शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • एमालेलाई सहज छैन अछामका दुवै क्षेत्र, २३ वर्षपछि उदाउला कांग्रेस?

एमालेलाई सहज छैन अछामका दुवै क्षेत्र, २३ वर्षपछि उदाउला कांग्रेस?

भीम रावल निर्वाचित क्षेत्रमात्रै होइन, यसपटक एमालेलाई क्षेत्र नम्बर दुईमा पनि सजिलै जित निकाल्न उत्तिकै चुनौती छ। यस क्षेत्रमा एमालेलाई चुनौती हुनुको पहिलो कारण रावल ‘फ्याक्टर’ नै हो।
 |  आइतबार, कात्तिक २०, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं– जिल्लाबाट सर्वसम्मत सिफारिस भएका नेकपा एमालेका नेता भीम रावललाई पन्छाएर अध्यक्ष केपी शर्मा ओलीले झपट बोहरालाई टिकट दिएपछि अछामका स्थानीय नेताहरु असन्तुष्ट छन्। रावललाई टिकट नदिएपछि ४१ जना जिल्ला कमिटी सदस्य र ८१ जना नगर कमिटी सदस्यले राजीनामा नै दिए।

triton college

२०४० को दशकदेखि अछाममा एमालेको संगठन विस्तारमा लागेका नेता रावललाई छाडेर नेकपा विभाजनपछि एमालेमै बसेका पूर्वमाओवादी नेता बोहरालाई ओलीले काखी च्यापेपछि त्यहाँका स्थानीय नेताहरुले खुलेर नेतृत्वको विरोध गरेका छन्। जसकारण २०६४ मा देशैभर एमाले ओरालो लागेको समयमा विरासत थामेर त्यसयता अपराजित रहेको एमालेलाई अछाम–१ मा सहज जित निकाल्न कठिन देखिएको स्थानीय एमालेकै नेताहरु बताउँछन्। यहाँ एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेता शेरबहादुर कुँवर उम्मेदवार छन्। कुँवर–रावलको सहयात्रा ०४९ सालदेखिको हो। २०७८ भदौमा एमाले फुटेर नेकपा एस गठन भएपछि उनीहरुबीच दलीय ‘ब्रेकअप’ भए पनि दुवैबीच अझै सौहार्दपूर्ण सम्बन्ध छ। 

त्यसो त कुँवर स्वयं पनि रावलबाट सहयोग प्राप्त हुने अपेक्षामा छन्। यस्तो अपेक्षा हुनुको पछाडिको मुख्य कारण रावललाई कुँवरले ०४९ सालदेखि गरेको सहयोग नै हो। रावलले केन्द्रमा आफ्नो प्रभाव बढाउँदै गर्दा कुँवर जिल्लामै संगठन विस्तार गरेर एमालेलाई बलियो बनाउन लागेका थिए। त्यसकारण रावल पक्षबाट आफूलाई सहयोग हुने अपेक्षामा कुँवर छन्। त्यसमाथि कुँवर आफैं पनि जिल्लामा राम्रो प्रभाव भएका नेता हुन्। २०६४ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा देशैभर एमाले ओरालो लागेका बेला सुदूरपश्चिममा एमालेले ३ सिटमात्र जितेको थियो, जसमध्ये एक थिए कुँवर।

२०४८ देखि निरन्तर प्रतिनिधिसभा निर्वाचन लड्दै आएका रावल उक्त निर्वाचनमा समानुपातिकमा बसेर प्रत्यक्षतर्फ कुँवरलाई छाडेका थिए। जसकारण पनि यो क्षेत्रमा पार्टीभित्रैबाट एमाले उम्मेदवार बोहरालाई असहयोग हुन सक्ने विश्लेषण यहाँका नेताहरुको छ। बोहरालाई एमालेबाटै सहयोग नभएमा यो क्षेत्रमा नेकपा समाजवादीले जित निकाल्न सक्ने सम्भावना रहन्छ। तर, बोहरा भने आफ्नो पक्षमा राम्रो माहोल बनेको र एमालेबाटै असहयोग हुन्छ भन्नु भ्रामक प्रचारमात्रै भएको दाबी गर्छन्। नेपाल समयसँग उनले भने, ‘राम्रो माहोल बनेको छ, एमालेबाट असहयोग हुन्छ भन्नु भ्रामक प्रचारमात्रै हो।’

