धनगढी- निर्मला पन्तको बलात्कारपछि गरिएको हत्या घटनामा संलग्नलाई कारवाहीको माग गर्दै महिलाले कालो सारी लगाएर तीज मनाएका छन् ।
आन्दोलनरत आमा समूह फेरि आन्दोलित भएको छ । घटनाको छानबिनका लागि सरकारले १५ दिनको म्यादसहित गठन गरेको उच्चस्तरीय छानबिन समितिले तोकिएको मितिमा कुनैपनि निष्कर्ष निकाल्न नसकेपछि आमा समूह बुधबारबाट फेरि आन्दोलनमा उत्रिएको हो ।
‘दबाबमूलक संघर्ष समिति’ को ब्यानरमा आमा समूहले आज हरितालिका तीजको दिन कालो साडी लगाएर निर्मलाका वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । घटना भएको ४८ दिन पुगिसक्दा पनि सरकारले अपराधि पक्राउ गर्न नसकेको विरोधमा न्याय खोज्न बाध्य भएर तीजको दिनमा पनि कालो साडी लगाएर धर्नामा बसेको आमा समूहकी सदस्य वसन्ती चन्द बोगटीले बताइन् ।
‘हामीले खोजेको न्याय पाएनौं । त्यही भएर बाध्य भएर तीजको दिनमा पनि कालो साडी लगाएर मौन धर्नामा बसेका छौं,’उनले नेपाल समयसंग भनिन्, ‘आजबाट हामी वास्तविक बलात्कारी पक्राउ गरेर कारवाहीको माग गर्दै फेरि सडकमा आएका छौं ।’
यसअघि यही समूह लगातार सदरमुकाम महेन्द्रनगरमा निर्मलाका हत्यारा पक्राउको माग गर्दै आन्दोलन गर्दै आएका थियो । निर्मलाको शव फेला परेको २५ औं दिनमा प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेपछि उक्त आन्दोलनमा अन्य राजनीतिक दल, तिनका भ्रातृ संगठन र स्थानीयबासीले सहभागिता जनाएका थिए ।
प्रहरीले मुख्य अभियुक्त बनाएका विष्टलाई मंगलबार हाजिरी जमानीमा रिहा गरिएको छ । निर्मलाका हत्यारालाई सार्वजनिक गर्नुपर्ने र बलात्कारीलाई फाँसीको सजायका लागि संविधान संशोधन गर्न दबाब दिन कालो साडीमा तीज मनाउन लागिएको महिला दबाब समूहकी संयोजक हेलेन श्रेष्ठले बताइन् ।
‘घटनाको शुरुआतमै बलात्कार र हत्यामा संलग्न रहेको भनिएका र पछि सञ्चार माध्यमले नाम प्रकाशमा ल्याएका व्यक्तिहरु र अनुसन्धानमा संलग्न सबै प्रहरीको डिएनए परीक्षणका लागि दबाब सिर्जना गर्ने उद्देश्यले कालो साडीमा तीज मनाउन लागिएको हो,’उनले भनिन् ।
एसपी डिल्लीसिंह बिष्ट नेतृत्वको टोलीले घट्नामा संलग्न भनि सार्वजनिक गरिएका दिलिप बिष्ट साधारण तारेखमा छुटेपछि घट्ना थप रहस्यमय बनेको छ भने आन्दोलन थप चर्किने सम्भावना बढेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४