कलाकार रेखा थापा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाकी उम्मेदवार छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएकी थापाले मनोनयन अघिदेखि नै निर्वाचन क्षेत्रमा चुनावी गतिविधि बढाएकी छिन्। कानेपोखरी–४ को माझीगाउँमा चुनावी अभियानकै क्रममा रहेको समयमा थापासँग नेपाल समय सहकर्मी नेत्र पी अधिकारीले गरेको कुराकानीः
चुनावी अभियान कसरी चलिरहेको छ?
एकदमै राम्रोसँग सकारात्मक ढंगले चलिरहेको छ। स्थानीयबासीको घरदैलोमा पुगिरहेकी छु। उहाँहरुको सुखदुःख बुझ्ने काम गरिरहेकी छु। राम्रो माया पाएकी छु।
घर दैलोमा पुग्दा मतदाताको प्रतिक्रिया के छ?
उहाँहरु मतदाता हैन र म मतदाता पनि भन्दिन। मेरा लागि मोरङ क्षेत्र नं. ३ का हरेक बासिन्दाहरु आफन्त हुनुहुन्छ। हिजो म आफैं पनि मतदाता बनिरहँदा हाम्रो मत बेचिएको अनुभूति मैले गरेको छु। यस पटक मेरा सबै आफन्तहरुले के भनिरहनु भएको छ भने हिजोका दिनमा खाए खा नखाए घिच भन्ने बाध्यता थियो। हामीसँग विकल्प थिएन। यो पटक एउटा युवा, त्यसमाथि एक सशक्त महिला। देशले चिनेको एउटा व्यक्ति आएको छ। हामीलाई तँप्रति पूर्ण विश्वास छ भन्नु भएको छ। राम्रो रेस्पोन्स पाएको छु।
पहिलो पटक उम्मेदवार बन्दै हुनुहुन्छ, कस्तो महसुस भइरहेको छ?
मैले एउटा के भ्रम रहेको पाएँ भने– तँ पैला पनि मन्त्री भइसकेकी नि एउटा दुईटा काम गर्नु पर्दैन रे? कतिलाई म पहिलै चुनावमा उठेको, रेखा थापाले पहिलै जितिसकेको टाइपको लाग्दो रहेछ।
पहिले प्रचण्डसँग नाचेका देखेर भनेका हुन् कि?
नाच्न त प्रचण्डसँग जनता नै नाचे कि। तपाईंहरु पनि नाच्नुभयो होला, किन रेखा थापामात्रै? परिवर्तनका लागि सबै जनता नाचे नि। तर, खै त परिवर्तन?
राजनीतिमा आउन किन मन लाग्यो?
पत्रकारले राजनीति गरिरहेको हुन्छ। पत्रकारले राजनीति गर्न हुने। गोकुल बाँस्कोटा मन्त्री भइसके हैन? अनि कलाकारले राजनीति गर्नु नहुने? कुन डिक्स्नेरीमा लेखेको छ र हामीले राजनीति गर्नु नहुने भनेर? तपाईंहरुलाई थाहा नहुन सक्छ म १५ वर्ष भयो राजनीतिमा लागेको। बच्चादेखि नै यसप्रति चासो थियो। १५ वर्ष पार्टीलाई समर्थन गरेँ जुन समयमा म युवा थिएँ। जब राजनीतिलाई राम्रोसँग बुझ्न थाले, त्यसपछि सक्रिय रुपमा राप्रपामा लागेकी हुँ।
कलाकारिता भन्दा राजनीति अलि सहज हो?
तपाईंहरुले मेरो चलचित्र हेर्नु भएको छ भने थाहा होला मेरो चलचित्र चलचित्र नभएर अभियान हुन्छ। मेरो चलचित्रमा बढी अभियान हुन्छ। मैले बनाएको, मैले खेलेको चलचित्रमा एउटा नेतृत्व दिने भूमिका हुन्छ। जो समाजको नै घटनालाई मैले प्रस्तुत गरिरहेकी हुन्छु। समाजलाई केन्द्रित गरेर मैले काम गरिरहेकी छु। चलचित्रमा २ घण्टा १० मिनेट एक ढिक्का भएर कतिपय प्रश्न उत्तर गर्न मन लाग्दा लाग्दै पनि मैले सम्झाउने कुरा हुन्थ्यो। यहाँ म हरेक घरभित्र छिरेर यो गलत भइरहेको छ है, अब हामी यसरी जानुपर्छ है भनेर भौतिक रुपमा म आफैं आउँदा यहाँ मलाई रमाइलो लागि रहेको छ।
पर्दाभन्दा यहाँ रमाइलो छ। छोरीका निम्ति मैले स्वर्णीम नेपाल अभियान चलाएँ। कर्णाली र मधेश प्रदेशमा यो अभियान चलाएँ। कोरोनाका कारण देशव्यापी गर्न पाइनँ। मेरो अभियानमा हजारौंको सहभागिता हुन्थ्यो। स्वर्णीम नेपाल अभियान मेरो अहिले पनि जारी छ। तर, यहाँ सहभागिता पहिले जस्तो छैन। हामीहरु पार्टीको झण्डा भन्दा माथि उठ्न सकेनौं। कमसेकम के भनिरहेको छ भनेर बुझ्दा के हुन्छ र?