एमाले नेता भीम रावल।
भीम रावल निर्वाचित क्षेत्र मात्रै होइन, यसपटक एमालेलाई क्षेत्र नम्बर दुईमा पनि सजिलै जित निकाल्न उत्तिकै चुनौती छ। यस क्षेत्रमा एमालेलाई चुनौती हुनुको पहिलो कारण रावल ‘फ्याक्टर’ नै हो। ‘अछाम–१ मा मात्रै नभएर सुदूरपश्चिममै भीम रावलको राम्रो प्रभाव छ। अछाम–२ मा पनि उनी पक्षधर धेरै नेताहरु उनले टिकट नपाएका कारण असन्तुष्ट छन्। सानै भए पनि त्यसले केही प्रभाव पार्न सक्ने आकलन गरिएको छ,’ क्षेत्र नम्बर २ का एक एमाले नेताले भने, ‘तर असन्तुष्टि गठबन्धनमा हामीभन्दा बढी छ, त्यसैले प्रतिस्पर्धा केही ‘टाइट’ भए पनि हामीले जित्ने आधार तय भएको छ।’

corrent noodles
Metro Mart

क्षेत्र नम्बर २ मा एमालेबाट निवर्तमान सांसद यज्ञबहादुर बोगटी उम्मेदवार बनेका छन्। नेपाली कांग्रेसबाट पुष्पबहादुर शाह उम्मेदवार छन्। बोगटी र शाहबीच दोस्रोपटक प्रतिस्पर्धा हुन लागेको हो। नेकपा माओवादी र एमालेबीचको तालमेलबाट ०७४ को निर्वाचनमा बोगटीले शाहलाई २ हजार ८५९ मतान्तरले पराजित गरेका थिए। तर यसबेला एमाले एक्लै चुनावी मैदानमा छ भने कांग्रेसलाई माओवादी र नेकपा एसको साथ छ। 

स्थानीय निर्वाचनमा पाएको मतपरिणाम हेर्दा गठबन्धन र एमालेबीच यो क्षेत्रमा कडा प्रतिस्पर्धा छ। ४९ मध्ये २२ वडा एमाले एक्लैले जित्दा गठबन्धनबाट कांग्रेसले २१, माओवादीले २ र नेकपा एसले ३ वडा जितेको छ। एक वडामा स्वतन्त्रले जितेको छ। वडाध्यक्षहरुले पाएको मतअनुसार कांग्रेसले सबैभन्दा बढी १९ हजार ३३९ मत पाएको छ। त्यसपछि एमालेले १७ हजार ९८७, माओवादीले ६ हजार ४४१ र नेकपा एसले २ हजार १७५ मत पाएको छ। उक्त परिणाम हेर्दा एमालेलाई विरासत जोगाउन चुनौती देखिन्छ।

प्रजातन्त्र पुनर्स्थापनापछि भएको आम निर्वाचन २०४८ मा नेपाली कांग्रेसले अछामका दुवै क्षेत्रमा जित निकाल्यो। उक्त निर्वाचनमा सुदूरपश्चिमका १९ मध्ये १८ क्षेत्र जितेको कांग्रेसलाई ०५१ को मध्यावधि चुनावमा भने नराम्रोसँग धक्का लाग्यो। सुदूरपश्चिममा ४ सिटमा सीमित भएको अछामका दुवै क्षेत्र पनि गुमायो। तर ०५६ को निर्वाचनमा एमालेसँग कांग्रेसले बदला लियो, सुदूरपश्चिममा राम्रो जित निकालेको कांग्रेसले अछामका दुवै क्षेत्रमा हारको बदला लियो। त्यसयता सुदूरपश्चिममा कांग्रेसले बलियो उपस्थिति देखाउन सकेको छैन। ०७४ को निर्वाचनमा त सुुदूरपश्चिममा कांग्रेस जम्मा १ सिट (डडेलधुरा)मा मात्रै सीमित हुन पुगेको थियो।

०५६ यता अछाम ‘कम्युनिष्ट किल्ला’ बनेको छ, २३ वर्षदेखि यहाँ कांग्रेसले विजय जुलुस मनाउन पाएको छैन। तर यसपटक गठबन्धनको बलमा अछाममा जित निकाल्ने दाउमा कांग्रेस छ। कांग्रेससहित पाँच दल गठबन्धन गरेर चुनावमा जाँदै गर्दा अछामका २ मध्ये १ क्षेत्र नेकपा समाजवादी र अर्को कांग्रेसको भागमा परेको छ। एमालेलाई यसपटक यी दुवै क्षेत्र जोगाउन हम्मे परेको बेला गठबन्धनले सहज जित भएको क्षेत्रका रुपमा हेरेको छ। तर एमालेका बोगटीलाई आफ्नैबाट डर भएजस्तै शाहलाई पनि कांग्रेसकै भोट बाँडिने डर भने नभएको होइन। यो क्षेत्रबाट कांग्रेसका जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगाना बागी उठेका छन्। ढुंगानालाई फकाउन शाह पक्षले अनेक तिकडम अपनाए पनि उनलाई मनाउन सकेन। जसकारण शाहको केही भोट ढुंगानाले काट्ने सम्भावना छ, जसको फाइदा बोगटीलाई पुग्नेछ। 

प्रकाशित: Nov 06, 2022| 14:48 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।