काठमाडौं- पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।
सुन्धारास्थित सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ। अधिकारी हराएको भन्दै उनकी श्रीमतीले आजमात्रै काठमाडौं प्रहरी परिसरमा निवेदन दिएकी थिइन्।
निवेदनपछि खोजतलास गर्दा उनी मृत फेला परेका हुन्। प्रहरीका अनुसार उनी मृत भेटिएको कोठा भित्रबाट बन्द थियो। अधिकारीले आत्महत्या गरेको अनुमान प्रहरीले गरेको छ। अधिकारी २१ कात्तिकदेखि सम्पर्कविहीन थिए।
अधिकारी क्राइम बिटका स्थापित पत्रकार हुन्। उनले लामो समय कान्तिपुर पब्लिकेसनअन्तर्गतको नेपाल साप्ताहिक र कान्तिपुर दैनिकमा काम गरेका थिए। उनको चक्रव्यूहमा चन्द्र सूर्यलगायत पुस्तक पनि प्रकाशित छन्।
विभिन्न अनलाइनमा समेत काम गरेका अधिकारीले पछिल्लो समय अपराधसँग सम्बन्धित विषयमाथि आफ्नै युट्युब च्यानलमार्फत विश्लेषण पस्किँदै आएका थिए।