काठमाडौं– भरत बोगटी जापान गएको आठ वर्ष भयो। उनी पढाइमा राम्रै विद्यार्थी हुन्। एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण बोगटी व्यवस्थापन संकायमा अध्ययन गर्न कैलाली बहुमुखी क्याम्पसमा भर्ना भए। प्रवीणता प्रमाणपत्र तह पनि प्रथम श्रेणीमै उत्तीर्ण भए।
त्यसपछि स्नातकोत्तर तह अध्ययनका लागि उनी काठमाडौं हान्निए। उनी काठमाडौंको धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा भर्ना भए। साइबर सञ्चालन गरेर अध्ययन गर्दै थिए। पढाइ राम्रै थियो तर बोगटीले नेपालमा भविष्य देखेनन्। उनी सन् २०१४ मा जापान भासिए।
यो बीचमा उनले काठमाडौं र धनगढीमा घरघडेरी जोडेका छन्। कैलालीको लम्कीचुहा नगरपालिकामा घर किने। अहिले उनको अन्य परिवार त्यही बस्छ। कुनै व्यापार, व्यवसाय गर्न चाहे उनको त्यो अवस्था पनि छ। आर्थिक रूपमा छोटो समयमा यसरी सबल हुँदा पनि उनी सन्तुष्ट छैनन्।
‘देशमा भविष्य नदेखेपछि म विदेशिएको हुँ। नेपालमा भएको भए अहिले पनि मैले बिहान–बेलुकीको हातमुख जोर्नकै लागि भौतारिनुपथ्र्यो। त्यो अर्थमा भने म खुसी छु। मैले विदेशमा जति दुःख गरे पनि परिवारले आर्थिक अभावकै कारण तड्पिनुपरेको छैन,’ उनले भने। नेपालमा काम गर्ने वा लगानी वातावरण भएको भए विदेश आउने आफ्नो रहर नभएको उनी बताउँछन्।
अहिले पनि बोगटीलाई ४ मंसिरमा हुने निर्वाचनमा सहभागी हुन मन छ। तर, अवस्था र व्यवस्था फेर्न सक्ने नेता उनको नजरमा कोही छैनन्। ‘उही पुराना नेता। उस्तै पुराना कुरा। हामीले सानै हुँदादेखि सुन्ने गरेको समृद्धिको रटान लगाउनबाहेक नेताहरूले केही गरेका छैनन्। त्यस्ता नेतालाई आफ्नो अमूल्य मतदान गर्न लाखौं खर्चेर आउनुभन्दा नआउनु नै बेस लागिरहेको छ,’ उनले भने।
देशमै फर्केर केही गर्ने योजना हुँदासमेत लगानी वातावरण नहुँदा अझै केही वर्ष जापानमै बस्ने सोच बनाएको उनी बताउँछन्। ‘श्रीमतीसहित यही बसिरहेको छु। उनको कमाइ पनि राम्रै छ। सानो छोराले अभाव देख्नुपरेको छैन। यसैमा सन्तुष्टि लिइरहेको छु,’ उनले भने।
उनले केही समय पहिले जापानी नागरिकसँग मिलेर नेपालको होटल व्यवसायमा लगानी गर्ने योजना बनाएका थिए। जापानबाट नेपालको अवस्था अध्ययनका लागि एउटा टोली पनि आयो। तर यहाँको राजनीतिक अवस्थाले उनीहरूलाई तान्न सकेन। बोगटीको पनि नेपालको होटल क्षेत्रमा विदेशी लगानी भित्र्याउने योजना सफल हुन सकेन। यस्तो अवस्था सिर्जना हुनुका पछि अदूरदर्शी राजनीति नै भएको उनी ठान्छन्।
उनल जापानमा बसेर अध्ययन सकिसकेका छन्। केही समय पहिले फलफूल पसलमा काम गर्ने बोगटी अहिले रियलस्टेट एजेन्ट (घरजग्गा कारोबार) गर्छन्। आफ्नो कारोबार र कमाइबाट उनी सन्तुष्ट छन्।
बोगटी त एक प्रतिनिधि युवा मात्रै हुन्। यस्ता थुप्रै युवा छन्, जो स्वदेशमै केही गर्न चाहन्छन् तर वातावरण छैन। त्यो नहुँदा उनीहरू स्वदेशमै बसेर आफ्नो क्षमता मार्न चाहँदैनन् र विदेशिन बाध्य छन्।
...