प्रत्यक्षमा नै किन ?
समानुपातिकको अवसर मलाई पनि थियो। मैले समानुपातिकमा बस्छु भनेको भए पाउने थिएँ। तर किस्तिमा राखेको पद चाहिँदैन भनेर म प्रत्यक्षमा भिड्न आएकी हुँ। म जनताको घर आँगनमा जान्छु। यहाँको दुःख यहाँको समस्या हरेक चिजको हिस्सेदार बन्छु र यो हिस्सा मेरो पनि हो। पहिला जनताबाट अनुमोदित हुन्छु भनेर मोरङ क्षेत्र नं. ३ लाई बनाउन र यहाँका जनतालाई जिताउन म आएकी हुँ।
क्षेत्र नं. ३ मा राप्रपाको अवस्था कमजोर छ। गत स्थानीय तह निर्वाचनमा करिब ३ हजार मत राप्रपाको छ। तपाईंका प्रतिष्पर्धीका उम्मेदवारको संगठन राम्रो छ मत पनि राम्रो छ। प्रतिष्पर्धा कस्तो होला जस्तो लागिरहेको छ?
प्रतिष्पर्धा देशभरी नै कसैसँग कसैको छैन यस पटक। मान्छेहरु पार्टीको झण्डा बोकेर नेतृत्व गर्नेहरुप्रति फ्रस्टेड छन्। अहिलेको अवस्थामा देशभरी जति पनि मान्छेहरु स्वतन्त्र पनि उठ्नु भएको छ। यस्तो कुरा गर्ने हो भने स्वतन्त्रको संगठन के छ भनेर पनि सोध्नुपर्यो। कम्तिमा राप्रपाको ३ हजार मत छ भन्नुहुन्छ, स्वतन्त्रको कति मत होला? यो पटक हाम्रो पुस्ताले संगठन यति मत छ उति मत छ भनेर भन्दा पनि हाम्रो आत्मविश्वास र हामीले के बुझिरहेका छौं भने देशले परिवर्तन र रुपान्तरण खोजिरहेको छ। मैले पनि खोजेको छु। म पनि नयाँ मान्छे नेता बनेको हेर्न चाहन्छु। जुनसुकै पार्टीको होस् युवा उठेको छ भने बरु उसलाई मत हाल्दा फरक पर्दैन।
तपाईं कोणसभा, घरदैलोमा आफ्नो एजेण्डा छैन भन्नुहुन्छ, जनताले भोट किन दिने?
नयाँ एजेण्डा मसँग केही छैन। हिजोका जनप्रतिनिधिले ल्याएका एजेण्डा कति पूरा गरे? जनतालाई चुनावमा जहिल्यै झुक्याउने? त्यसैले मैले हरेक कार्यक्रममा भन्ने गरेकी छु– मेरा एजेण्डा छैनन्। मेरा नयाँ एजेण्डा छैनन्। जनताका एजेण्डा नै मेरो एजेण्डा हुन्। यहाँ मलको समस्या, सुकुम्वासी समस्या छ। यो नेताको समस्या कि हाम्रो समस्या हो? यहाँको यावत् समस्याहरु हाम्रो हो। त्यो पूरा नभएपछि मैले नयाँ के एजेण्डा ल्याउनु? मैले सिंगापुर बनाउँछु भन्दा यहाँका बासिन्दाले मलाई मार्नुहुन्न?
जनताले तपाईसँग के भरोसा गर्ने ?
हाम्रो आवाज बुलन्द हुन्छ। यसअघिका जनप्रतिनिधिले जसरी जनतालाई सिँढी बनाएर गए। हाम्रो काँधमा उक्लिएर उनीहरु महलमा बसे। यो पटक हाम्रो आवाज रेखाले त्यहाँसम्म पुर्याउँछे भन्ने विश्वास छ। उहाँहरुले त्यही भएर मेरो भरोसा गर्नु भएको छ। र, त्यो म गर्छु।
मंसिर ४ पछि परिणाम आफूले सोचेजस्तो आएन भने कलाकारितामा फर्कनुहुन्छ कि के गर्नुहुन्छ?
राजनीति मेरो टु बि कन्टिन्यु हुन्छ।
यसैगरी, यहीँ आएर..?
मेरो घरै यहीँ छ त म कहाँ जाउँ। यसैगरी त मेरो हातमा कानुन हुँदैन। मैले आवाज दिने हो। अभियन्ताका रुपमा यहाँ–यहाँ गलत भयो भनेर भन्ने हो। आवाज उठाउन नछाड्ने हो।
चुनावको समयमा चुनावी रणनीति बनाएर चुनावको प्रपन्च रच्न पाइँदैन। चुनाव पछाडि पनि यहाँका बासिन्दा बिरामी हुनुहुन्छ होला। चुनाव अघि पनि कोरोनाका बेला हामी बिरामी थियौं। त्यो बेला ताला लगाएर जाने, चुनावका बेला प्रपन्च रच्नेहरुलाई त जनताले जानेकै छन् नि। म यही ठाउँको मान्छुे हुँ, मैले बुझेकी छु अब मैले जनतालाई यो भ्रमबाट मुक्त गर्न।