रत्ननगर- अविरल वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ ।
पहिरो खसेर मङ्गलबार बिहानदेखि अवरुद्ध भएको उक्त सडक १८ घण्टापछि एकतर्फी खुलेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उक्त सडकखण्डको चार किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो ।
दुई तिरबाट पहिरो हटाउने काम भइरहेकाले आजदेखि दुईतर्फी सडक खुलाइने ढकालले बताए । सडक एकतर्फी खुलाएर गए रातिदेखि सवारीसाधनको चाप कम गराइ सहज पारिएको चितवनका ट्राफिक प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिए ।
दिनभरको जामका कारण मुग्लिन–कुरिनटार क्षेत्रमा दोहोरो रुपमा सयौँ सवारीसाधन जाममा परेका कारण सडक खुलाउन बढी समय लागेको हो । पछिल्लो समय नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने क्रम जारी छ । सडक अवरुद्ध हुँदा तीज मनाउन हिँडेका महिला बढी समस्यामा परेको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४