शुक्रबार, साउन १, २०८३

प्रवासबाट बालापनको तीज सम्झँदा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
आज नेपाली महिलाहरुको महान चाड तीज। नेपालमा तीज लागेपछि प्रवासमा रहेका नेपाली महिलाहरु पनि यसबाट टाढा रहने कुरै भएन। स्वदेशमा होस् वा विदेशमा- तीजको रमाइलो र सांगतिक माहोलले महिलाहरुलाई मस्त तताएको सामाजिक संजालहरुमा देख्न तथा पढ्न पाइन्छ। टाढा प्रवासबाट पनि महिलाहरुले यसलाई सक्दो निरन्तरता दिएका छन्। 

प्रवासको अति व्यस्त समयका वावजुद पनि महिलाहरुले आफ्नो कामको तालिकाबाट केही समय निकालेर आफन्त र साथीभाइहरुलाई तीजको दर खुवाउने, दर खाने र नाचगान गर्ने संस्कृतिलाई यहाँ पनि यथासक्य पालना गरिरहेका छन्। टाढा विदेशमा रहँदा यसको अर्थ र महत्व कतिपय अवस्थामा अझै बढ्ने समेत रहेछ।   

बिशेषगरी अमेरिकाको न्यूयोर्कमा यहाँको अन्य ठाउँमा भन्दा चाडवाड र राजनीति बढी नै लाग्छ। रायोको साग, गोलभेंडाको अचार, सिमी, मुला, फर्सी, लौका आदिजस्ता हरेक तरकारीहरु यहाँ खान पाइन्छ। कैयौं लेखक र पत्रकारहरुले भन्ने गरेजस्तै न्यूयोर्कमा आफ्नो भात खाएर अरुको कुरा काट्ने काम नेपालीबाट पनि प्रशस्तै हुन्छ। तीजमा पनि यो चल्छ ।  

उमेर अनुसार तीजका आ-आफ्नै अनुभवहरु हुन्छन्। मेरा पनि छन्। ‘तीज’ शब्द सुन्ने वित्तिकै मेरो मनमा एउटा भिन्नै प्रकारको स्मरण आउँछ। म पाँचथरको मेमेंग नाम गरेको एउटा बिकट गाउँमा जन्मे, हुर्के। त्यहाँ कोदो रोपिसकेर धान गोड्ने बेलामा तीज आउँथ्यो। वाल्यकालको तीजको छाप मेरो मनमा अहिले नमेटिने गरी बसेको छ। 

हाम्रो गाउँमा तीज आएको संकेत पनि आफ्नै रंग र ढंगको हुन्थ्यो। वारिपारी गाउँमा रातो गुन्यू-चोली लगाएका चेलीबेटीहरु एउटा बच्चा काखीमा च्याँपेर अर्कोलाई सकिनसकी डोकोमा बोकेर असिनपसिन हुँदै हिड्थे। यसरी आफ्ना दाजु, भाइ वा बुबाको पछि लागेर माइत जान लागेका चेलीबेटीहरुको ओहोर-दोहोरे देखेपछि हामीलाई तीज लागेको समय थाहा हुन्थ्यो। 

त्यतिवेला म मेरो मामाघरमा बस्थें। तीजको वेला मेरा माइजुहरुलाई लिन पनि उहाँका दाजुभाई वा बुवा आउनुहुन्थ्यो। उहाँहरु राती मेरो मामाघरमा बास बस्नुहुन्थ्यो। उहाँहरु दर खुवाउनको लागि माइजुहरुलाई लिन आएको कुरा बताउनुहुन्थ्यो। मामाहरुसँग पठाइदिन आग्रह गर्नुहुन्थ्यो। र, मामाहरुले पठाइदिनु पनि हुन्थ्यो। 



माइजुहरुलाई माइत पठाउने कुरामा मामाहरु सहमत भए पनि माइजुहरुले मुस्किलले चार वा पाँच दिनको बिदा मात्र पाउनुहुन्थ्यो। जति दिनको विदा  दिइएको हुन्थ्यो, त्यसै साँझ माइजुहरु टुप्लुक्क घर आइपुग्नुहुन्थ्यो। माइतीघरबाट आउँदा माइजुहरुले सेलरोटी कोशेली ल्याउनुहुन्थ्यो। साईनो अनुसार कसैलाई खुट्टामा त कसैलाई हातैले ढोग्नु हुन्थ्यो। वाल्यकालको तीजको यस्तो अनुभव निकै रमाइलो लाग्थ्यो। 

यता हाम्रो घरबाट पनि मामाहरु सानिमालाई लिन चिउरा र रोटीको खाजा बोकेर दिनभरिको बाटो हिडेर ताप्लेजुङ जानुहुन्थ्यो। उ बेलामा टेलिफोनको त कुरै छोडौं, बाटोघाटोको समेत सुविधा थिएन। बर्षायाममा खोलानालामा बाढी आउँथ्यो। बाढीले बगाउँने र पहिरोले पुर्ने जोखिम पनि उत्तिकै हुन्थ्यो। अर्कोतिर जंगलमा बाघ भालुको विगविगी पनि उत्तिकै थियो। 

