बुटवल- नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले नेपालमा हुन गइरहेको निर्वाचनलाई मध्यनजर गर्दै ७२ घण्टा सीमा सिल गर्ने निर्णय गरेको छ।
रुपन्देहीको छपियामा शनिबार सम्पन्न बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेयले जानकारी दिए।
नेपाल–भारत सुरक्षा अधिकारीहरूको बैठकले मंसिर ४ गतेको निर्वाचनलाई लक्षित गरी शान्ति सुरक्षा कायम गर्न र सीमामा हुने सक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म नेपाल–भारत सीमा बन्द गर्ने निर्णय गरेको छ।
बैठकमा लुम्बिनी प्रदेशअन्तर्गत रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुख तथा भारततर्फ यी जिल्लासँग सीमा जोडिएका भारतीय सुरक्षा अधिकारी सहभागी थिए। बैठकमा चोरी निकासी, लागुऔषध, चेलिबेटी बेचबिखन, हातहतियार ओसारपसारलगायतका विषयमा सचेतनामूलक कार्यक्रम गर्ने तथा निगरानी गर्ने निर्णय पनि भएको छ।