काठमाडौं- वर्षा सकिएर सुक्खा मौसम लागे पनि मेलम्चीको पानी राजधानीमा नआउँदा खानेपानीको अभाव बढ्न थालेको छ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्कस निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ।
विक्रम संवत् २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो। बाढी आउने अघिल्लो दिन सुरुङ बन्द गरिएकाले सुरुङभित्र क्षति हुन पाएको थिएन।
खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने भनेकामा यो महिनामा पानी नआउने निश्चित भएको छ। गत वर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले नै बनाएर पानी ल्याउने वातावरण बनाएको थियो।
सडक बनाएर पानी ल्याउन सहयोग गरेपछि संघीय सरकारले २०७८ असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले बताए।
‘गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैंले अझै बनाउन सकेको छैन, स्थानीय सरकारले पानी लान रोकेको होइन तर हामीले नदिएको भनी दुष्प्रचार गरिएको छ, मेलम्चीको पानी राजधानी लगेर महशुल उठाएपछि त्यसको २५ प्रतिशत लेबी स्थानीय सरकारले पाउनुपर्छ भनी माग राखेका हौं, यहाँको पानी लगेर सरकारले राजधानीमा निःशुल्क बाँडेको होइन, महशुल लिन्छ, महशुल लिएपछि त्यसको २५ प्रतिशत हामीले पाउनुपर्छ,’ उनले भने।
राजधानीवासीलाई पानी खुवाउने हेलम्बुको सडकमा वर्षा लागेपछि हिँड्न नसकिने समस्या समाधानका लागि पनि स्थानीय सरकारले माग गर्दै आएको छ। मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा ठूलो बाढी गएर धनजनको क्षति भएको डेढ वर्ष बित्दा पनि पुनर्निर्माणमा केन्द्रीय सरकारले वास्ता नगरेको गुनासो स्थानीय सरकारको छ।
मेलम्ची बाढीको विषय चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिँदा पनि स्थानीय सरकार आक्रोशित भएको छ।
अध्यक्ष शेर्पाले भने, ‘हामीले मात्र सहयोग गरिरहने? मेलम्ची पीडितलाई केही गर्न नपर्ने? राजधानीलाई पानी खुवाउने हेलम्बुमा वर्षामा आउन सकिन्न, राजधानीको खानेपानी ल्याउने मुहानमा जाने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्दैन?’
स्थानीय सरकार नहुँदा सामाजिक संस्थामार्फत् सञ्चालन गरिएको सामाजिक उत्थान कार्यक्रमलाई पालिकामार्फत् लैजानुपर्ने माग पनि उनले गरेका छन्।
गत वर्ष पानी पठाउँदा खानेपानी मन्त्रीमार्फत् प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्र नबुझाइएकोमा पनि स्थानीयवासी आक्रोशित छन्। स्थानीय सरकारले पानी नरोकी सरोकार सम्बोधन गर्न जोडदार माग गरेको जनाइएको छ। पानी रोक्दा भने यहाँभन्दा जटिल परिस्थिति आउने भएकाले सचेत हुन अध्यक्ष शेर्पाले आग्रह गरेका छन्।
यता मेलम्चीको पानी काठमाडौं ल्याउन पूर्वाधार पुनर्निर्माणको तयारी हुन थालेको छ। वर्षामा बन्द गरिएको मेलम्चीको पानी फेरि राजधानी ल्याउन प्राविधिक अध्ययन गर्न आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठ नेतृत्वको समूह बुधवार आयोजनास्थल पुगेको छ। मुहानस्थलको स्थलगत अध्ययन गरी कहिलेसम्म पानी राजधानी लैजान सकिन्छ भन्न सकिने उनले बताए।
राजधानीमा मेलम्चीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउँछ। पहिलो चरणमा मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौं उपत्यकाका ३ जिल्लाका विभिन्न स्थानमा वितरण गरिन्छ। मेलम्चीको पानी सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौंको सुन्दरीजलसम्म २७.५ किलोमिटर सुरुङ मार्ग हुँदै राजधानी ल्याइन्छ।
विक्रम संवत् २०७७ चैतमा बहुप्रतिक्षित मेलम्चीको पानी राजधानी आइपुगेको हो। करीब साढे २ महिनापछि वर्षाले असर गर्न सक्ने अनुमानका कारण २०७८ जेठ अन्तिम हप्ता सुरुङमा पानी हाल्न बन्द गरिएको थियो। सुरुङमा पानी बन्द गरिएको भोलिपल्ट नै असार १ गते आएको गेग्रान सहितको बाढीले मुहानस्थलमा क्षति पुगेको थियो।
विक्रम संवत् २०७८ जेठ अन्तिम हप्ता बन्द गरिएको पानी ५ महिनापछि कात्तिकमा फेरि राजधानी ल्याइएको थियो। यसवर्ष भने सुरुङमा पानी बन्द गरिएको ५ महिना पूरा हुँदा पनि फेरि ल्याउन पहल हुन नसक्दा राजधानीवासी काकाकुल हुने अवस्था आएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलले बताए।