एकातिर, विवाह गरेर टाढाटाढा गएका चेलीबेटीहरुलाई तीजमा लिन जाँन कठिन थियो भने अर्कोतिर चेलीहरुको घरमा धेरै बिन्ती बिसाएपछि मात्र लैजाने अनुमति मिल्थ्यो। अनि उही स-साना नानीहरु च्यापेर माइजुहरु माइतीघर गएजस्तै सानिमा पनि माइतीघर आउनुहुन्थ्यो। माइतीघर आउँदा सानीमाले पनि कोशेली बोकेर आउनुहुन्थ्यो। कोशेली खान पाइने भएपछि हामी बच्चाहरु बाटो कुरेर बस्थ्यौं। त्यो क्षण झनै रमाइलो लाग्थ्यो।

सानीमा माइत आएपछि वल्ल हाम्रो घरमा तीजको रौनक शुरु हुन्थ्यो। दरमा खीर, ढकने रोटी, दही, तरकारी, अचार आदि हुन्थ्यो। माछा, मासु, प्याज, लसुन, गोलभेंडा आदि कुराहरु घरमा बर्जित थिए। दर खाएको भोलीपल्ट नुहाई धुवाई गरेर ब्रत बस्ने चलन थियो, अहिले पनि छ। अनि दिनभर वालापनका साथीहरु तथा दिदीबहिनीहरु भेला भएर बर्षभरिका आ-आफ्ना वेदनामा बिषयमा गीत गाउने गर्थे। 

कठिन बुहार्तनको उक्त समयमा सासुले खाना खान नदिएका, गालीगलौज गरेका, सुत्केरी हुँदा पाएका दुखकष्ट, सासुले अनेकौं प्रकारका यातना दिएका आदि जस्ता अत्यन्तै मार्मिक दुख र पीडाहरु पालैपालो सुनाउँथे। सुनाउँदा सुनाउँदै धेरै महिलाहरु हुँक्क हुँक्क गरेर रुन्थे। रोएर आफ्नो मन हलुका पार्थे। 

म पनि आफन्त महिलाहरुको बिचमा कतै लुसुक्क पसेर कुराहरु सुन्थे र सुक्सुकाउँन सघाउँथे। मेरो बाल मष्तिस्कले त्यतिवेला गाउँका दिदीबहिनीहरुका कुरालाई केलाउँदा झण्डै ६० प्रतिशत समस्याहरु  सासु, नन्द,  आमाजु वा देवरानी-जेठानीहरुसँग सम्बन्धित हुन्थे। करिब २५ प्रतिशत समस्याहरु श्रीमानसँग सम्बन्धित हुन्थे भने १० प्रतिशतभन्दा कम समस्याहरु मात्र नातागोता वा टोल छिमेकिहरुबाट उत्पन्न समस्याहरुसँग सम्बन्धित हुन्थे।

सबै व्रतालुहरुले साँझपख पुजा लगाउँथे र कथा सुन्थे। अघिल्लो दिन जति कुरा काटे पनि तीजको दिन निराहार व्रत बस्थे। श्रीमानको सुस्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्थे। आफुले सकेको दान दक्षिणा गरेर व्रत बिसर्जन गर्थे। पन्चमीको दिन बिहानै खोलामा गएर नुहाएर दिनभरी सप्तऋषिको पुजा आजा गरेर साँझमा ब्रत समापन गर्थे। यसरी हाम्रो गाउँको तीज बर्ष दिनको लागि सकिन्थ्यो। 

पन्चमीको भोलीपल्ट सबैलाई आआफ्नो घर जान र माइतीघर छोड्न हतारो भइहाल्थ्यो। ल्याएका र पुर्‍याएका चेलीबेटीहरुलाई फेरि पुर्याउने र ल्याउने हतारोचटारो सँगसँगै एउटा बर्षको तीजले बिदा लिन्थ्यो। घरगाउँ फेरि पहिले जस्तै चकमन्न हुन्थ्यो। र, यो तीज सधैं एकैनासले आउँथ्यो र जान्थ्यो। एकअर्कालाई वेदना सुनाएर सानो खुसी साट्ने तीजको स्मरण सधैं ताजा भएर आउँथ्यो। अहिले पनि आउँछ। सबै महिलाजनलाई तीजको हार्दिक शुभकामना।  
 
(अमेरिकास्थित ‘ग्लोबल प्रेस इन्स्टिच्युट’मा कार्यरत पूर्वपत्रकार तारा भट्टराई हाल अमेरिकाको न्युयोर्क शहरमा बस्छिन्।)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।