सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चितवन राष्ट्रिय निकुञ्जको ५० हेक्टरमा नयाँ घाँसेमैदान

चितवन राष्ट्रिय निकुञ्जको ५० हेक्टरमा नयाँ घाँसेमैदान

दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयार गरिने भएको छ। दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो। यस वर्ष निकुञ्जले दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम गर्ने जनाएको छ। 

National life

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले घाँसेमैदान व्यवस्थापनका लागि बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको बताए। उनले निर्वाचनलगत्तै घाँसेमैदान व्यवस्थापनको काम सुरु गरिने जानकारी दिए। यस वर्ष नयाँ घाँसेमैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३३ लाख बजेट विनियोजन भएको तिवारीले बताए। उनले बजेटअभावका कारण थोरै क्षेत्रफलमा मात्रै घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्न लागिएको जानकारी दिए। 

निकुञ्जमा आर्थिक वर्ष २०७६/७७ मा छ सय हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान निर्माण र ५८ हेक्टरमा व्यवस्थापनको काम भएको थियो। यस्तै २०७७/७८ मा सात सय हेक्टरमा निर्माण र चार सय हेक्टरमा व्यवस्थापनको काम भएकामा आर्थिक वर्ष २०७८/७९ मा ५० हेक्टरमा नयाँ घाँसेमैदान निर्माण र तीन सय आठ हेक्टरमा व्यवस्थापनको काम भएको निकुञ्जले जनाएको छ।

निकुञ्जभित्र घाँस प्रजातिले ढाकेको क्षेत्रलाई घाँसेमैदानका रुपमा लिइन्छ। निकुञ्जको नौ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमध्ये करिब १० प्रतिशत मात्रै घाँसेमैदान छ।

साना किरा फट्याङ्ग्रा, सरिसृपदेखि ठूला स्तनधारी प्रजाति गैँडा, बाघ, हात्तीलगायत अन्य खुर भएका प्रजातिका वन्यजन्तुलाई घाँसेमैदान विचरण गर्न, खेल्न, हिँड्डुल गर्न, घाम ताप्न, आराम गर्नका लागि अत्यन्तै उपयोगी हुने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। निकुञ्जका जनावर मात्र नभएर जैविक विविधताको संरक्षण र पर्यावरणमा सन्तुलन कायम राख्नसमेत घाँसेमैदानले ठूलो भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

‘निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका घाँसेमैदानमा मुख्य घाँस प्रजातिमध्ये दुबो, काँस, सिरु, बरुवा, नर्कट, थमेडा, ढड्डी आदि पाइन्छन्', आचार्यले भने, 'निकुञ्जको घाँसेमैदानमा ५० भन्दा बढी प्रजातिका घाँस छन् जुन यहाँका वन्यजन्तुको मुख्य आहारसमेत हो।' 

निकुञ्जले यस आर्थिक वर्षमा पूर्वको सौराहा घाटदेखि पश्चिमको पुरानो टाइगर टप क्षेत्रसम्म घाँसेमैदान निर्माण र व्यवस्थापनको काम गर्ने जनाएको छ। घाँसेमैदान व्यवस्थापनअन्तर्गत अग्लो घाँस–ढड्डी काट्ने, आगो लगाएर जलाउने, जरासहित रूख हटाउने, स–साना पोथ्रा हटाउने, रूखको मुना हटाउनेजस्ता काम हुने आचार्यले बताए।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले निकुञ्जभित्रको घाँसेमैदान राम्रो व्यवस्थापन हुन नसकेमा वन्यजन्तु मानवबस्ती आउन सक्ने बताए। घाँसेमैदान व्यवस्थापन र नयाँ निर्माणमा निकुञ्जको बजेट थोरै भएको बताए।

निकुञ्जभित्र राम्रो घाँस खान नपाएमा दुर्लभ एकसिङ्गे गैँडा र बाघका आहारा प्रजाति खानाका लागि मानवबस्ती प्रवेश गर्ने र दुःख दिने उनको भनाइ छ। मानव र वन्यजन्तु बीचको द्वन्द्व कम गर्नका लागि निकुञ्जभित्रको घाँसेमैदान व्यवस्थित हुनुपर्ने उनी बताउँछन्। घाँसेमैदान व्यवस्थापनपछि बाघ र गैँडाको सङ्ख्यासमेत वृद्धि भएको निकुञ्जले जनाएको छ। पछिल्लो तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ९४ वटा गैँडा र एक सय २८ वटा बाघ रहेका छन्।   -रासस

प्रकाशित: Nov 09, 2022| 23:00 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।