। म त्यो जिम्मेवारीलाई कुशलतापूर्वक पुरा गर्छु।’
शक्तिशाली ७-८ जना ठूला निर्माण व्यावसायीको कब्जामा रहेको अवैज्ञानिक रुपमा रहेको निर्माण क्षेत्रलाई सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे।
त्यस्तै, संघका सल्लाहकार यक्षध्वज कार्कीले संघमा नेतृत्व गर्ने मानिसको अभाव भएको बताउँदै पुनः अध्यक्षको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए। ‘म सँग २०६५ देखि ०६८ सम्म अध्यक्ष भएर काम गरेको अनुभव छ,’ उनले भने ‘२८ वर्षसम्मको मेरो अनुभवलाई फेरी पनि यस क्षेत्रको नीतिगत रुपमा सुधार गर्ने, निर्माणका कामलाई पारदर्शी बनाउने र सांगठनिक सुधार गर्ने लगायत योजना छन्।’
‘अनुभवि नेतृत्व, यूवाको साथ’ भन्ने नारा लिएर मैदानमा उत्रेका कार्कीले समयमै काम सक्नु पर्नेमा जोड दिए। उनकाअनुसार सरकार, जनता र मिडियाले निर्माण व्यावसायीलाई काम गरेन भनेर मात्रै नभइ के कारणले हुन सकेन त्यसको बारेमा जान्ने कोशिस गर्नु पर्ने जनाए।
सार्वजनिक खरिद ऐनलाई निर्माण व्यावसायीमैत्री बनाउनको लागि अफुले उम्मेदवारी दिएको प्रष्ट पारे। अर्का संघका वर्तमान महासचिव रामशरण देउजाले पनि अध्यक्षको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
उनले भने, उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भने, ‘समयमा र गुणस्तरयुक्त निर्माणको कामका लागि मेरो उम्मेदवारी हो । यस क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छु । मसंग भएको नीतिलाई नेतृत्वमा पुगेर कार्यान्वयन गर्ने सोच छ।’
त्यस्तै कार्यक्रममा अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोईरालाले आफूसँग ‘भिजन’, मिशन र एक्शन रहेको भन्दै आफूले अध्यक्षको लागि उम्मेदवार घोषणा गरेको बताए।
‘सबैलाई काम, सबैलाई माम हुनुपर्छ, ठूला र साना निर्माण व्यवसायीबीचको दुरीलाई मेटाउनको लागि मेरो उम्मेदवारी हो,’ उनले भने ‘निर्माण व्यवसायलाई वैज्ञानिक रुप दिन मेरो उम्मेदवारी हो। सिस्टमको आधारमा काम गर्नुपर्छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४