काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले डोटीलाई केन्द्रविन्दु बनाई गएको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
उपराष्ट्रपति पुनले भूकम्पले घर भत्कँदा निधन भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन्।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उपराष्ट्रपतिले भूकम्पमा परी घाइते भएकाको उपचार तथा विस्थापितका लागि उचित बसोबास र खाद्यान्न व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
भूकम्प लगायत सम्भावित प्राकृतिक विपतबाट बच्न तथा कम क्षतिका लागि पूर्व तयारीमा ध्यान दिनसमेत उपराष्ट्रपतिले ध्यानाकर्षण गराएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले बताए।