विदेश भासिएका मात्र होइन, नेपालमा भएका युवालाई पनि चुनावले खासै छोएको छैन। धनगढी–५ तारानगरका हेम मिश्र आफू राजनीतिक चेत भएको व्यक्ति भए पनि चुनावी अभियानमा खासै सक्रिय नरहेको बताउँछन्।
‘म नेकपा एमालेको वडा सचिव हुँ तर खासै राजनीतिक ऊर्जा छैन। काम नगरी खान पुग्दैन। नेताहरूको पछि लागेर समृद्ध भइने होइन। यसले परिवारलाई झनै दुःखी तुल्याउँछ। त्यसैले म अधिकांश समय काममा व्यस्त हुन्छु। बचेको समय राजनीतिमा पनि खर्च गर्छु,’ उनले भने। अहिले युवाहरूले विचार र विकास दिन सक्ने नेता खोजिरहेको उनी बताउँछन्। राजनीतिमा पुरानै ऐजेन्डा र अनुहार भएकाले नेताहरूको वर्चस्वका कारण आफूमा खासै ऊर्जा नरहेको उनी बताउँछन्।
‘केपी ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल नै अबको मूख्य भूमिकामा रहने पात्र हुन्। उहाँहरूलाई त हामीले २०औं वर्षदेखि झेल्दै आएका छौं। उहाँहरूको काम गर्ने प्रवृत्ति र शैली सबैलाई थाहा छ। उही अनुहार ल्याउनलाई हामीले धेरै हर्षित हुनुपर्ने कारण देख्दैन मत,’ मिश्रले भने।
कैलालीको घैलाबौनीयाका किसान नेतराम चौधरी पनि अधिकांश समय खेतमै हुन्छन्। उनी भन्छन्, ‘काम नाई कर्लेसे साझ सक्कारे खाई नाई पुगठ्। तो हम्रहन चुनावसुनाव नाई लागल हो। (साँझ– बिहान काम नगरे खान पुग्दैन। त्यसैले हामीलाई चुनावसुनाव केही लागेको छैन,’ उनले भने। उनी किसानको लागि समयमै मल ल्याइदिने नेता चाहिएको बताउँछन्। किसानले उब्जाएको अन्नबालीको उचित मूल्य निर्धारण गरिदिने नेता आइदेओस् भन्ने चाहन्छन्। तर त्यस्ता नेता आउने सम्भावना उनी देख्दैनन्। किनकि, उनको निर्वाचन क्षेत्रमा पनि पुरानै प्रतिस्पर्धी अनुहार छन्।
४ मंसिरमा हुने निर्वाचनमा सहभागी हुन मन भए पनि अवस्था र व्यवस्था फेर्न सक्ने नेता नहुँदा मतदाताको भोट हाल्न अरुचि। स्वदेशमै बसेर आफ्नो क्षमता मार्न नचाहने युवा पंक्ति राजनीतिक दलले चुनावमा दिने उधारो आश्वासनका कारण दिक्क छ भने विदेश भासिएकाहरू पनि राजनीति सफेद नहुँदा निर्वाचनलाई महत्त्व दिन छाडेका छन्।
‘हामीले सधैं खेती गर्ने समय मलका लागि हारगुहार गर्नुपर्छ। दुःख गरेर उब्जाइसकेपछि उचित मूल्यका लागि छटपटाउनुपर्छ। तीन तहको सरकार बसेको भन्छन्। गाउँ–गाउँमै सिंहदरबार पुगेको कुरा गर्छन्। तर हाम्रा लागि त्यो एकादेशको कथाजस्तै हो। हामीले कहिल्यै यसको अनुभूति गर्न पाउँदैनौं’, उनले दुखेसो पोखे।
चौधरीले एक दिन मत हाल्न भने जाने तर अरु बेला राजनीतिको कुनै कुरा नगर्ने बताए। ‘राजनीति हुने–खानेहरूका लागि हो। उनीहरूलाई चियाचोकमा ६ महिना पहिलेदेखि नै राजनीति लागिसकेको थियो। हामी गरिब किसानलाई त्यो राजनीतिसँग कुनै सरोकार छैन’, उनले भने।
...
राजनीतिक विश्लेषक कृष्ण खनाल युवाहरूको भनाइमा सहमत छैनन्। ‘लोकतन्त्रमा चुनावको विकल्प छैन। मतदाता शक्तिशाली हुन्। उहाँहरूले चाहनुभयो भने अहिलेको अवस्था बदल्न सक्नुहुन्छ। निर्वाचनमा पुरानै अनुहार मात्रै छैनन्। नयाँ अनुहार पनि छन्। त्यसैले यसलाई धरातलीय रुपमा मात्रै विश्लेषण गर्नुहुँदैन,’ उनले भने।
विश्वमा ठूला–ठूला नेता हारेको इतिहास रहेको बताउँदै उनले त्यसका लागि जनतामा चेतना जागृत हुनुपर्ने बताए। जनताको हातमा मतदातासँग शक्ति छ भन्ने कुरा सबैले बुझ्नुपर्ने र बुझेकाले नबुझेकालाई बुझाउनुपर्ने उनी बताउँछन्।
अहिले अवस्थामा धेरै सुधार नभए पनि बिग्रिएको छ भनेर सुधार गर्नुको साटो के फेरि पञ्चायत ल्याउने भन्दै उनले प्रतिप्रश्न गरे? त्यसैले उनी नेताहरूका गतिविधिबाट जनताले निराश हुनुभन्दा पनि विकल्प दिन सक्नुपर्ने बताउँछन्।